विचार

‘जलिरहेको चितामै भनियो, अलबिदा!’
SHARES

बैशाख २६, २०७६

    आखिर मानिस न हो, समयका हरेक पलको हिसाब-किताब कहाँ राख्न सक्छ र? नदीझैँ। नदीलाई पनि कहाँ पत्तो हुँदो हो, समयको भेलमा आफैँसँग के–के बगे भन्ने। तर, कति किनारासँगै छुट्टिँदै जान्छन् त कति अविरल बहिरहन्छन्, त्यही नदीको भेलमा गाँठो परेर।

    हरेक मानिसले जीवनमा हरेक किसिमका मानिससँग सम्बन्ध गाँसेका हुन्छन्। त्यसमा पनि कोही बिर्सेर पनि बिर्सन नसकिने हुँदा रहेछन् त कोही सम्झनै मन नलाग्ने पनि। यस्ता विविध प्रकारका व्यक्तिसँग सम्बन्ध जोड्ने म नै यो संसारमा एक्लो प्राणी पनि होइन होला। हरेकको जीवनमा जति मिठास भरिएको हुन्छ, त्यसमा अलिअलि तीतो पनि घोलिएकै हुन्छ।

    बिर्सन चाहेकालाई सम्झेर दिमाग खपाउनु व्यर्थ हो। तर, सधैँ मनका कुनै कुनामा खुम्चिएर बसेकालाई सम्झनु भनेको जीवनलाई फेरि एकपटक रंगीन पनि बनाउनु हो। मनका कुनै कुनामा खात लगाएर जम्मा पारिएका मिठा सम्झनाका पोकाहरूको गाँठो एकपछि अर्को गर्दै खोल्दै जानुको आनन्द नै बेग्लै हुँदोरहेछ। मैले पनि बिम्बमार्फत त्यही आनन्द कमाएँ। बिम्बमा मैले मेरा मनका कुनामा कतै हराएका धेरैलाई सम्झिएँ, भुलेका यादहरूमा फेरि एकपटक ताजगी ल्याएँ। जीवनझैँ हरेक कुराको अन्त्य निश्चित छ। कसैको आयु लामो हुन्छ त कसैको छोटो। मेरो बिम्बको आयु अहिले यति नै रहेछ। आज केही भुलिएका–बिर्सिएकालाई सम्झँदै बिम्बको यो श्रृंखलाको अन्त्य गर्ने सोच मनमा पलाएको छ। कलम नै रोक्ने छैन। कुनै न कुनै सिर्जनासँगै यहाँहरूसँग जोडिने प्रयास गर्ने नै छु।

    मेरा बाबा मेरा जीवनका आदर्श मात्र होइनन्, मैले कोर्ने शब्दका पहिलो गुरु पनि हुन्। नेपाल राष्ट्र बैंकको जागिरे हुँदा पनि उनले पत्रकारितासँग माया टुटाउन सकेनन्। साहित्यमा रुचि भएकाले नै राष्ट्र बैंककै लगानीमा उनले साहित्यिक मासिक ‘मिर्मिरे’ सुरु गरे। त्यसको संस्थापक सम्पादक बनेर। मामाहरू पत्रकारितामा होमिएकै कारण उनमा यो पेसाप्रति माया जागेको हो भन्न मिल्छ। कलमलाई अति माया गर्ने मेरा बाबाले राष्ट्र बैंकमा ३३ वर्ष र चानचुन महिना बिताउँदा त्यस बैंकको मासिक बुलेटिनको संस्थापक मात्र होइन जागिरे जीवनभरी त्यसको सम्पादन गरे। शब्दलाई अति माया गर्थे, मेरा बाबा।

    उनी केही कोर्न बस्दा उनले लेखेका हरेक शब्दलाई मनमा गुँथेर राख्थेँ। उनले लेखेर सक्न नपाउँदै मैले उनको सिर्जना पढिसकेको हुन्थे। त्यति प्यारो लाग्थ्यो, उनको लेखाइ। परिवारभित्रबाट रूपरेखा प्रकाशित हुँदा उनले निकै कथा रचेका रहेछन्। साहित्यकार शिव रेग्मीले धेरै पछि पनि प्रकासन गर्न आग्रह गर्दै उनका कथाहरूको संगालो खोजेर दिएका थिए। रेग्मीले जागिरे जीवन बिताएका निर्वाचन आयोगसम्म पुगेर मैले नै ती कथाका संगालो घर ल्याएको थिएँ।

    बाबाले त्यसमा केही सम्पादन गरेर टाइप पनि गरिएको थियो। तर, पछि ती संगालो हाम्रै घरको कुनै कुनामा साङ्लाहरूको खाना बन्यो तर, प्रकाशन गरिएन। आफ्नो पुस्तक छापाउनभन्दा अरूका पुस्तक पढ्न उनले समय खपाए। तर, केही ठूलाबडाका लागि ‘घोस्ट राइटिङ’ भने गरिदिए, आफ्नै लागि समय निकाल्न सकेनन्।

    उनले जागिरबाट अवकाश पाएपछि पनि मैले नयाँ समाज सप्ताहिकलाई फेरि एकपटक प्रकाशन गर्ने जमर्को गरेको थिएँ। उनी त्यसबेला पनि साह्रै उत्साहित थिए। प्रधान सम्पादक थिए मेरा बुढा मामा गोकर्णदेव पाण्डे अनि सम्पादक भएँ, म। मेरा बाबा योजना आयोग, राष्ट्र बैंक र अन्य निजी लगानीका बैंकहरूमा सल्लाहकार रहेका कारण, ‘नयाँ समाज’ साप्ताहिकको पनि सल्लाहकार सम्पादक नै बने। 

    २०५१/५२ सालतिर काठमाडौंमा रहेका बिजुली र टेलिफोनका हरेक खम्बामा परिस्थितिको विज्ञापन देखिन्थ्यो। मस्त लगानीमा खोलिए पनि त्यसको हविगत पनि नयाँ समाजकै भयो। अकाल मृत्युवरण गर्‍यो, त्यो बेला प्रकाशित एउटा नितान्त व्यावसायिक पत्रिकाले।

    पूरा पारिवारिक माहोलमा प्रकाशन भए पनि पूर्णव्यावसायिकता अपनाउने हाम्रो योजना थियो। केही समय सफल पनि भइयो। तर, त्यही बेला थाहा भयो, पैसा कमाउँदैमा पत्रिका निकाल्न सकिँदैन रहेछ। एउटा दक्ष र जुझारु ‘टिम’बिना मिडिया व्यवसाय थाल्नु भनेको आफ्नै खुट्टामा बञ्चरो हान्नु हो भन्ने हामीले बुझ्‍यौँ। डुबानमा पर्नुअगावै हामी सकुशल किनारा लाग्यौँ। हाम्रो असफल प्रयास नयाँ समाजको केही थप अंकका इतिहास फेरि एकपटक कुनै लाइब्रेरीको र्‍याकका लागि थप बोझ मात्र बन्यो।

    त्यसअगावै मेरा मामा बाजे गोकर्णदेव पाण्डेले त्यो असफल प्रयास गर्दा मभित्र पत्रकारिताको नशा भरिदिसकेका थिए। मैले पत्रकारिता गर्नसक्छु भन्ने पहिलो हौसला मेरै बाबाले दिए। त्यसपछि मेरा बुढा मामा बालमुकुन्ददेव पाण्डे र गोकर्णदेव पाण्डेले।

    त्यति हौसलामै हौसिएर मैले परिस्थिति साप्ताहिकमा पनि काम गरेँ। वसन्त लोहनी प्रकाशक र सम्पादक थिए। उनी पनि साह्रै जुझारु, उनीसँग पैसाको अभाव हुने कुरै थिएन। नेपालको गाँठवाला परिवारमै गनिन्थे, उनी। २०५१/५२ सालतिर काठमाडौंमा रहेका बिजुली र टेलिफोनका हरेक खम्बामा परिस्थितिको विज्ञापन देखिन्थ्यो। मस्त लगानीमा खोलिए पनि त्यसको हविगत पनि नयाँ समाजकै भयो। अकाल मृत्युवरण गर्‍यो, त्यो बेला प्रकाशित एउटा नितान्त व्यावसायिक पत्रिकाले। तर, त्यहाँ काम गर्दा कमाएको संगत मेरा लागि जीवनमा अत्यधिक महत्व राख्‍ने खालका छन्।

    कतै बरालिन पनि बलियो पकडको आवश्यकता पर्दोरहेछ

    त्यसपछि मेरो पत्रकारितालाई डोर्‍याइदिए, श्रीसगरमाथा दैनिकका तत्कालीन सम्पादक तीर्थ कोइरालाले। त्यो पत्रिकामा मैले मेरा गुरुकै रूपमा पाएँ, जीवनाथ खनाललाई। जसको लेखाइबाट समेत म निकै प्रभावित थिएँ। म लेख्ने प्रयास गर्थेँ, उनी त्यसमा बुट्टा भरिदिन्थे। भोलिपल्ट पढ्दा आफ्नो लेखाइ हेरेर आफैँलाई लाज लाग्थ्यो। अरूलाई नभए पनि मलाई त थाहा हुन्थ्यो नै, त्यो मेरो लेखाइ नै होइन भन्ने।

    मेरा भाषामा जीवनाथ सरले यति मिठास थपिदिन्थे कि मैले कोरेका शब्दहरू त कहीँ कतै एउटा–दुईवटा मात्र फेलापर्थ्‍यो। यद्यपि, सारमा परिवर्तन आउँदैन्थ्‍यो। लेखाइ के हो भन्ने ज्ञान मैले उनैबाट पाएँ। ती होनहार व्यक्ति अहिले कतै बरालिएका छन्। शब्दसँग खेल्नसक्ने क्षमतालाई राजनीतिको बिर्कोले थुनेका छन् भन्ने सुनेको छुँ। सत्य के हो एकपटक भेटेरै गम्ने चाहना छ। सायद उनीबाट प्रेरित हुन नसकेको भए निकै नै अगाडि पत्रकारिताबाट मैले बिट मारिसकेको हुन्थेँ। त्यो भने पक्का हो। जीवनमा कतै बरालिन पनि बलियो पकडको आवश्यकता पर्दोरहेछ, त्यो पनि जानेँ।

    तत्कालीन नेकपा एमालेभित्रको शक्तिको रस्साकस्सीमा श्री सगरमाथाले पनि अकाल मृत्यु वरण गर्नुपर्‍यो। तर, त्यहीँबाट कमाएका हितैषी आजपर्यन्त मेरा अति परम् हितैषी बनेका छन्। पत्रकारितामा मैले त्यहाँभन्दा बाहिर रहँदा त्यति नै मात्रामा हितैषी कमाउन कहिल्यै सकिनँ। सायद श्री सगरमाथाका फुच्चेमध्ये एउटा रिपोर्टर भएर पनि होला, सबै अग्रजबाट निकै माया पाइयो। मेरै उमेरका वा मभन्दा एकाध वर्षले कान्छा एक/दुईजना त थिए नै त्यहाँ।

    त्यही कतै अर्कै विभागमा काम गर्थे, उमेरमा हामीभन्दा पनि फुच्चे तर राजनीति र पत्रकारितामा हामीभन्दा निकै हुटहुटी भएका। श्री सगरमाथाका सम्पादनभन्दा फरक विभागमा काम गर्थे। हामीले बोलाउने नाम फरक थियो, सायद अहिले त्यो नामले उच्चारण गर्दा उनलाई अपमानित गरेको बुझ्लान्, त्यसैले त्यो नाम उल्लेख गरिनँ। अहिले भने रामप्रसाद सापकोटा ‘दीपशिखा’का नामबाट परिचित छन्, उनी। लेख्थे, मै हुँ भनेर देखाउन खोज्नेले हेपेर छाप्दैनथे।

    तर, जीवनाथ सरले मिलाएर छापिदिन्थे। श्री सगरमाथा अस्ताएसँग उनी पनि कता गए थाहा भएन। धेरै वर्षपछि नयाँ पत्रिकामा भेटेँ। म नयाँ पत्रिकामा काम गर्दा वा नगर्दा पनि सधैँ प्रकाशक÷प्रधानसम्पादक रहेका र रहने कृष्णज्वाला देवकोटाका मित्र रहेछन्, उनी। एकदिन अकस्मात् उनकै कोठामा भेट भयो। मैले देख्नेबित्तिकै उनलाई हामीले पहिले बोलाउने नाम नै लिएर ‘तिमी यहाँ’ भनेर सोधेँ। उनले पनि मलाई देख्नेबित्तिकै चिने। परिचय ‘रिन्यु’ हुन कुनै समय लागेन। उनले अचम्म मान्दै भने, ‘ल सरले त देख्नेबित्तिकै चिन्नुभयो!’

    त्यसपछि उनीसँग पनि खासै भेट भएको छैन। कहिलेकाहीँ फोनमा भने कुरा हुन्छ। तर, आस्था र विश्वास जे भए पनि उसको प्रगति र लगनशीलताबाट भने म निकै प्रभावित भएको छुँ। तत्कालीन माओवादीमा लागेर उनी वाइसिएलका अध्यक्ष भएका थिए। अहिले पनि त्यही हैसियतमा छन्।

    सुवाष देवकोटा, गिरिश पोखरेल त्यसबेला मेरा नजिकका मित्र थिए। अर्थात् सबै कुरा गर्न सकिने, सबैको कुरा काट्न सकिने। अनि थिए, गोपाल खनाल। गोपाल हामीभन्दा अलि भिन्नै बस्थे। सायद उनलाई हाम्रो संगत खास मन पर्दैनथ्यो कि? वा यिनीहरूको संगतमा बिग्रन्छु भन्ने लाग्थ्यो, आजपर्यन्त थाहा लागेन। अनि केही कुरा छाडेर बाँकी कुराकानी गर्न मिल्न मित्र थिए, संगीता मरहठ्ठा र दुर्गा कार्की। सबै अहिले आ–आफ्नो ठाउँमा जमेरै बसेका छन्। तर, अधिकांशमा भने राजनीतिको चस्का छ। सायद गिरिश र म मात्र हुँला जसलाई राजनीति नशाले छुन सकेन।

    श्री सगरमाथा र अग्रेजी दैनिक एभरेस्ट हेराल्ड बन्द भएलगत्तै त्यहाँबाट मजस्तै बेरोजगार बनेका राजेश घिमिरे देशान्तर साप्ताहिकको कार्यकारी सम्पादक बने। उनको संगतमा अलि समय त्यहाँ पनि काम गरेँ।

    देशान्तर छाडेपछि म रेडियो सगरमाथातिर हुत्तिएँ। रेडियोका लागि अनुभवहीन थिएँ म, त्यसबेला। म रेडियो सगरमाथाको गेटभित्र छिर्दा स्टेसन मेनेजर थिए, विनोद भट्टराई। केही समय त त्यहाँ स्वयंसेवककै रूपमा काम गरेँ। भनौँ, काम सिकेँ। म गेटभित्र छिरेको केही महिनामै विनोद भट्टराईले रेडियो सगरमाथा छाडे, अनि स्टेसन मेनेजर बने, रघु मैनाली। मीठामीठा गफमा भुलाएरै काम सिकाउन माहिर व्यक्ति मैले जीवनमा पहिलोपटक भोगेको उनी नै हुन् अनि अन्तिम पनि। काममा निकै हौसला दिन्थे। पदमा जे भए पनि संगतमा हितैषी मित्र थिए, आजपर्यन्त छन् पनि।

    हुनत श्री सगरमाथाको माहोल रेडियो सगरमाथामा पनि भेटिन्थ्यो। अधिकांश कामदार पनि, त्यहीँबाट आयातित जस्ता। दुई/चारजनालाई छाड्ने हो भने त्यसबेला त्यो रेडियो स्टेसन रेडियो श्री सगरमाथाकै सानो स्वरूपझैँ लाग्थ्यो मलाई। घमराज लुइँटेल, संगीता पनि त्यहीँ थिए, पछि दुर्गा पनि आइन्। रघुसरमा आफ्ना पत्रकारहरूप्रति विश्वास गर्नसक्ने यति बिघ्न क्षमता थियो कि जसको फल सधैँ मीठो नै निस्कन्थ्यो। उनीहरूको क्षमता विकासका लागि उनी जस्तोसुकै ‘रिस्क’ उठाउन तयार हुन्थे। दुस्साहसी थिए त्यस मामिलामा उनी।

    म खेलकुदसम्बन्धी कार्यक्रम चलाउँथे। फुर्सदका बेला अरू काम पनि। रेडियो सगरमाथाको प्रसारण अवधि १८ घण्टा पुर्‍याउन रघु मैनालीले जति प्रयास गरे, त्यसको सानोतिनो हिस्सा म पनि बनेँ। सबैजना काम सकाएर घर जाँदा पनि रघुसर, घमराजसर र म राति १–२ बजेसम्म स्टेसनमै हुन्थ्यौँ। दिउँसो बनेका कार्यक्रम सुन्थ्यौँ, खोट निकाल्थ्यौँ। तर, उनले त्यही खोटका कारण कार्यक्रम निर्मातालाई कहिल्यै गाली गरेनन्। बरु हाँसेर भविष्यका लागि सुधार्ने अवसर दिन्थे।

    सायद पत्रकारिताको सुरुवाती दिनमा मैले जस्तो सम्पादन कक्षमा काम गर्न पाएँ भविष्यमा कहीँ कतै त्यस्ता सम्पादन कक्ष बन्नै सकेन वा बन्न दिइएन भन्ने लाग्छ मलाई। यद्यपि, राजधानी दैनिकका सुरुवाती दिन अरूभन्दा पृथक् रह्यो। त्यहाँ काम गर्दा जति हाँसो कमाइएको थियो, आँसु पनि कमाइयो। एउटा मनपर्ने सम्पादकको मृत्युको खबर यही हातले लेखियो पनि।

    उनकै आग्रह त भन्दिनँ तर करकापमा मैले ‘आजका कुरा’ नामको दैनिक कार्यक्रमको प्रस्तोता र निर्माता भएर काम गरेँ। साथमा थिए, किरण नेपाल। किरण त्यो कार्यक्रम जसरी पनि चलाउनुपर्छ भन्ने रघुसर मैले गर्छु भने मात्र अगाडि बढ्नु भन्ने।

    किरणले साहस भर्‍यो मैले आँट गरेँ, चलाइयो। एकदिन किरण अनि अर्को दिन मैले पालैपालो त्यो कार्यक्रम चलाउँथ्यौँ। अत्याधिक लोकप्रिय पनि भएको थियो। तर, खै कसको आँखा लाग्यो, रघुसरलाई रेडियो सगरमाथाबाट हटाउने खेल सुरु भयो। जसले त्यो खेल सुरु गरेका थिए, सफल पनि भए। उनी हटेपछि मलाई पनि त्यहाँ काम गर्न मन लागेन छाडेँ। आज पनि लाग्छ, कहिल्यै भलो नहोस् ती व्यक्तिहरूको। आखिर म पनि मानिस नै हुँ नै मनको कुनै कुनामा गडेको ‘विष’ पखाल्न निकै कठिन पनि हुनेरहेछ।

     

    सुरुवाती दिनमा जस्तो आनन्द आएन

    त्यसपछि मेरो पत्रकारिताले धेरै कुवाको पानी खायो। राजधानी दैनिक, च्यानल नेपाल, फेरि राजधानी दैनिक अनि नयाँ पत्रिका। तर, पत्रकारिताका सुरुवाती दिनमा यो पेसाले जुन आनन्द र कामको माहोल दिएको थियो, कालान्तरमा कुनै पनि सञ्‍चारगृहमा मैले खुलेरै काम गर्नै सकिनँ। सायद पत्रकारिताको सुरुवाती दिनमा मैले जस्तो सम्पादन कक्षमा काम गर्न पाएँ भविष्यमा कहीँ कतै त्यस्ता सम्पादन कक्ष बन्नै सकेन वा बन्न दिइएन भन्ने लाग्छ मलाई। यद्यपि, राजधानी दैनिकका सुरुवाती दिन अरूभन्दा पृथक् रह्यो। त्यहाँ काम गर्दा जति हाँसो कमाइएको थियो, आँसु पनि कमाइयो। एउटा मनपर्ने सम्पादकको मृत्युको खबर यही हातले लेखियो पनि।

    प्रकाशनको केही महिनाभित्रै संस्थापक सम्पादक पुरुषोत्तम दाहाललाई प्रकाशकले हटाए वा उनी आफैँ हटे मलाई थाहा हुने कुरो भएन। निकै नरमाइलो लागेको थियो, त्यो दिन। धेरै मित्रहरू ‘पुरुदाइ’सँगै बिदा भएर गएका थिए। तर, पत्रिकालाई डोर्‍याउने कोही चाहिएकै थियो। कार्यकारी सम्पादक जीवेन्द्र सिम्खडाले मेरा मामा बाजे बालमुकुन्द पाण्डेलाई सम्पादक बनाएर ल्याऔँ न भने। मैले हुन्छ नि भनेर कुरा चलाएँ। म उनको घर पुग्दा उनी र पद्म ठकुराठी मात्र दुईजना तास खेलेर समय कटाइरहेका रहेछन्। मैले कुरा अघि बढाएँ, बुढा सकारात्मक बनेपछि अध्यक्ष महेन्द्र शेरचनलाई भेटाएँ पनि, त्यही दिन।

    त्यो भेटमा मामाबाजे, अध्यक्ष शेरचन, जीवेन्द्र दाइ र म मात्र थियौँ। बुढाको एउटै माग थियो, ‘व्यावसायिकताका लागि जायज कुरा सबै मान्छु तर, हात काट्नोस् राजतन्त्रविरुद्ध एक शब्द पनि लेख्दिनँ।’ शेरचन पनि त्यसबेला त्यही लाइनमा थिए, कुरा तत्कालै मिल्यो।

    त्यहीँ काम गर्दा पत्रकार महासंघको सदस्यमा उठेँ, हारेँ। अघिल्लो दिन निर्णय गरेर भोलिपल्ट चुनाव लडेको म जस्तो पत्रकारले ६०/७० मत ल्याउनु पनि चानचुने कुरो थिएन, आयो। जित्नेले १ सय १५ मत ल्याएका थिए, त्यसबेला। मेरै कारण कतिपय साथी हारे, अहिले पनि सराप्छन्। पुराना कुरा सम्झिएर।

    बुढामामा सम्पादक भएपछि मैले नाजायज फाइदा उठाउँछु कि भन्ने एउटा जमात पनि थियो, राजधानीमा। त्यस्ता सोच बोक्ने जहाँ पनि भेटिन्छन्, मैले सहजरूपमै लिएँ। तर, मैले कुनै नाजायज फाइदा लिइनँ। आफ्नो काममा आफैँ सक्षम थिएँ, दक्ष थिएँ, मिहिनेती पनि। अनि किन उठाउनुपर्‍यो र? नाजायज फाइदा।

    एक साँझ काम गर्दै थिएँ, आफ्नै टेबलमा। बालमुकुन्द मामा मेरो नजिक आए। ‘म जान्छु है,’ भने। मैले हुन्छमा टाउको हल्लाएँ। त्यो बेला हरेकको हातमा मोबाइल हुँदैन्थ्‍यो। ठूलाबडाले शानका लागि बोक्ने डिभाइस भने बनिसकेको थियो। राति काम सकाएर म, कार्यकारी सम्पादक जीवेन्द्र दाइ एकैपटक जस्तो हिँड्यौँ। उनीहरू गाडीमा, म मोटरसाइकलमा। चाबहिलमा घर अनि गोपीकृष्ण हलपछाडि कार्यालय भएकोले आउन पनि त्यति समय लागेन।

    आफैँ सम्पादक रहेको पत्रिकामा आफ्नै मृत्युको खबर

    घर आइपुगेलगत्तै बाबाले बालमुकुन्द मामा त स्वर्गे भएछन् भने। म झसंगै भएँ। अघि भर्खरै त केही घण्टाअगाडि मसँग भेटेर घर जान्छु भनेका मानिस संसारबाटै बिदा भएको खबर मैले चाहेर पनि पत्याउन सकिन। तर, जे भए पनि जीवेन्द्र दाइलाई खबर गर्नु मेरो जिम्मेवारी थियो। उनको घरमा फोन गरेँ, पुगेका रहेनछन्। अनि इमरजेन्सी छ, आउनेबित्तिकै फोन गराउन भनेँ।

    काल पनि दैवीप्रकोपझैँ हुँदोरहेछ कहिले आउँछ, पत्तै नहुने। बाढीझैँ, पहिरोझैँ। कति बेला आउँछ अनि सर्वस्‍वहरण गरेछ जान्छ, कसले नै भेउ पाउँछ र? बालमुकुन्द मामाको मृत्युझैं।

    घर पुगेर जीवेन्द्र दाइलाई फोन गरेँ। खबर सुनेर उनी पनि ट्वाँ नै परे। तर, पनि कार्यालयनजिकै बस्ने कम्प्युटर डिजाइनर किशोरलाई लिएर सम्पादकको मृत्युको खबर लेख्न पठाए मलाई। छाप्न सुरु भइसकेको प्रेस रोकाइयो। बालमुकुन्द मामाका बारेमा जे थाहा थियो लेखियो, उनको मृत्युको खबरसँगै।

    अनि पहिलो पृष्ठमा छापिएको कुनै समाचारलाई हटाएर उनको मृत्युको खबर छापियो। भोलिपल्ट जसले पढे, सबै अचम्म परे। समाचार बनाएर आर्यघाट जाँदा उनको लाश जलिरहेको रहेछ। मैले पनि शव हेर्न पाइनँ। बस उनलाई जलिरहकै चितामै भनियो, अलबिदा! श्रद्धाञ्जलिको मौका नदिएको भनेर धेरैले मलाई पनि गाली गरेँ। तर, उनलाई कतिबेला जलाउने भन्ने निर्णय मेरो हातमा थिएन। परिवारको निर्णय त्यही थियो, त्यही गरे।

    बालमुकुन्द मामाको मृत्युको खबर त छापियो। तर, त्यही पत्रिकाको अन्तिम पृष्ठमा सम्पादकका रूपमा उनको नाम पनि छापियो। त्यो नाम मैले नै बिर्सिएको कारण छापिएको थियो। तर, सबैले त्यो कुरालाई सकारात्मकरूपमा लिए। सबैको एउटै स्वर थियो, ‘आफैँ सम्पादक रहेको पत्रिकामा आफ्नै मृत्युको खबर। यस्तो श्रमजीवि हुन पाए पो!’

    आखिर जिन्दगी के नै रहेछ त, क्षणिकको भ्रम मात्र। एकछिन अघि छ, एकछिन पछि नै छैन। पत्रिकारितामा लाग्न मलाई हौसाउने एक पत्रकारिताको योद्धाको मृत्युको खबर मैले नै लेख्न पाएँ। आज भने गर्व लाग्छ। आखिर एकदिन सबैले जानु नै छ, त्यसरी पो जानु! मलाई पनि त्यस्तै लाग्छ।

    जीवनमा जे भए पनि कर्म मर्नुहुँदैन, योगदान मर्नुहुँदैन। कलमको मसी सुक्‍नुहुँदैन। अब अरू कुनै स्तम्भका साथ हाजिर हुने वाचासहित बिम्बको अन्तिम शृंखलालाई अलबिदा!

चेतन पाण्डे

पाण्डे साढे दुई दशकदेखि पत्रकारितामा सक्रिय छन्। pandechetan@gmail.com

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]