आकाशमा स्वामित्व दाबी गर्ने आधार छैन नेपालसँग

|

काठमाडौं : तपाईंले किनेको जमिनको सतहको कति तल र कति माथिसम्म स्वामित्व हुन्छ होला? तपाईसँग मात्रै होइन, नेपाल सरकारसँग पनि यसको उत्तर नै छैन।

नेपालको कानुनले यसबारेमा नबोलेकाले उत्तर खोज्न सजिलो छैन। यो प्रसंगलाई विज्ञ र नेताहरुले पेचिलो मुद्दा भनेका छन्। पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे नेपालको विकासमा यो विषय पेचिलो बन्‍न सक्ने बताउँछन् । उनी यसबारेमा सरकारलाई सचेत गराउनु जरुरी रहेको बताउँछन्।

‘हामी ठूला ठूला परियोजनाको कुरा गर्छौं, सुरुङ र टनेल बनाउने कुरा पनि भइरहेका छन्,’ पाण्डेले भने, ‘भोली कुनै व्यक्तिले मेरो स्वमित्वमा रहेको जमिनमुनि सुरुङ खन्‍न दिन्‍न भन्यो भने के गर्ने? यसको उत्तर खोई ।’

नेकपाका नेतासमेत रहेका पाण्डले यसबारेमा अर्थमन्त्री डा. युवराज खतिवडालाई सचेत गराए । नयाँ संघीय संरचनामा यसबारे स्पष्ट कानन ल्यउन उनले सुझाव दिए।

‘सिंगापुरको उदाहरण हेर्ने हो भने पृथ्वीको सतहको ४० मिटर भन्दा तल व्यक्तिको स्वामित्व लाग्दैन', पाण्डेले भने, 'हामीले पनि यसबारेमा स्पष्ट नीति बनाउन जरुरी भइसकेको छ।’

पाण्डेले दिएको सुझाव सुनेपछि अर्थमन्त्री खतिवडाले खुसी हुँदै धन्यवाद दिए। उनले कानु अभावमा यो समस्या गम्भीर हुन सक्ने सं‍केत पनि गरे । अहिले आकाशमा नेपाल अधिकारविहीन जस्तै भएको पनि खतिवडाले बताए। 

उनले संविधान आउनुपूर्व राजनीतिक संवाद समितिमा आफूले आकाशमा नेपालको अधिकारबारे कुरा उठाए पनि गम्भीर छलफल हुन नसकेको दाबी गरे। ‘मैले तत्कालीन समयमा राजनीतिक संवाद समितिमा कुरा उठाएको थिएँ', उनले भने, 'त्यतिबेला मैले उठाएको कुरामा गम्भीर छलफल हुनै सकेन र त्यो विषय 'स्किप' भयो।'

उनले आकाशको अधिकारका लागि अन्य देशसँग सन्धि सम्झौता नै गर्नु पर्ने अवस्थातर्फ पनि सचेत गराए। खतिवडाका अनुसार यो मुद्दामा केही देशले सन्धिसम्झौता गरेका छन्। आकाशमाथि नेपालले अधिकार माग्ने स्पष्ट आधार नरहेको उनले तर्क गरे।

‘हामी दुईपक्षीय सन्धिसम्झौता यो विषयलाई वास्तै गर्दैनौँ। अरु मुलुकले आफ्नो आकाशको पनि कुरा गर्छन्। हामीले जमिनलाई मात्रै सार्वभौम अधिकारका रुपमा लिने गरेका छौँ', उनले सुनाए, 'यो समस्या व्यक्तिको स्वामित्व भएको जमिनमा मात्रै होइन। हाम्रो त मुलुक पनि आकाशमा अधिकारविहीन जस्तो छ । अहिले त विवाद छैन, ढुक्क छ। तर विवाद भएको अवस्थामा हामीले कसरी हाम्रो भनेर दाबी गर्ने? यसमा प्रष्ट हुने बेला आएको छ। कानुनी अधिकारको जरुरी भइसकेको छ।' 

जमिनमुनि र आकाशमा कति र कहाँसम्म व्यक्तिको स्वामित्व रहन्छ ? यसको उत्तर सरकार र उसका कुनै निकायसँग छैन । यो  सवलामा सरकारले गम्भीरताका साथ कदम चाल्ने खतिवडाले बताए। उनले यसका लागि कानुनी सुधारमा सरकार सक्रिय हुने प्रतिवद्धता जनाए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.