'आफ्नै बगैँचामा फुलेको फूल'

|

काठमाडौं : त्रिभुवन विश्विद्यालयको केन्द्रीय पुस्तकालयमा ढ्याप्रे चस्मा लगाएर कवि डा. निरज भट्टराई स्पेनिस कवि फेडेरिको गार्सिया लोर्काको कविता पढ्दै थिए। छेउमै थियो, गुलजारको 'नेग्लेटेड पोइम्स'। उनी वर्षौअघि पनि पुस्तकालयमा यसैगरी हराउँथे। यो सिलसिला अहिले पनि जारी छ। कयौँ दिनको प्रयासमा उनी पुस्तकालयतिर भेटिने पत्ता लागेपछि थाहाखबर  त्यहाँ पुगेको थियो।

पेशाले डाक्टर हुन् उनी। डाक्टर मात्र उनको परिचय होइन। कवि हुन् उनी। अर्को परिचाय संगीतकार पनि। उनको अर्को परिचय क्रिकेटर। 'मान्छेले उमेर र परिवेश अनुसार फरक फरक परियच बनाउँदै जाने रहेछ,' उनले सुनाए। 

डाक्टर यात्रा

नेपाल मेडिकल कलेजबाट एमबीबीएस पास गरेपछि उनी एमडी पढ्न बगंलादेशको बंगबन्धु शेख मुजीव मेडिकल इन्ष्टिच्युट पुगे। यो कलेज पिजी अस्तपालको रूपमा परिचित छ।

त्यहाँ उनले कार्डियो थोरासिक एण्ड भास्कुलर सर्जरीमा मास्टर्स् गरे। नेपालका चर्चित चिकित्सकहरू भगवान कोइराला र भोला रिजाल पनि बंगलादेशमै पढेका थिए। बंगलादेशमा चिकित्सा शिक्षा लिने सूचीमा भट्टराई पनि थपिएका छन्।

साहित्य र अध्यन सँगसँगै

बंगलादेशमा रहँदा उनले पढाईसँगै साहित्य अध्ययन र लेखनलाई निरन्तरता दिइरहे। बंगलादेशमा रहँदा उनले अंग्रेजी, हिन्दी, रसियन र बंगाली कविता अनुवाद गरे। त्यहाँ रहँदा अन्तर्राष्ट्रिय मातृभाषा दिवससहितका साहित्य सम्मेलनमा उनले नेपालीको नेतृत्व गरेर कविता वाचन गरे। 

'नेपाली साहित्यमा मेरो उपस्थिति नगण्य हो। त्यहाँ रहनुभएका कयौं नेपालीले नेपाली भाषा साहित्यको प्रवर्द्धन गरिरहनु भएको छ', उनले सुनाए। राजदूतद्वय प्रा.डा. चोपलाल भुषाल, हरिकुमार श्रेष्ठ काउन्सिलर सुशील लम्साल, धनबहादर ओली, डिल्ली आचार्य, निर्मल भट्टराई राजदूतावासका कर्मचारी अनिल लम्साल, जर्नेल तथा गायक सुदर्शनविक्रम राणा, सागर केसी र विनोद खरेल लगायतले नेपाली भाषा-साहित्यलाई बंगाली समुदायसम्म जोड्ने पुलको काम गरिरहेको उनले बताए।

यसरी मन मार्ने मान्छे त होइनौं,

तिमी हिम्मत हार्ने मान्छे त होइनौं,

कुनै ठुलै गल्ती गर्यौ कि तिमीले

तिमी मन्दिर चाहार्ने मान्छे त होइनौं......

जिज्ञासा र उत्साहले जोडेको कविता

लेखनका सुरूवाती दिन केही उत्साह केही जिज्ञासाले भरिएका थिए। अंग्रेजी उनका लागि अक्करमा फलेको फर्सी जस्तै थियो। नेपाली आफ्नै बगैँचामा फुलेको फूल जस्तो। विद्यालयमा पढ्दा कविता प्रतियोगिता भइरहन्थ्यो। उनलाई पनि कविता सुनाएर सबैको ताली खाने रहर जाग्यो। ताली खानका लागि गतिलो कविता चाहिन्थ्यो। तर उनी कविता लेख्‍न जान्दैनथे। त्यसपछि विकल्प निकाले अनि आफ्नै बुबाको कविता लगेर सुनाए। सबैले वाहवाही गरिदिए। तर त्यही स्कुलमा पढ्ने एक बहिनीले भीडबाट भनिदिइन्, 'निरज दाइले सुनाएको कविता मेरो हो। अब निरज दाइको कविता म सुनाउँछु।' बुवाको कवितालाई अर्कैले मेरो भनिदिँदा न आफ्नो भन्‍न मिल्ने न बुबाको भन्‍न मिल्ने। यो घटनापछि विद्यालयमा निरजले असजिलो माने। त्यही असज अवस्थामै उनले कविता लेखन र अंग्रेजी अध्ययन थाले।

अनि गजलकार बने

कलेज पढ्दा पनि कविता कोरिरहे। जब एमबीबीएस पढ्न नेपाल मेडिकल कलेज गए, तब भेटे कवि मन भएका धेरै साथी। साथीको संगतले नै उनले पहिलो गजल संग्रह 'मेरो भन्‍नु केही' बजारमा ल्याए। उक्त कृतिले मोतिराम तन्‍नेरी पुरस्कार पायो। गजल लेखनले निरन्तरता पायो। फलस्वरूप २०६७ सालमा 'तलास' गजल संग्रह बजारमा आयो। यो गजल संग्रहले त्यसबेलादेखि नै नेपाली गजल क्षेत्रमा तरङ्ग ल्यायो। उनको गजल मन पराउने धेरै गजलकार बजारमा छन्। यो आकलन होइन, चिया अड्डादेखि विभिन्‍न कार्यक्रममा सुन्‍न र देख्‍न पाइने दृश्यको निश्कर्ष हो।

मध्यपश्चिमाञ्चल गजल प्रतिष्ठान उपशाखाले निकाल्ने 'गजलगंगा अर्धमासिक पत्रिका'ले गरेको  सर्वेक्षणमा 'तलास' गजल संग्रह सबैभन्दा धेरै मन पराइएको कृतिका बनेको थियो। उनले २०७० सालमा 'धुवाँको धागो' कविता संग्रह निकाले। लेखनभन्दा अध्ययन उनको प्राथमिकतामा पर्छ। कुनैबेला उनीबारे बजारमा एउटा हल्ला थियो, 'केन्द्रीय पुस्तकालय कीर्तिपुर र भारतीय पुस्तकालयको कुन कुनाको कुन दराजमा कसको किताब छ भन्‍ने कुरा निरजलाई सोधे थाहा हुन्छ।'

दैनिक जीवनको व्यस्तताबाट फुर्सद निकालेर उनी पुस्तकालय चहार्दै नेपाली-अंग्रेजी साहित्य अध्ययन गर्थे। 'साहित्यमा कविता मेरा लागि प्राथमिकता हो। विश्वमा कविता कसरी लेखिन्छ भन्‍ने जान्‍न मेरा पाइला पुस्तकालयमा लम्कन्थे', उनी भन्छन्। पुस्‍तकालय पुग्दा उनी पुस्तक छनोट गरेर पढ्थे। एकदिन केन्द्रीय पुस्तकालयमा अमेरीकी राजदूतावासका कर्मचारीले लेखेको एउटा सानो बुकलेट देखे। जसमा लेखिएको कविता थियो :

डिल्लीबजारको ओरालोबाट

झुम्का जस्तो खर्पन आफ्नो काधँमा हालेर

झ्यापु दाइ ओराली झर्दैछन्

खर्पनको एकातिर सृष्टिको पालनकर्ता विष्णुको मूर्ति छ

खर्पनको अर्कोतिर सृष्टिको संघारकर्ता शिवको मूर्ति छ

सृष्टिको पालनकर्ता र संघारकर्ताको बीचबाट 

आफ्नै बाटो बनाएर कुनै दार्शनिक जस्तै हिँड्दैछन् झ्यापु दाइ….

त्यस दिनदेखि उनलाई लाग्यो, 'किताब छानेर पढ्ने होइन रहेछ। चलेका किताब मात्र होइन, साना किताबमा पनि ठूलो विषय लुकेका हुँदा रहेछन्।' त्यसयता उनले सबैखाले किताब पढ्न थाले। सुरूदेखि नै उनी समानान्तररूपमा गजल र कविता लेख्थे। कविता कृति प्रकाशन नभइसकेको अवस्थामा गजलमा उनको लोकप्रियता उचाईंमा पुगेको थियो। त्यो बेला केही कविहरूले 'गजल लेखेर कवि बनिँदैन' भन्दै उनलाई चुनौती दिए। उनलाई लाग्यो,'संरचना मात्र फरक न हो। आखिर गजल र कवितामा के फरक छ?'

कविहरूले चुनौती दिएको केही समयमै उनले 'धुँवाको धागो' कृति बजारमा ल्याए। भन्छन्, 'कवि बन्‍न कृति निकालेको होइन। कसैले मेरो क्षमतामाथि भद्दा मजाक गर्दा सहनु मेरो रूचीको विषय होइन।' यो २०७० सालमा निस्केको चर्चित कविता कृति पनि हो। कृति प्रकाशन गर्दाको रमाइलो किस्सा छ उनीसँग। कविताको पाण्डुलिपी बोकेर विभिन्‍न प्रकाशककहाँ डुले निरज। तर कसैले हेर्दै हेरेनन्। कसैले हेरेर नकारीदिए। उनी सम्झिन्छन्, 'एउटा प्रकाशन गृहले त यो कविता सम्पादन गरेर पनि छाप्‍न लायकको छैन भनिदियो।'

अहिले ती प्रकाशकको अभिव्यक्ति सम्झिँदा उनलाई काउकुती लाग्छ। त्यसपछि आफैँले कविताकृति बजारमा ल्याए। जब कृति बजारमा आयो तब उनै प्रकाशकले  दोस्रो संस्करण आफ्नो प्रकाशन गृहबाट निकाल्न अनुरोध गरेका थिए। सुरुमा नकारेका उनै प्रकाशकको अनुरोधलाई मुस्कानसहित कविले नकारिदिए।

'गमलाको फूलले कहाँ छहारी दिन्छ 
उसले त केवल कोठा सिँगारी दिन्छ

म उसको यही अदाको त कायल छु
ऊ हाँसी-हाँसी मेरै कुरा नकारिदिन्छ।'

भारतीय चर्चित कवि निदा फाज्लीसँग निरज

उनका गजल र कविताका प्रशंसक नेपालमा मात्रै छैनन्। भारतका चर्चित सायर तथा कवि निदा फाज्ली र बसिर बद्रले पनि उनको मुक्तकण्ठले प्रशंसा गरेका छन्। जी टिभीको एक कार्यक्रममा बसिर बद्रको 'लाइफ स्टोरी'मा उनकी श्रीमती डा. राखत बद्रले निरजबारे गरेको टिप्पणी सुन्‍न सकिन्छ।

केही महिना भित्र बंगाली भाषामा उनको कविता प्रकाशित हुँदैछ। नेपाली कविताको स्तर कस्तो छ। त्यो मूल्याङ्कन हुन सक्दैन। हरेक मन्छेलाई कस्तो कविता मन पर्छ? उसको व्यक्तिगत रूचीमा निर्भर रहन्छ। कविता लेख्‍न कविलाई चाहिँ कस्ता कविता मन पर्छन् त? उनी भन्छन्, 'कस्तो कविता खोजेको हुँ भन्‍ने प्रश्‍नको जवाफ मसँग पनि छैन। तर मलाई 'मोमेन्टलाई युनिभर्सलाइज्ड' गरेर लेखिएका कविता मन पर्छ।'

कविता के हो? के होइन भन्‍ने बहस जरूरी छैन। कविता सबै हो। फेरि लेखेका सबै कविता पनि कविता होइनन्। कविताले मान्छेलाई कति तरङ्गित पार्छ त्यो महत्वपूर्ण हो। कवितामा कन्टेन्ट र कन्टेस्टको ब्यालेन्स हुन जरूरी रहेको उनले सुनाए।

लहडले संगीतमा

उनको अर्को परिचय संगीतकार पनि हो। संगीतकार लहडको परिणाम मात्र थियो उनका लागि। उनलाई नेपाली गजल सुन्दा संगीतले गजललाई न्याय गर्न नसकेको आभास हुन थाल्यो। त्यसपछि संगीत अध्ययन गरे। केही गजलमा धुन भरे। संगीतको गहिराई, संगीतको दीर्घसाधन र अध्ययनबिना यो क्षेत्रमा असहज भएपछि छोडिदिए। उनले संगीत गरेका गजल र गीतमा नेपालका केही चर्चित गायकले स्वर दिएका छन्। यसअघि वि.सं. २०६७ सालमा 'पल्लव' एल्बम सार्वजनिक भइसकेको छ। 

क्रिकेट र निरजको जीवन

कुनै बेला उनलाई डाक्टरी भन्दा क्रिकेटमा बढ्ता शोख थियो। मान्छेले चाहेका सबै रहर पुरा हुँदैनन्। रहर पानीका थोपा न हुन्। कतिखेर फुट्छन् स्वयम् फोकालाई पनि थाहा हुँदैन। उनले कयौं क्रिकेटका 'टुर्नामेन्ट'मा आफूलाई अब्बल सावित गरेका छन्।

क्लब, जिल्ला र राष्ट्रियस्तरका क्रिकेट खेलेका छन्। काठमाडौं खेल मण्डलबाट क्रिकेट खेल्न सुरूवात गरे उनले। सन् २०१२ उनले राष्ट्रिय खेलकुदमा खेले। सन् २०१३ मा क्षेत्र नम्बर ३ बाट कप्तानी सम्हाले। तर आफ्नो क्रिकेटर जीवनबाट अघोषित सन्यास लिएर डाक्टर पढ्न बंगलादेश पुगे।

पैताला जोडेर नकट्ने रहेछ बाटो 
सम्बन्धमा थोरै दूरी जरूरी रहेछ  

त्यसबेला अहिले जस्तो नेपाली समाजमा क्रिकेटको क्रेज थिएन। त्यतिबेलासम्म खेलाडीमा मात्र क्रिकेटको क्रेज थियो। तर नेपाली क्रिकेटको व्यवस्थापन राम्रो नभएको गुनासो उनी गरिरहन्छन्। उनी सम्झन्छन्, 'घरमा क्रिकेटको व्याट लुकाउनुपर्ने अवस्था थियो। बुवाआमाले देखे व्याट भाचिदिनुहुन्थ्यो।' अहिले जस्तो क्रेज त्यसबेला भइदिएको भए सायद उनी बंगलादेश नजान सक्थे। नेपाली क्रिकेटबाट पर रहे पनि क्रिकेटको मोहले उनलाई छोडेन।बंगलादेश पुगेपछि त्यहाँका विभिन्‍न क्लबबाट क्रिकेट खेलेको सम्झन्छन् उनी। त्यहाँको क्लबबाट व्यवसायिक क्रिकेट  खेल्न उनलाई अफर नआएको होइन। तर एमडीको सर्टिफिकेट बोकेर नेपाल फर्किए निरज।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.