जनताप्रति उत्तरदायी बनेन मालपोत कार्यालय

|

दाङ :  रुकुम मुसिकोट-२ का ६५ वर्षीय हरिलाल अधिकारी १५ दिन हुन लाग्यो मालपोत कार्यालय तुलसीपुर  धाउन लागेको। तर, उनको काम हुन सकेको छैन। उनी घडेरी पास गर्न मालपोतमा आएका हुन्।

उनलाई मालपोतका फाँटवालाले आज-आज भोलि- भोलि भन्दै फर्काउने गरेको १५ दिन पुगेको उनले गुनासो पोखे।  'अहिलेसम्ममा होटलमा बस्दै आएको छु', उनले भने, 'करिब २० हजार रुपैयाँ खर्च भइसक्यो अब अझै काम कहिले हुने हो अत्तोपत्तो छैन।' 

त्यस्तै, तुलसीपुर- ३ कि ७७ वर्षीया गंगादेवी खड्काले मालपोत धाउन लागको १२ दिन भयो। अहिलेसम्म आफ्नो काम नभएको उनले गुनासो गरिन्। मेरो जग्गा नामसारी गर्ने काम थियो, दैनिक कार्यालय धाउदासमेत  जग्गा पास हुन नसक्दा हैरानी बेहोर्न बाध्य भएको उनको भनाइ छ।

यस्तो समस्या भोग्ने  अधिकारी र खड्का त प्रतिनिधि पात्र हुन्। यस्तो समस्या भोग्ने त  सयौँ छन्, कतिपयको फाइलसमेत हराउने गरेको उनीहरू बताउँछन्।  वैशाख ४ देखि तुलसीपुरमा  अनलाइन सेवा सुरु भएपछि सयौँ सेवाग्राहीले यस्तै समस्या भोग्दै आएका छन्। कार्यालयमा पूर्वतयारीबिना अनलाइन सिस्टममा सुरु भएपछि अहिले सेवाग्राहीहरू दैनिकजसो झमेलामा पर्न थालेका छन्।  

दक्ष टेक्निसिय अभावले समस्या : कार्यालय प्रमुख

यही वैशाख १३ गतेदेखिका लिखतहरू कार्यालयमा दर्ता भएका छैनन् भने त्यसअघि कार्यालयमा दर्ता भएका ११ सय लिखतमध्ये ३ सय ५० वटा मात्र काम सम्पन्न भएको कार्यालयले जनाएको छ।

यता, कार्यालय प्रमुख नरेशकुमार खड्काले कर्माचारी अभाव र सिस्टम चलाउन सक्ने दक्ष टेक्निसियनको अभावका कारण समस्या पैदा भएको बताए। उनले यो समस्या समाधान हुन अझै साउन महिनासम्म लाग्ने बताए। 'हामीसँग न त प्राप्त जनशक्ति छ, न सिस्टम छ', उनले भने, 'त्यो कारणले गर्दा सेवाग्राहीहरूले सास्ती भोग्नुपरेका छ।' यसका लागि आफूले विभागमा कुरा गरेको समेत बताए।

जनताप्रति उत्तरदायी बनेन मालपोत कार्यालय

यता, लेखापढी कानुन व्‍यवसायी संघ तुलसीपुरले मालपोत कार्यालय जनताप्रति उत्तरदायी बन्न नसकेको आरोप लगाएको छ।  संघले तयारीबिना अनलाइन सिस्टम लागू गर्दा २१ दिनमा करिब १५ सयभन्दा बढी सेवाग्राहीको काम रोकिएको कानुन व्‍यवसायी सेवक राम आचार्यले बताए। उनले जनताको प्रत्यक्ष सरोकार रहेको मालपोत कार्यालयको गैरजिम्मेवार गतिविधिका कारण सेवाग्राही अनावश्यक झमेलामा पर्ने गरेको समेत बताए।

उनले जनताको सूचना पाउने हकसमेत यस कार्यालयले बन्द गरि दिएर थप अन्यायपूर्ण व्यवहार देखाएको समेत आरोप लगाए। यस्तै अर्का कानुन व्‍यवसायी झक्कुप्रसाद वलीले सयौंको फाइल लेखापढी व्‍यवसायीहरूको जिम्मामा रहेको भन्दै करोडौंको राजस्‍वसमेत उठन नसकेको बताए।  उनले जिल्लाको सबैभन्दा बढी सेवाग्राहीको चाप हुने मालपोत कार्यालयमा यसरी महिना दिनसम्म पनि समस्या समाधान गर्न कोही पनि जिम्मेवार नबन्नु दुखद भएको बताए।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.