मुगु : जिल्लाको पूर्वीकरान भेगमा पर्ने मुगमकार्मारोङ गाउँपालिका-२, मुगु गाउँमा रहेको प्रहरी चौकी ६ महिनादेखि सुरक्षाकर्मीविहीन बनेको छ । हिउँदको सिर्जनामा चिसोका कारण कार्यरत सबै प्रहरी तल औलमा झर्ने भएकाले सीमा प्रहरी चौकी खाली भएको हो। चिसोकै कारण मंसिर महिनादेखि सीमामा प्रहरीले चौकी छोडेका थिए।
लामो समयसम्म सुरक्षाकर्मी नफर्किंदा नेपाल-चीन सीमाको प्रहरी चौकी खाली बनेको छ। नेपाल चीन सीमा सुरक्षाका लागि प्रहरी चौकी स्थापना गरिएको हो। चौकीमा प्रहरी नायब निरीक्षक सईसहित १९ जना प्रहरीको दरबन्दी छ । तर, चिसोको कारण चौकीमा बस्न नसकिने भन्दै गत मंसिरमा सबै सुरक्षाकर्मीलाई पुलु र जिल्ला प्रहरी कार्यालयमा सारिएको थियो।
सीमाक्षेत्रमा अवैध सामग्री ओसारपसार
सीमा चौकीमा प्रहरी नहुँदा सीमाक्षेत्रमा अवैध सामग्री ओसारपसार, चोरी, डकैतीलगायत अप्रिय घटनाको जोखिम बढदै गएको छ। चीनबाट अवैध मदिरालगायत अन्य सामान नेपाल भित्रिने गरेको छ भने नेपालबाट पनि अवैध सामग्री चीनतर्फ जाने सम्भावाना धेरै रहेको स्थानीय बताउँछन्। बहुमूल्य जडीबुटी यार्सागुम्बा संकलन गर्ने समय नजिकिँदै गएकाले तत्काल सुरक्षाकर्मी पठाउन स्थानीयले माग गरेका छन्। विगत वर्षमा प्रहरी चौकीमा कार्यरत प्रहरीलाई मंसिरमा सदरमुकाम र फागुनमा मुगु गाउँमा पठाउने गरिए पनि यस वर्ष ढिलाइ भएको जिल्ला प्रहरी कार्यलय मुगुले जनाएको छ । मुगु गाउँमा कुनै घटना हुँदा स्थानीयलाई चार घण्टा हिँडेर पुलु प्रहरी चौकी पुग्नुपर्ने बाध्यता छ।
चिसोमा औल, गर्मीमा लेक
प्रहरीलाई चिसोमा औल सार्ने र गर्मीमा लेकमा पठाउने गरिएकाले सुरक्षा प्रबन्ध मिलाउन समस्या भएको जिल्ला प्रहरी कार्यालय मुगुका निमित्त प्रहरी प्रमुख लालबहादुर ऐरले बताए। उनका अनुसार यार्सागुम्बा संकलनको समय नजिकिएसँगै वैशाख महिनाभित्रै सीमा प्रहरी चौकीमा सुरक्षाकर्मी खटाइने र सीमामा शान्ति सुरक्षा कायम गर्ने निमित्त प्रहरी प्रमुख लालबहादुर ऐरले जानकारी दिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।