दान गरे धेरै पुण्य मिल्ने विश्वास

|

बुटवल : रमजान सुरु भएको दोस्रो दिन अर्थात् गत बुधबार साँझ बुटवल सहरलाई दुई किनार बनाउँदै बग्ने तिनाउ नदीमाथिको पुलमा अलगै चहलपहल थियो। पुलको दुवै द्वारमा मस्जिद रहेकाले धार्मिक पहिरन गरेका मुस्लिमहरुको उल्लासमय आवतजावतले रमदानको महक फैलिएको भान हुन्थ्यो।

बुटवललाई पुर्व-उत्तर–पश्चिमबाट घेरेको चुरेको पश्चिमी डाँडभित्र सूर्य लुक्दै गर्दा ती मस्जिदमा सेतो कुर्था, सलवार, सेतो तकिया (टोपी) र तरबान (टाउकोमा बेर्ने मफ्लर) लगाएका इस्लाम धर्मावलम्बीका मानिसको चहलपहल झन् झन् बढ्दै गयो।

पुलको पूर्वीद्वारमा रहेको मदिना मस्जिद र वरपरका मिठाई पसलहरुबाट आइरहेको अरेबिक भाषाका सांगितिक धुनले वातावरणलाई गुल्जार बनाएको थियो।

धार्मिक पहिरनमा बालक, वयस्क र वृद्ध सबै हातमा सुपो र ढकियामा खानेकुरा बोकेर पुलनजिकैको सिँढीबाट झरिरहेका थिए। सिँढी झरेपछि १०० मिटरको दूरीमा वि.स. १९७० मा स्थापित रजा-ए-मुस्तफा मस्जिदमा ‘इफ्तार’ अर्थात् रोजा तोड्ने कार्यक्रम सुरु हुँदै थियो।

पुलको अर्को छेउमा २५ वर्ष अगाडि स्थापित मदिना मदरसा मस्जिदमा पनि इस्लाम धर्मावलम्बीहरुको उपस्थिति बढ्दै थियो। रोजा तोड्न आएकाहरुलाई मस्जिदको प्रवेशद्वारमा ‘सलाम अलैकुम’ भन्दै स्वागत गर्न आइपुगे हाजी जमाल मियाँ। सेतो टोपी, सेतो कुर्ता र सेतै सलवार लगाएका जमाल प्रार्थनाका लागि आएकाहरुका लागि ‘ईफ्तार’को बन्दोबस्तमा जुटेका थिए।

‘दान गर्न सक्ने र गर्न नसक्ने सबैजनाले सामूहिक भोजन गरेर रोजा तोड्नु नै इफ्तार हो,’ सुरु हुन लागेको कार्यक्रमबारे उनले भने,‘रमजानको खासियत नै यही हो।’

२५ वर्ष अगाडि स्थापित मदिना मदरसा मस्जिदका पूर्वअध्यक्षसमेत रहेका जमालले रमदानमा रोजा बस्दा मानिस धैर्यवान् र अनुशासित हुने बताए। ‘कुरानले आदेश पनि दिएको छ। तर आध्यात्मिक पाटोलाई हेर्ने हो भने हाम्रो दैनिकीको दौडधुपबाट छुट्करा पाउने मौका पनि हो रमदान’, उनले भने । वर्षको एक महिना दैनिक १२–१३ घण्टा रोजा बस्दा धैर्यको परीक्षण र जीवनप्रति आभार हुने अवसर पाइने उनले बताए। 

मस्जिदको बाहिरी हलमा इफ्तारका लागि मानिसहरु लामबद्ध भएर गलैँचामा बसिरहेका थिए। त्यसको एक कुनाबाट खाना वितरण सुरु हुन लागेको थियो। हलमा २ सय जना मुस्लिम धर्मावलम्बीहरु रोजा तोड्न तयार थिए।

भिड व्यवस्थापनमा जुटेका मस्जिदका अध्यक्ष हाजी सकुर मियाँ आफू ११ वर्ष हुँदादेखि नै रमदानमा रोजा बस्न थालेको बताए। ‘म बच्चा हुँदादेखि नै रमदान उल्लासको महिना लाग्थ्यो। विहान ४ बजे उठेर घाम झुल्किनु पहिले केही खाएपछि दिनभरका लागि रोजा सुरु हुन्थ्यो', उनी सुनाउँछन्,'दिनभर साँझ कतिखेर पर्ला र रोजा तोड्न पाइएला भनेर कुरिरहेका हुन्थौं। अहिले पनि उस्तै हो। रमदानको उल्लासमा कमी आएको छैन।’

यो महिना आवश्यक परेकालाई दान दिने समय पनि हो। आफ्नो पुँजीबाट २.५ प्रतिशत आवश्यकतामा परेकालाई दान गर्न कुरानले नै भनेको अध्यक्ष सकुर बताउँछन्। ‘अन्य भन्दा यस महिनामा पुण्य गरेमा ७० गुणा धेरै प्रतिफल मिल्ने विश्वास छ,’ उनले भने।

रमदानको सांस्कृतिक पक्ष उल्लासमय भए पनि मुस्लिमहरुको पर्वप्रति राज्यले देखाएको अनुदारताले भने उनीहरूको चित्त दुखेको रहेछ। ‘नेपालमा हामी अल्पसंख्यक छौं। त्यसैले हाम्रो पर्वमा सरकारले बिदा कटौती गरिदिएको,’ सकुरले दुखेसो पोखे,‘पर्वलाई राजनीतिकरण गर्न खोजेको होइन तर पर्वमा पनि काममाै जानुपर्‍यो भने त उल्लास नै रहँदैन।’

सकुरले यति भन्दासम्म पुरै मस्जिद रोजा तोड्नमा व्यस्त थियो। सेवई, रोटी, पुरी, तरकारी र दही लगायतका परिकार लिन सबै व्यस्त थिए। अब एक घण्टामा दिनको अन्तिम प्रार्थना ‘तरावी’सुरु हुन लागेको थियो।

बुटवलमा यस वर्ष करिब ५ हजार मुसलमानले यसरी नै रमदान मनाउँदैछन्। अल्पसंख्यक मुसलमानहरुको बुटवलको वडा नं १, २, ४, ५, ६, ७, ८ र ९ मा बसोबास छ। यहाँ गुल्मी, पाल्पा, अर्घाखाँची र स्याङ्जाबाट बसाई सरेर आएका मुसलमान धेरै छन्।मधेसी मुलका मुसलमानहरु पनि यहाँ छन्।

के हो रमजान?

रमजान इस्लाम धर्मावलम्बीको महत्वपूर्ण चाड हो। मुस्लिमहरुले कुरान अवतरण भएको महिना भनेर रमदानलाई विश्वास गर्छन्। त्यसैले रमजान महिना शुभलाभको महिना मान्छन्। रमजान महिनालाई कुरानले धेरै ठूलो स्थान दिएको छ। एक महिनासम्म मनाइने यो चाडमा सात वर्षदेखिका सबै व्यक्ति अनिवार्य रोजा (उपवास) बस्नुपर्ने हुन्छ।

मुसलमानहरूको पाँच महत्वपूर्ण कार्य रोजा, नमाज, हज, जकात र फित्र नियामानुसार गर्नुपर्ने हुन्छ । तर हजबाहेक सबै कार्य रमजान महिनामा प्राप्त गर्ने अवसर पाउने भएकाले यो महिनालाई मुसलमानहरूले महत्वपूर्ण महिना भन्छन्।

घाम उदाउनुभन्दा डेढ घण्टाअगावै सरगाही (खानेकुरा) खाएर प्रारम्भ गरिने रोजा घाम अस्ताएपछि केही खाएर तोडिन्छ। रोजा तोड्ने कामलाई कुरानले इफ्तर भनेको छ।

दिनभर केही खान नहुने यो पर्वमा मुसलमानहरूले आ-आफ्नो गच्छेअनुसार विभिन्न परिकार बनाई रोजा खोल्ने गर्छन्। रोजाको समयमा कुनै खानेकुरा मुखमा हाल्नु हुँदैन। जानेर थुक पनि निल्नु हुँदैन। दिउँसो सबैले दतिवन गरी मुख धुनु पर्छ।

दिनभर केही खान नहुने भएकाले ठूला मानिसहरूले सजिलै रोजा पूरा गर्छन्। उमेर नपुगेकाले धेरै कठिनाइ भोग्नुपर्ने हुन्छ। जसले जति कठिनाइ महसुस गर्छ, त्यसले त्यति सवाव (धर्म) पाउने भनेर ठूलाले बालबालिकालाई रोजा बस्न प्रेरित गर्छन्। शरीर र मन दुवै शुद्ध रहनु पर्ने विश्वास छ। रोजामा महिलाहरूको महिनावारी भएमा रोजा हुँदैन। महिनावारी रोकिएपछि पुनः रोजा बस्नु पर्ने हुन्छ।

रोजाको समयमा श्रीमान् र श्रीमतीबीच शारीरिक सम्पर्क गर्न हुँदैन। मुसलमानहरूले रोजा अवधिभर नियमित नमाज पढ्छन्। रातिको नमाजपछि कतिपय मस्जिदमा तरावी नमाज पढ्ने गर्छन्। तरावी नमाज मुसलमानहरूको विशेष प्रार्थना हो। अर्को महान पर्व ईल-उल-फित्रले रमदान सकिएको जनाउँछ। यो दिन मुस्लिमहरुले व्रत र पूजा गरेर मनाउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.