चुरे उकालोमा दैनिक आधा दर्जन टिपर दुर्घटना

|

उदयपुर : ‘ओभर लोड, एउटै ट्राफिक नियमको पालना छैन। गलत साइडको प्रयोग गर्दै धुलोको मुस्लोभित्रबाट २७ किलोमिटर पार गर्न झण्डै डेढ घण्टा लाग्छ’, उदयपुरको सदरमुकाम गाईघाटबाट मोटरसाइकलमा कटारीको यात्रामा रहेका स्थानीय पत्रकार होम बस्नेतले भने, ‘आज पनि धन्न बाँचेर घर आइपुगियो’, टिपर र सडकको अवस्था सुनाउँदै उनले पुन: भने, ‘टिपरबाट बाँचेर आउनु नै भग्यमानी सम्झनुपर्नेरहेछ।’

सिद्धिरचण लोकमार्गमा पर्ने सिरहाको मिर्चैया कटारी सडक खण्डमा टिपर आतंक बढ्दै गएको छ। व्यवसायको कामले दैनिक मोटरसाइकलमा कटारीलगायत बजारमा दौडिने लहानका व्यापारी राम महत्तो पनि बस्नेतकै शब्दमा भन्छन्, ‘मिर्चैया कटारी खण्ड पार गरी घर आइपुग्दा अर्काे जीवन पाएको महसुस हुन्छ। टिपर नियन्त्रणको कसैले पनि पहल गरेनन्।’

त्रासै त्रासमा हिँड्नुपर्ने बाध्यता

कटारी मिर्चैयाँ खण्डमा मारुती सिमेन्टको चुनढुंगा बोक्ने टिपरबाट जोगिएर गन्तव्‍यमा पुग्दा जो केही पनि आफूलाई भाग्यमानी ठान्दछन्। भत्किएको सडक खाल्डा र खुल्डी छ। टिपरको चापको कारण सिद्धिचरण लोकमार्गमा यात्रा गर्ने जोकोही यात्रु सडकको अवस्थालाई धिकार्न पनि पछि पर्दैनन्। सिद्धिचरण लोकमार्ग खण्डमा दैनिक चल्ने हजारभन्दा बढी टिपरका कारण सडक जीर्ण हुनुको साथै दुर्घटनाको जोखिम बढेको छ।

चुरे उकालोमा दैनिक आधा दर्जन टिपर दुर्घटनामा पर्ने गरेको छन्। क्षमताभन्दा बढी लोड बोकेर टिपरबाट चुनढुंगा खसेर मार्ने हो कि? आरोलोमा ब्रेक नलाग्‍ने हो कि? अनि उकालो चढ्न नसकेर पछाडि गुड्दै आएर मार्ने हो कि भन्ने त्रास नै त्रास लिएर हिँड्नुपर्ने साना सवारी साधनका चालकको गुनासो छ।

‘सडकको बीचबाटोमा केही बिग्रेका, केही दुर्घटना भएको अवस्थामा पाइन्छ,’ लाहानबाटै बोलेर जिप लिएर ओखलढुंगा हिडेर चालक राकबहादर सार्कीले भने, ‘कटारी घुर्मी पार गर्दा ज्यान जोगाएर अर्को जुनी पाएको जस्तो लाग्छ।’ बाटो विग्रनु र दुर्घटनाको एउटै कारण बन्ने गरेको छ टिपरको ओभरलोड। कटारी-मिर्चैया सडकमा पर्ने २८ किलाेमिटर र मिर्चैया बडमी ४० किलोमिटर सडकमा ओभर लोड बक्ने टिपरले विगारेको सडककै कारण दुर्घटना समेत हुने गरेको छ।

अस्थायी ट्राफिक प्रहरी पोष्ट कटारीका प्रमुख डम्बर दियालीले टिपर चालकलाई बेलाबेलामा ट्रफिक नियमबारे सचेतना जगाउने गरेको पनि बताए। ‘सडकको अवस्था हेर्दा धेरै नाजुक छ,’ उनले भने, ‘मिर्चैैया-कटारी सडकमा सडकको क्षमताभन्दा बढी मालवाहक सवारीसधानले सडकको कन्तबिजोग  बनाएको छ। अधिकांश दुर्घटनाको कारण सडक देखिन्छ।’

सडक सञ्‍चालनमा आएदेखि हालसम्म सयौँ दुर्घटना भएका छन्। पुन: दियालीले भने, ‘सिमेन्टका चुनढुंगा बोक्ने टिपरलाई वैकल्पिक सडक चाहियो।’ कटारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठले सिमेन्ट उद्योगको कच्चा पद्धार्थ बोक्ने सवारीसाधनको वैकल्पिक सडक निर्माण गर्न सरकारसँग जोडदार माग गरेको बताए।

‘टिपरकै कारण कटारी प्रवेश गर्ने मार्ग जीर्ण बनेको छ', उनले भने, ‘१० टन क्षमताको बाटोमा २० टनसम्म लोड बोक्ने गरिएको छ। ओभर लोडको कारण सडक यातायातको साधन चल्न नसक्ने अवस्थामा पुगेकाले प्रदेश र संघीय सरकारसँग अर्को वैकल्पिक सडक निर्माण गर्न माग पनि गरेका छौँ।’

पहिला ओभर लोड बोक्ने टिपरलाई कारबाही हुन्थ्यो, अहिले छैन 

स्थानीय सरकारले केन्द्रीय सरकारसँग समन्वय गरेर खानीको लागि वैकल्पिक सडक निर्माण गर्ने तयारी भइरहेको प्रमुख श्रेष्ठको भनाइ छ। गएका वर्षमा जिल्ला प्रहरी कार्यालय उदयपुरले सडकको अवस्थालाई हेरेर ओभरलोड बोक्ने टिपरलाई कारबाहीसमेत गरेको थियो। एक वर्षअघि सरुवा भएर गएका जिल्ला प्रहरी प्रमुख एसपी नवराज भट्टले ओभर लोड बोक्ने टिपरलाई कारबाहीसमेत गर्ने आदेश दिएको स्थानीय मीन माझीले बताए।

‘अहिले जिल्ला प्रहरी प्रमुख एसपी चन्द्रदेव राईले टिपरलाई केही गरेका छैनन्’, उनले भने, ‘ओभर लोड बोक्नेलाई प्रहरी लगाएर नियन्त्रण गर्दै मात्र धेरै राहत हुने थियो।’ मारुती सिमेन्टको चुनढुंगा ढुवानी गर्ने शिव ओम मल्टिप्रपोज प्रालिले सिरहाको चोहर्वामा रहेको मारुती सिमेन्टका लागि चुनढुंगा ढुवानी गर्दै आएको छ भने कसमस सिमेन्टले धनुषाको महेन्द्रनगरसम्म चुनढुंगा ढुवानी गर्दै आएको छ।

मारुती सिमेन्टले सिन्धुलीको ककुरठाकुर र कसमस सिमेन्टले कटारी नगरपालिकाको सिरिसेबाट ढुंगा उत्खनन गर्दै सोही सडकबाट ढुवानी गर्दछन्। कटारी-मिर्चैया खण्डको २६ किलोमिटर सडकमा हाल ५०० को हाराहारी टिपर र अन्य सवारीसाधन १५० गरी ६५० सवारीसाधन चल्ने गरेको ट्राफिक प्रहरी पोष्ट कटारीले जनाएको छ।

कटारी नगरपालिकाका १,२ र ३ का स्थानीयहरू धुलो-धुवाँ र जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। टिपरका कारण सडक जीर्ण भएको र अन्य सवारीसाधन सञ्‍चालन गर्न कठिनाइ भएको भन्दै विभिन्न समयमा आन्दोलनसमेत गर्ने गरेका छन्। धुलो नियन्त्रण गर्न ट्याङकरले जथाभावी पानी खन्याएर फेरि हिलाम्य बनाउँदा झनै समस्या हुने गरेको सडक उपभोक्ताको गुनासो छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.