|

काठमाडौं : स्वामी आनन्द अरुणको संस्मरणात्मक पुस्तक ‘ओशो अचम्म जो मैले देखेँ’ सार्वजनिक भएको छ। ओशो तपोवनमा शनिबार आयोजित कार्यक्रममा पुस्तक लोकार्पण गरिएको हो।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेपाली कांग्रेसका नेता तथा चिन्तक प्रदीप गिरि, प्राज्ञ तथा कलाकार नीर शाह, नागरिक अगुवा डा. सुन्दरमणि दीक्षित, घटना र विचारका प्रधान सम्पादक देवप्रकाश त्रिपाठी, नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुईंटेल तथा पुस्तकका लेखक स्वामी आनन्द अरुणले संयुक्त रुपमा पुस्तक सार्वजनिक गरेका थिए।

प्रवक्ता श्रेष्ठले मुक्तिको मार्गमा एक व्यक्तिले हिम्मतका साथ अडिग भएर खेपेको दुःख र साधनाको गाथा पुस्तकमार्फत् सार्वजनिक भएको बताए। कांग्रेस नेता गिरिले मार्क्सवादले मनुष्यको व्यक्तिगत मनोविज्ञानको अध्ययन नगरेसम्म अध्यात्मलाई सही रूपमा बुझ्न नसक्ने विचार राखेका थिए।

डा. दीक्षितले गहन आध्यात्मिक संस्मरण रहेको पुस्तकले पाठक र लेखक दुबैलाई नौलो अनुभव हुने बताए। पत्रकार त्रिपाठीले पुस्तकले गुरु र शिष्यको सम्बन्धलाई नयाँ उचाइमा प्रस्तुत गरेको भनाइ राखेका थिए।

नागरिक दैनिकका प्रधान सम्पादक लुईंटेलले कृति आध्यात्मिक विधामा रहस्यले परिपूर्ण अनुभवको अनुपम संगालो भएको बताए।

पुस्तकका लेखक स्वामी आनन्द अरुणले गुरुको सान्निध्यमा आफूले भोगेका कुरा लेखेको बताए। नेपालका धार्मिक स्थललाई विश्वमा चिनाउनुपर्ने आवश्यकतामा उनले जोड दिएका थिए। पुस्तक बु्क हिल्स् पब्लिकेशनले प्रकाशन गरेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.