|

मुगु : नेपालको सबैभन्दा ठूलो तथा कर्णाली प्रदेशकै गहना, रारा ताल मुगु जिल्‍लामा पर्छ। यस जिल्लामा एक नगरपालिकासहित चार स्थानीय तह छन्। त्यसमध्येको एक हो छायानाथ रारा नगरपालिका। छायानाथ रारा नगरपालिकामा नेपालको सबैभन्दा ठूलो रारा ताल यसै नगरपालिकाभित्र पर्दछ। छायानाथ मन्दिर र रारा तालकै नामबाट यस नगरपालिकाको नाम छायानाथ रारा नगरपालिका नामाकरण गरिएको हो।

यहाँ क्रणमोक्ष मन्दिर, छायानाथ मन्दिर, कालिका मालिका मन्दिर, थार्प मस्टा, चंखेली हिमाललगायत पर्यटकीय सम्भावना बोकेका कैयौँ सम्पदा छन्। मुगुमा मुख्यतया क्षत्री, ब्रह्मण, ठकुरी, लामा, कामी जातिको बाहुल्यता रहे पनि छायानाथ रारा नगरपालिकामा क्षत्रीको जनसख्या धेरै छ। २०६८ सालको जनगणनाअनुसार यस नगरपालिकाको कुल जनसंख्या २० हजार ७८ र कुल घरधुरी संख्या २ हजार ८ सय ९४ छ। छायानाथ रारा नगरपालिकामा जडीबुटी व्यापार, पर्यटन, कृषि र पशुपालनको उच्च सम्भावना छ। भौगोलिक विकटता र भिरालो जमिनले भएकाले यहाँ बसोबास गर्नेको जीविकोपार्जनको मुख्य स्रोत ,कृषि जडीबुटी, व्यापार तथा पशुपालन नै हो।

स्थानीय सरकार गाउँगाउँमा आएको पनि दुई वर्ष भइसकेको छ। छायानाथ रारा नगरपालिकाले कार्य सम्पादनलाई कसरी अगाडि बढाएको छ? यो अवधिमा निर्वाचनको समयमा जनतासँग गरेका प्रतिबद्धता कति पूरा भए? आदि विषयमा रहेर छायानाथ रारा नगरपालिकाका नगर प्रमुख हरिजंग शाहीसँग थाहा खबरकर्मी नन्दबहादुर रोकायाले गरेको कुराकानी :

स्थानीय सरकार गठन भएको दुई वर्ष भयो छायानाथ रारा नगरपालिकाले  के के काम गरेको छ, कार्य सम्पादन कसरी अगाडि बढेको छ?

आएको दुई वर्षमा हामीले धेरै नै काम गरेका छौँ। छायांनाथ रारा नगरपालिकाभित्र रहेका विद्यालयहरूको शैक्षिक गुणस्तर कायम गर्नका लागि  प्रारम्भिक बालविकास केन्द्रमा काम गर्ने शिक्षकहरूलाई शतप्रतिशत पारिश्रमिक वृद्धि गरेका छौँ। शैक्षिक गुणस्तर कायम गर्नका लागि गत आर्थिक वर्ष २०७४/७५ मा वर्षमा दुईवटा प्रारारम्भिक बालविकास केन्द्रलाई नमुना बालविकास केन्द्रमा घोषणा गरेका छौँ। यसै आर्थिक वर्षमा १० वटा बालविकास केन्द्रलाई नमुना बालबिकासका बनाउने घोषणा पनि हामीले गरेका छौँ। प्रत्येक गाउँबस्तीमा सडक जोड्ने हाम्रो योजना छ  धेरै गाउँ ग्रामीण सडक सञ्जालमा जोडिएका छन्। अन्य गाउँमा पनि त्यो कार्य हुँदै छ।

मदिरा निषेधित नेपालकै नमुना नगरपालिका बनाउने उदेश्यका साथ छायानाथ रारा नगरपालिका मदिरा निषेधित घोषणा गरेका थियौँ , ६ महिनासम्म जनस्तरसम्म प्रभावकारी पनि भएको थियो। तर, अहिले अदालतमा मुद्‍दा परेको छ।

मुद्दा परेपछि मदिरा निषेधित भएको नगरपालिकामा अब के हुन्छ?

हामीले प्रतिउत्तर दिने काम गरेका छौँ। सामाजिकरूपमा दबाब सृर्जना गरेका छौँ। हिंसापीडित महिला, बालबालिका विद्यार्थी, शिक्षक नागरिक समाजद्वारा सामाजिकरूपमा दबाब सृजन गरिरहेका छौँ। मदिराको प्रयोगले विभिन्न किसिमका आपराधिक घट्ना घट्ने गरेका छन्, मान्छेको आर्थिकस्तर कमजोर हुँदै गएको छ। साामजिकरूममा जनस्तरमा मदिरासम्बन्धी दबाबमूलक कार्यक्रम गर्ने जनतेनामूलक कार्यक्रम गर्ने र अदालतको फैसला नहुन्जेलसम्म मदिरा निषेधित नगरपालिका नै भन्‍ने गरेका छौँ।

तपाईंले चुनावताका गरेका प्रतिबद्धताअनुसार काम भएका छन् त?

चुनावमा गरिएका प्रतिबद्धता सुरुवात गरेका छौँ तर भौगोलिक विकटताले गर्दा सबै त पूरा भएका छैनन्।  गरिएका प्रतिवद्धातालाई पाँच वर्षसम्मको कार्यकालमा पूरा गर्छौं। चुनावमा विशेषत: सडक, शिक्षा, स्वास्थ्य, विद्युत् पर्यटन आर्यआर्जन र सञ्चारको व्यवस्था गर्छु भन्ने प्रतिबद्धता गरेको थिएँ। अहिले तिनै प्रतिबद्धता कार्यान्वयन गर्दै छु। सबै पूरा भएका छैनन् तर सुरुवात भने गर्दै छु।

नगर समृद्धिका लागि आगामी योजना के के छन्?

तत्काल गमगढी बजारको फोहोर व्‍यवस्थापन गर्न डस्टबिनको व्‍यवस्था गर्ने, सदरमुकाम गमगढीलाई चक्रपथको रूपमा विकास गर्ने,सडक बत्तीको व्‍यवस्था, ढल निकासको व्‍यबस्थापन, फ्री वाइफाईलगायतका काम गर्ने योजना छ। अर्को कुरा राराको पर्यटकीय क्षेत्रको विकास गर्न राराको विकासका लागि गुरुयोजना बनाउने काम गरेका छौँ। रारामा धेरै पर्यटक आउँछन् तर राराबाट मुगाली जनताले केही नपाएको अवस्था छ। एक दुईजनाले मात्र राराबाट फाइदा लिएका छन्। त्यसका लागि सडक सञ्जाल रातचोरदेखि बालै हुँदै गमगढी रारा जोड्ने र एकदिन पर्यटकलाई गमगढीमा राख्ने व्‍ययवस्था मिलाउने हाम्रो योजना छ।

त्‍यस्तै, महिला स्वास्थ्यसेविका स्वास्थ्य सञ्चारको व्‍यवस्था गर्ने, शैक्षिक क्षेत्रको विकासका लागि नगरपालिकाबाट अनुदान दिई  शिक्षाको व्‍यवस्थापन गर्ने, विद्युतको सम्भावनाको खोजी गर्ने काम भइरहेका छन्।

छायानाथ रारा नगरपालिकामा शिक्षा,स्वास्थ्य खानेपानी सडक कृषिको क्षेत्रमा काम गरिरहेका छौँ। यस्ता कार्यक्रम गर्दै जाँदा पाँच वर्षभित्र केही परिवर्तन गर्नेछु। यसै आर्थिक वर्षबाट  नगर प्रमुख स्वरोजगार कार्यक्रम गरिबसँग नगरप्रमुख कार्यक्रम सञ्चालन गरी पाँच सय बेरोजगार व्‍यक्‍तिलाई रोजगारीको सृर्जना गर्ने, होमस्टे तालिम दिने,सडक सुरक्षासम्बन्धी तालिम, मोबाइल तालिम, ड्राइभिङ तालिम दिने बेरोजगार वर्गलाई स्वरोजगार बनाउने हाम्रा योजना छन्। 

छायानाथ रारा नगरपालिकालाई समृद्ध बनाउने आधार के के छन् तपाईंसँग?

छायानाथ रारा नगरपालिकालाई समृद्ध बनाउने आधार थुप्रै छन्। पहिलो नेपालको सबैभन्दा ठूलो ताल रारा यसै नगरपालिकामा छ। पर्यटकीय सुन्दरता बोकेका चंखेली हिमाल, छायानाथ मन्दिर कालिकामालिका मन्दिर ,थार्प मस्टालगायत थुप्रै पर्यटकीय तथा धार्मिक तीर्थस्थल छन।

रारा आउने पर्यटकलाई रारामा मात्र सीमित नबानाई मुगुका अन्य पर्यटकीय सम्भावना बोकेका  पर्यटकीय क्षेत्रसँग जोड्ने। मुगुमा रारा मात्र छैन अन्य थुप्रै पर्यटकीय धार्मिक तीर्थस्थल छन् भनेर प्रचारप्रसार गर्न सकेमा हाम्रो नगर त्यसै समृद्ध  बन्‍ने सम्‍भावना छ। रैथानी बालीको उत्पादन प्रवर्द्धन गरेर प्रचारप्रसार गर्नेलगायत कृषि क्रान्तिबाट पनि समृद्ध बनाउने आधार छन्।

सरकार गठनपछि स्थानीयले महसुस गर्नेगरी  के के काम गर्नुभयो?

स्थानीय सरकार गठन भएपछि स्थानीयलाई सजिलो भएको छ। पहिला सचिवको भरमा काम हुन्थ्यो। सचिवले मनोमानीरूपमा काम गरेका थिए। सचिव पनि स्थानीय नभएर बाहिर जिल्लाका हुन्थे। भनेको बेला सचिव नभेटिने समस्या थियो।

हरेक सेवासुविधा सचिवको हातमा हुन्थ्यो। सचिवले मनोमानीरूपमा विकास निर्माणका काम गरेका थिए। तर, अहिले स्थानीय सरकार भएपछि स्थानीय जनप्रतिनिधि छन्। कहाँ विकास गर्नुपर्छ, के गर्नुपर्छ भन्ने कुरा जनतालाई सोध्छन्। योजना छनोटमा पनि स्थानीयको सहभागिता हुन्छ। पहिला सचिवले कसरी योजना छनोट गर्थे।  जनतालाई थाहा हुन्थेन। थाहा हुन्थ्यो त दुई/चारजना टाठाबाठालाई। त्यसैले स्थानीय सरकार बनेदेखि हरेक विषयमा स्थानीयलाई सहज भएको छ।

योजना छनोट र बजेट वितरणमा स्थानीयको सहभागिता कस्तो छ?

सहभागिता नहुने त कुरै छैन। किनभने  स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले योजना छनोट तथा वितरण गर्दा स्थानीयको आमभेलाबाट गर्नुपर्ने व्यवस्था गरेको छ। त्यसैले गाउँस्तरमा योजना छनोट गर्नुपूर्व गाउँमा के समस्या छ? त्यो त जनताबाट आउनुपर्‍यो नि! त्यसैले योजना छनोट तथा वितरण स्थानीयको भेलाबाट हुने गरेको छ। छनोट भएर आएका योजनालाई विशेष प्राथमिकताका साथ हामीले स्थान दिएका छौँ।

तर सीमित स्रोत र बजेटले स्थानीयले अझै भने जस्तो योजना पाउन सकिरहेको अवस्था भने छैन। जस्तो कुनै गाउँमा बाक्लो बस्ती छ। खानेपानी छैन। त्यहाँ खानेपानी ल्याउन करोडौँ रुपैयाँ लगानी आवश्यक छ। त्यसका लागि स्थानीय सरकारको बजेट मात्र पर्याप्त हुँदैन। प्रदेश र केन्द्र सरकारलाई गुहार्नुपर्छ। त्यसैले सीमित बजेट भएकाले अझै जनताको चाहेअनुसारको विकास भएको छैन।

स्थानीय सरकारले निर्माण गर्नुपर्ने कानुनबारे के छ?

छायानाथ रारा नगरपालिकाभित्र चाहिने सबै कानुन बनाइसकेका छौँ। नयाँनयाँ कार्यक्रम तय गर्दा आवश्यक पर्ने कानुनको कार्यविधि तयार पार्ने गरेका छौँ ५० वटा ऐन नियमावली राजपत्रमा प्रकाशन गरी पास भएर कार्यन्वयनमा आएका छन्।

तपाईंको नगरमा काम गर्दाका मुख्‍य चुनौती के के हुन्?

चुनौतीहरू थुप्रै छन्। संघीय सरकारले कर्मचारी व्‍यवस्थापन गर्न सकेको छैन। भोगौलिकरूपमा विकटता छ। यातायातको सहज पुहँच छैन, जनचेनाको अभाव छ , राजनीतिक खिचातानी छ। त्यसका बाबुजद कार्यसम्पादनमा लागिपरेका छौँ।

७७ जना कर्मचारी दरबन्दी रहेको नगरपालिकामा  ३,४ जना कर्मचारी मात्र छन्। समायोजन भई आउने कर्मचारी आएका छैन कर्मचारी माग गर्दा सुनुवाइ भएको छैन। नगरपालिकामा उपसचिवको दरबन्दी भए पनि खाली खाली छ,शिक्षामा पनि त्यस्तै छ। भौगोलिक विकटता छ। बजेट कम छ। यातायातको सहज पहुँच छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.