आहा ! नाम सुन्दै पनि मनमा आनन्द आउने। मुस्ताङ, मुक्तिनाथ, कागबेनी, रुप्से झरना आदि आदि। त्यो ठाउँमा पुग्न पाए कस्तो हुन्थ्यो होला? वर्षौंदेखि यस्तै तर्कना खेलिरहेका थिए मनमा। पूरै नेपाल घुमे पनि त्यहाँ जान पाइएन भने त यात्रा अधुरै रहन्छ जस्तो। आखिर समयले कोल्टे फेर्दोरहेछ। निकै समय कुरेपछि वैशाखको अन्तिम हप्ता त्यो अवसर जुर्यो।
कृषि मन्त्रालयअन्तर्गतको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाद्वारा सञ्चालिन कृषिका जोन, सुपरजोन तथा फार्महरूको अवलोनका लागि पत्रकारहरुको टोलीलाई घुमाउनुपर्ने। रोजाइ मेरो थियो। त्यसैले अरूको पनि मेरोजस्तै चाहना बुझेर तनहुँदेखि मुस्ताङसम्मको अवलोकनस्थल तय भयो।
मेरो घुमाइको ७५ जिल्ला भएकाले पनि मुस्ताङ मेरो लागि खास थियो। त्यसैले १५ जना पत्रकार काठमाडौंबाट, एकजना पोखरा र अर्को पर्वतबाट गरी १७ जनाको टोली वैशाख २२ गतेदेखि एक हप्ताको अवलोकन भ्रमणमा निस्क्यो।
लामो समयको अनुभवले होला, पत्रकारसँगको भ्रमण अलिक विशेष लाग्छ। समाचारको तिर्खा एउटै हुन्छ, छटपटी एउटै हुन्छ, भावना मिल्छ। यात्रा सधैँ सोचेजस्तो पनि त हुँदैन। तर, त्यसलाई मनन गर्ने र बुझ्ने तरिका एउटै हुन्छ। सायद मेरो जस्तै अरूको पनि। त्यसैले छुट्टै उमंग र उत्साह थियो यात्रामा।
यात्रामा पात्र फरक भए भने त्यसको मज्जा कतिसम्म हुन्छ भन्ने यसपटक झनै धेरै पुष्टि भयो। अर्जुनले प्युठानको भाषा सिकाउँदा मदनले गुल्मीको धाक लगाउने। हामीले नेपालीमा कुरा गर्दा अर्पणाले अंग्रेजीमा उडाइदिने।
खासै नबोल्ने तर बोलेपछि बसका सबैलाई पेट मिच्न बाध्य बनाउने यज्ञ बन्जाडे कति हँसिला रहेछन् भन्ने यहीँ यात्रामा बुझ्न पाइयो। दुईजना सुजाताको गीत र गजलको रफ्तार, बहिनीको पनि भाई बनेको आशिष, सबैको अभिभावक राधा, खुल्न समय लाग्ने अजित, भलाद्मी पाराका छवि र विमल अनि गोपाल र अनुजाले यात्राको रमाइलोमा भारीका भारी इँटा थपिरहे।
अलि रमाइलो ठाउँ देख्यो कि खुरुरुरु कुदेर सेल्फी हान्ने फेसनबाट यो यात्रालाई पनि छाडेन। हामीले घोषणा गरेको अफिसियल फोटोग्राफर किरणले मात्रै यो सात दिनको यात्रामा १५ सयभन्दा धेरै फोटा खिच्न भ्याएछन् ।
सम्भवतः नेपालकै अग्लो स्थानमा बनेका मोदी खोला झोलुङ्गे पुल र पर्वतको कुस्मा र बाग्लुङको फलेवास जोड्ने कालिगण्डकी माथिको पुल, त्यो हरियाली, ती डाँडाकाडा, त्यहाँको प्राकृतिक सुन्दरता साँच्चिकै धेरैका लागि आनन्दित थियो।
साँझ पर्न लागेको बेला कालिगण्डकीको बगरमा चिसो हावामा शीला खोज्दा केही साथी पानीमा डुबे, कसैको मोबाइल बगायो। मोबाइलभन्दा फोटोको पीर थियो। तर, बाग्लुङ, बेनीका ती पहाडका खोच छिचोल्दै हिमालका चुचुरासम्म पुग्दा तलको थकान, पीडा सबै मेटिसकेका थिए।
मुस्ताङको घाँसा पुग्दानपुग्दै चिसो सिरेटोले मजैले स्पर्श गर्न थालिसकेको थियो। यात्रा जतिजति उत्तरतिर बढ्दै थियो, चिसो सिरेटोको दर पनि उही हिसाबमा बढिरहेको थियो। तर, काठमाडौं बसेर सोचेजस्तो धेरै होइन।
गन्तव्य नजिकिँदै गर्दा हामीले धौलागिरि, अन्नपूर्णलगायत हिमाललाई दक्षिणतिरै छोडिसकेका थियौं। कच्ची सडकमा एकनासले बसभित्र उफ्रिँदै थच्चारिँदै चिसो मौसमको सुरुवात अनि ढल्किँदै गरेको दिन र खाल्डाखुल्डी तथा ढुंगे बाटोबाट उत्तरतर्फको यात्रा मुस्ताङको मार्फामा पुगेर टुंगियो।
उपयुक्त मौसम भएकाले पनि होला मुक्तिनाथमा धेरै पर्यटक पुग्दै छन् भन्ने अनुमान हामीले म्याग्दीको गलेश्वरबाट मुस्ताङतिर हुइँकिएका सवारीको दरबाटै गरिसकेका थियौं।
म्याग्दीको गलेश्वरबाट उकालो लागेपछि कालीगण्डकीको तिरैतिरको यात्रा, लस्करै मिलेर बसेजस्ता देखिने डाँडाकाँडा र तिनै डाँडाबाट सुसाउँदै झरेका झरनाले मन थप प्रफुलित बनाइरह्यो।
म्याग्दीको बेनीदेखि मुस्ताङको जोमसोमसम्मको दूरी ७१ किलोमिटर मात्र हो। तर, कालोपत्रे नहुँदा समय धेरै र जोखिम पनि उत्तिकै। नेपाली सेनाले ८ वर्ष लगाएर २०६४ मा ट्रयाक खोलेको बेनी–जोमसोम सडक छिनछिनमा झर्ने पहिरो, निरन्तर बगिरहने झरना र पानीले बेलाबेला दुःख दिने गरेको छ। यो सडकमा कागबेनीदेखि मुक्तिनाथसम्मको झण्डै १२ किलोमिटर मात्र बाटो कालोपत्रे गरिएको छ। जसले मुक्तिनाथसम्मको उकालोलाई सहज बनाइदिएको छ।
सांस्कृतिक र धार्मिक मात्रै होइन, व्यापारिक दृष्टिले पनि यो सडकको महत्त्व झनै छ। भारत र चीन जोड्ने सबैभन्दा छोटो दूरीको कालीगण्डकी करिडोरअन्तर्गत पर्ने यो सडकको स्तरवृद्धि अत्यन्तै अपरिहार्य महसुस भयो।
तर, प्राकृतिक तातोपानी कुण्ड, संसारकै सबैभन्दा गहिरो कालीगण्डकीको गल्छी, रुप्से झरना, स्थानीय थकाली खाना, स्याउको सुकुटी र मार्फाले सबै दुःख पीडा बिर्साइदिँदो रहेछ। तातोपानी जलकुण्डमा स्नान गरेमा चर्म रोग, बाथ तथा शरीर झमझमाउने रोगहरु निको हुने विश्वासलाई हामीले पनि नकार्न सकेनौँ।
मार्फाबाट जोमसोम हुँदै मुक्तिनाथ
हामी मार्फाबाट जोमसोम हुँदै बिहानै मुक्तिनाथ मन्दिरतिर उक्लियौं। बजारबाट झण्डै २०/२५ मिनेट हिँडेपछि मन्दिरको गेटमा पुगिन्छ। दुईतिर विशाल नांगा पहाडले पहरा दिइरहेको जस्तो लाग्ने मुक्तिनाथ मन्दिरसम्म पुग्दा वर्षौदेखि तस्वीरमा देख्दै आएको मुक्तिनाथको सपना साकार भएको छ। तर, त्यहाँसम्म्म पुग्दा भोगेका सुख दुःखका अनुभूति मस्तिस्कबाट सायदै मेटिनेछन्।
वरिपरिबाट हिमालले चुम्बन गरिरहेको भएपछि बिहानको पारिलो घामले चिटचिट पसिना निकालिदियो। मौसममा सफा थियो। हामीले घाम ताप्दै धित मरुन्जेल धौलागिरी हिमशृङ्खलालाई नियालीरह्यौं र क्यामेरामा कैद गर्यो।
मुस्ताङको सदरमुकाम जोमसोम समुद्री सतहबाट २७०० मिटरभन्दा माथिको उचाइमा छ। कालीगण्डकी किनारमा अवस्थित यस बजारको उत्तरतिर अग्लाअग्ला नाङ्गा पहाड छन् भने पारिपट्टि आँखै तिर्मिर हुने गरी टल्कने धौलागिरि हिमशृंखला।
जोमसोम बजार उजाड भए पनि धौलागिरि हिमशृंखलाले जोमसोमको सुन्दरतामा निखारता ल्याइदिएको छ। र उत्कट चाहना छ ७६ र ७७औं जिल्ला घुम्दाको अनुभव छिट्टै पोख्न पाउने।
तपाईंको ईमेल गोप्य राखिनेछ ।