पीडितमाथि नै थपियो पीडा

|

  •   विष्णुकुमार आले-

अर्घाखाँची : अहिले अर्घाखाँचीको शीतगंगाको अधिकांश जंगलमा आगलागी भइरहेको छ। वडा नम्बर १२ को खल्याखर्क, खुम्चीकोट, जयकोट, पिरापानी, देउराली, कोठियामैदान लगायतका सामुदायिक तथा राष्ट्रिय वनमा भीषण आगलागी भइरहेको हो। आगो गाउँमा पस्ने डरले स्थानियवासी रातभर जाग्राम बसी आगो नियन्त्रण गर्ने प्रयास गरिरहेका छन्।

केही दिनयता जिल्लाका विभिन्न स्थानमा आगलागी हुँदा ११ घर १४ गोठ जलेर नष्ट भएका छन्। जिल्लाको भूमिकास्थान नगरपालिकाको असुरकोट र नुवाकोट क्षेत्रको काभ्रे जंगलबाट आएको आगोले नगरको वडा नम्बर ६ का ओमबहादुर नेपाली, कर्णबहादुर नेपाली, जीवन बहादुर नेपाली, तारा बहादुर नेपाली , वडा नम्बर ५ का राम बहादुर रायमाझी ,छबिलाल बिक, चन्द्र बहादुर बिक, वडा नम्बर ६ खाबाकोटका ईन्द्र बहादुर बस्नेत, शिब बहादुर बस्नेत , प्रेम बहादुर बिक र मालारानी ६ साकीनधाराका जीबमान भलामीको घरगोठ जलेर पुर्ण रुपमा नष्ट भएको सहायक प्रमुख जिल्ला अधिकारी विष्णुराज बेल्बासेले बताए।

 जिल्ला प्रशासनको राहत

प्रतिघरधुरी परिवारलाई तत्कालका लागि प्रकृति हेरेर पाँचदेखि  १० हजार नगद जिल्ला प्रशासनको कार्यालयबाट राहत दिइने प्रजिअ बेलबासेले बताए। जताततै आगलागी भइरहेका कारण नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय परिचालन भएर आगो निभाउने प्रयास भइरहे पनि पूर्णरूपमा  नियन्त्रण गर्न निकै कठिन भइरहेको  प्रजिअ बेल्बासेले बताए।

स्थानीयमा आगो आउने पीर

जंगलमा लागेको आगो पूर्णरूपमा नियन्त्रणमा नआउँदा बस्तीमा आगो फैलिने डरले स्थानीय रातभर निदाउन सकेका छैनन्। 'रातभर जंगलबाट गाउँमा आएको आगो निभाउन तल्लिन भयौं हेर्दाहेर्दै आगोले आठ घरगोठ सखाप पार्‍यो' भूमिकास्थान नगर प्रमुख रेशम थापाले दुखेसो सुनाए।

काभ्रे वनमा लागेको आगो अझै पूर्णरूपमा नियन्त्रणमा आउन नसकेको र कतिबेला कताबाट घरमा आगो सल्किने हो भन्ने त्रास नगरवासीमा रहेको नगर प्रमुख थापाको भनाइ छ।

नगरको राहत

आगलागी पीडितका लागि नगरपालिकाले आधारभूत सामग्रीहरू सहयोग गरेको छ। नगर प्रमुख थापाका अनुसार प्रतिघर परिवार रु ५ हजार ३० किलो चामल, दाल, तेल, नुन, त्रिपाल वितरण गरिएको हो। पीडितलाई थप राहतका लागि प्रदेश सरकारसँग अनुरोध गर्ने र प्रदेश सरकारले प्रतिपीडित घर घरपरिवारलाई रु ४० हजारबराबरको जस्तापाता राहत उपलब्ध गराउने नगर प्रमुख थापाले बताए। शीतगंगा नगरपालिकाले पनि अग्निपीडितलाई राहत वितरण गरेको छ। यस नगरपालिकाले प्रतिघर पीडित परिवारलाई ९० किलो चामल, दाल, तेल, आलु, त्रिपाल र नुन वितरण गरेको छ।

पीडितमाथि नै थपियो पीडा

काभ्रे वनबाट गाउँमा आगो आयो भनेर गुहार माग्दामाग्दै घर गोठसहित खोरमा भएका १४ बाख्रा एउटा गोरु पनि आगलागीमा परेको भूमिकास्थान नगरपालिका-६ बरवासका अग्निपीडित जीवनबहादुर नेपालीले दु:खेसो पोखे।

उनले भने, 'दुईचार पैसा आउने स्रोत यिनै बाख्रा थिए, आगलागीले त्यो पनि नष्ट भएपछि आयस्रोत आउने अरू कुनै उपाय छैन अब कसरी बाँच्ने?' शीतगंगा नगरपालिका-८ फुर्केसल्लिका बुमबहादुर बिटालु, धनबहादुर बिटालु र वीरबहादुर बिटालुको अवस्था पनि उस्तै छ। उनीहरूको १४ जनाको परिवार अहिले त्रिपालमुनि रात बिताइरहेका छन्।

'वर्ष दिनलाई जोहो गरेको अन्नपात पनि आगोले खायो, वरपर छिमेकीले सहयोग गरेको अन्नले कतिदिन धान्ने?' अग्निपीडित बुमबहादुरले भने, 'वडा र नगरले ९० किलो चामल दाल र तेल दिएको थियो त्यो पनि सकिन थाल्यो। दिनरात त्रिपालको बसाइँले कसरी जीविका गर्ने हो।' साना नानीहरु पनि हावाहुरी बतासका कारण बिरामी भएको उनको भनाइ छ।

शीतगंगा नगर प्रमुख सूर्यप्रसाद अधिकारीले जस्तापाता र घर बनाउन सहुलियत काठको व्‍यवस्था गरिदिने बताए पनि बर्खाअघि ओत लाग्ने ठाँउ कसरी बनाउने भन्ने चिन्तामा छन् अग्निपीडित।

आगलागीबाट ६ हजार हेक्टर वन नष्ट

८० प्रतिशतभन्दा बढी जंगल रहेको शीतगंगाको ठाडा, जुकेना, जलुके, सिद्धारा लगायतका अधिकांश जंगल गत ३, ४ दिन अघि आगोले सखाप पारिसकेको छ। गर्मीयाम सुरु भएयता आगोले जिल्लाको ६ हजार बढी हेक्टर जंगल आगोले नष्ट गरेको डिभिजन वन कार्यालय अर्घाखाँचीले जनाएको छ। बर्सेनि आगलागीका कारण कैयौँ नागरिक घरवारविहीन हुन पुगेका छन्। भूमिकास्थान नगरपालिकाका ८ घरपरिवार अग्निपीडित यतिबेला छिमेकी आफन्तको घरमा बस्दै आएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.