'ट्रयाक टायल' मा बिजुलीका खम्बा, सवारीसाधन पार्किङ गर्ने थलो

|

काठमाडौं : दृष्टिविहीन मोहनबहादुर विश्वकर्मा दैनिक भक्तपुरबाट भृकुटीमण्डप आउँछन्। नेत्रहीन संघको कार्यालयमा कार्यरत उनलाई भृकुटीमण्डपसम्म पुग्नका लागि ठाउँ–ठाउँमा बाटो काट्नु पर्छ।

उनलाई बाटो 'क्रस' गर्न असाध्यै डर लाग्छ। किनकि उपत्यकाका सडक दृष्टिविहीनमैत्री छैन। त्यसमाथि सवारी चालकले पनि उनीहरूलाई हेप्छन्। देखे नदेखेझैँ गरेर तीव्र गतिमा सवारी हाँक्ने गर्छन्।

वेलावेलामा काठमाडौंको मुख्य सडकको जेब्रा क्रसिङमा दुर्घटना भइरहन्छ। सामान्य नागरिक नै सुरक्षित छैन भने दृष्टिविहीन के सुरक्षित होलान्! सडक पार गर्न नै आफ्नो मुख्य समस्या भएको बताउँछन् विश्वकर्मा। दृष्टिविहीनकै लागि भनेर ठाउँठाउँमा 'ट्रयाक टायल' बनाइएका छन्। तर ती पनि उक्किसकेका छन्।

उपत्यकामा मात्र चार हजार हाराहारीमा दृष्टिविहीन छन्। दैनिक १०० को हाराहारीमा भृकुटीमण्डपको नेत्रहीन संघको कार्यालयमा आउने गर्छन्। विश्वकर्मा दुखेसो पोख्छन् 'काठमाडौं उपत्यकाका कुनै पनि सडक दृष्टिविहीनमैत्री नभएका कारण हामीहरूलाई समस्या भइरहेको छ।'

अर्का दृष्टिविहीन सोम दुलाल कीर्तिपुर बस्छन्। पेशाले उनी शिक्षक हुन्। उनी हाल एलएलबी अध्ययन गरिरहेको छन्। सोम दैनिक भृकुटीमण्डप आउँछन्। जान्छन्। सडक पार गर्दा उनको पनि मोहनजस्तै हालत हुन्छ। उनले भने, 'सडक पेटीमा बिजुलीको पोल भएको कारणले ट्रयाक टायलमा हिँड्न पनि गाह्रो छ।'

काठमाडौंका सडक दृष्टिविहीनका लागि सुरक्षित छैनन्। उपत्यकाको सडकमा लाखौँ मानिस र सवारी साधन गुड्छन्। तर,भरपर्दो सडक बन्न नसक्दा दृष्टिविहीनले सास्ती भोगिरहेका छन्। जेब्रा क्रसिङमा पनि सवारी साधन तीव्र गतिमा आउँछन्। दृष्टिविहीनको सेतो छडी देख्दासमेत सवारी साधनको गति कम नगर्ने दुलालको गुनासो छ।

सडकमा बाटो काट्न'भ्वाइस बेल' उपकरण राख्ने हो भने आफूजस्ता व्यक्तिहरूलाई सहज हुने भनाइ छ माेहनबहादुरको। 'जेब्रा क्रसिङबाट बाटो काट्न लागि ट्राफिक लाइटसँग आवाज दिने उपकरण हुनुपर्छ', उनी भन्छन्, 'आवाज आएपछि बाटो काट्ने समय भयो भनेर बुझ्न सक्छौँ। अन्यथा अरूको सहायता लिनु पर्छ। सधैँ त्यो सम्भव पनि हुँदैन।'

जेब्राक्रसिङमा बाटो काट्दै सोम दुलाल


'सडकमा दृष्टिविहीनको लागि छुटै उपकरणको व्यवस्था हुनुपर्ने दुलाल पनि बताउँछन्। राज्यले दृष्टिविहीन नागरिकको लागि छुट्टै सेवाको व्यवस्था गर्नुपर्ने उनको भनाइ छ।

'ट्रयाक टायल'मा नै सवारी पार्किङ गरेर आवतजावत गर्न असहज भएको मोहनबहादुरले बताए। उनको बुझाइमा सरकारले बेवास्ताका कारण दृष्टिविहीनलाई आवतजावत गर्न कठिन भएको छ। 'सरकारले अशक्त नागरिकलाई मध्यनजर गर्दै संरचना निर्माण गर्नुपर्छ' उनले भने, 'सम्बन्धित निकायले सरोकारवाला पक्षसँग एकपटक छलफल गरेर संरचना निर्माण गर्नुपर्छ।'

सडक विभागले पनि सडकमा यात्रा गर्ने दृष्टिविहीन नागरिकका लागि भनेर नयाँ संरचना निर्माण गरेको छैन। उपत्यकाको कतिपय स्थानमा ट्राफिक बत्तीसमेत छैनन्। दृष्टिविहीनको लागि नै भनेर नयाँ योजनासहितको काम नभएको सडक सुरक्षा तथा ट्राफिक शाखाका इन्जिनियर दीप बाराही स्वीकार गर्छन्। संवेदनशील कुरामा सडक विभाग, नेपाल सरकार र सरोकारवाला निकायसँग छलफल गरेर निर्माण गर्ने उनी बताउँछन्।

बिजुलीको पोल र पैदल यात्रुहरूका बीचबाट सकसपूर्ण तरिकाले हिँदै दृष्टिविहीन


नयाँ ट्राफिक बत्ती राख्ने ठाउँमा नै आवाज दिन मिल्ने उपकरण जडान गरिने छ' उनी भन्छन्, 'हाल ट्राफिक बत्ती भएको ठाउँमा भने त्यस्तो कुनै पनि उपकरण जडान गरिएको छैन।'

उनले उपत्यकाका केही स्थानमा दृष्टिविहीनहरूलाई मध्यनजर गर्दै आवाज दिने उपकरण जडान गर्ने योजना रहेको बताए। उपकरण जडान गर्नुपूर्व सरोकारवाला पक्षहरूसँग छलफल गरिने उनको भनाइ छ।

सडकमा दृष्टिविहीनहरूलाई निकै कठिन छ। दृष्टिविहीनको सहजताका लागि नै भनेर सडक निर्माण नगरेको महानगरीय ट्राफिक महाशाखाको प्रवक्ता जयराज सापकोटा पनि स्वीकार गर्छन्। 'ट्राफिकको काम भनेको सवारीलाई आवागमनको लागि सहज गरिदिने हो' उनले भने,' दृष्टविहीनका लागि नै भनेर नै त केही पनि राखिएको छैन। यसको लागि सरकारी तबरबाट नै योजना निर्माण हुनुपर्छ।'

'सडकमा आएका दृष्टिविहीनहरूलाई पहिलो प्राथमिकता दिन्छौँ,' उनी अगाडि थप्छन्,' कतिपय अवस्थामा हातमा समातेर पनि बाटो पार गरेका छौँ।' यस्तो काम कतिपय अवस्थामा ट्राफिक प्रहरीले गरिरहेको उनी बताउँछन्। उनले भने, 'हाम्रो हातमा केही छैन तर, परिआएको खण्डमा मानवताको नाताले धेरै नै काम गरेका छौँ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.