|

उदयपुर : भू-माफियाले सर्वसाधरण लगाएर बनाएको घर टहरा प्रहरीले भत्काएको छ। मंगलबार दिउँसो उदयपुर सिमेन्ट उद्योग लिमिटेडको खाली जग्गामा भूमाफियाले सर्वसाधरण प्रयोग गरी बनाएका घरटहरा प्रहरीले भत्काएको हो।

त्रियुगा नगरपालिका ६ स्थित सगरमाथा लोकमार्गअन्तर्गत जलजले आसपासमा रहेको उद्योग लिमिटेडको जग्गा अतिक्रमण गरी बनाइएको घरटहर प्रहरीले भत्काएको छ। वर्षौंदेखि संरक्षणमा रहेको उदयपुर सिमेन्टको जग्गामा पनि भू-माफियाको नजरमा प्रष्ट देखिन्छ।

देशभर सरकारी, पर्ती, ऐलानी जग्गा भू-माफियाको चपेटामा परेको बेला उद्योगको जग्गा पनि अछुतो बन्न नसकेन जिल्ला प्रशासन कार्यालय उदयपुरका सहायक प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले बताए। ‘उद्योगबाट सरकारी जग्गा अतिक्रमणको चपेटमा परेको निवेदन आयो,’ उनले भने, ‘तत्कालै प्रहरी लगाएर भत्काएका छौँ, सर्वसाधरण प्रयोग गरेर घरटहरा बनाइएको जानकारी आयो।’

कसले घर टहरा बनाउन लगायो?

भत्काउन पुगेको प्रहरीलाई घर टहरा बनाएका स्थानीयले प्रहरीले नै बनाउन लगाएर भत्काइदिएको आरोप लगाए। स्थानीय लिला विकले बनाउन लगाएर भत्काएको भन्दै एकोहोरो प्रहरीलाई गाली गरिन। ‘हिजो रातोमाटो ल्याएर लिप भन्ने,’ उनले भनिन्, ‘आज आएर भत्काउने पनि प्रहरी नै?’ खाली जग्गामा त बनाएका हो।’

उद्योगकले सर्वसाधरणको नाममा जग्गा दिने भएपछि सर्वसाधरणले घरटहरा बनाएको अर्का स्थानीय विनोद मोतेले बताउँछन्। ‘दुई दिनदेखि एकाएक घर टहरा बने,’ उनले भने, ‘कसले किन, के लागि बनाउन लगाएको हो, थाहा छैन, हामी सबैले प्रहरीलाई बोलाएर भत्काउन लगाएका हौँ।’

करिव ३ देखि ४ विगाहामा सर्वसाधरणले किला गाडेर भाग लगाएका थिए। उनीहरूले बाँसको घेराबेरा गरी घरटहरा बनाएका थिए। ‘कसले बनाएको हामीलाई भन, हामी भत्काउँदैनौं भन्यौँ,’ बोल्न मिल्दैन भन्दै एक प्रहरीले असईले अभुव साट्दै भने, ‘यहाँ जग्गा कब्जा गर्नेहरूले हामीलाई समेत कसले बनाउन लगाएको भन्न मानेन्, हामीलाई गाली गरिरहे। उद्योगको जग्गामा किला गाडेर भाग लगाइएको थियो भने, कतै बाँसका घर टहरा निर्माण गरिएको थियो।'

भू-माफिया पत्ता लगाउँछौँ : उद्योग

सर्वसाधरणले बनाएका घर टहरा भत्काउन उदयपुर सिमेन्टले जिल्ला प्रशासनै गुर्हानु परेको उद्योगका नायब महाप्रबन्ध महेश काफ्लेले बताए। ‘वर्षौदेखि संरक्षणमा रहेको उद्योगको जग्गामा  एकाएक घरहरू बन्न थाले,’ उनले भने, ‘हामीले आफैँ गएर भत्काउने अवस्था रहेन, अनि प्रहरीलाई गुर्हान जिल्ला प्रशासन कार्यालय पुग्नु पर्‍यो।’

दुई दिनअघि वर्षौंदेखि खाली रहेको उद्योगको जग्गामा एक्कासी घर टहरा कसले बनाउन लगाएको प्रहरी प्रशासन लगाएर पत्ता लगाउने तयारी भइरहेको उद्योगका निमित्त महाप्रबन्ध नवलकिशोर साहले बताए। ‘घर टहरा बनाउनु कसले लगाएको हो,’ उनले भने, ‘त्यो पत्ता लगाउँछौँ, अनुसन्धानमै छौँ, वर्षौंदेखि संरक्षणमा रहेको सकारी जग्गामा घर बनाउन सर्वसाधरणलाई उक्साउने कोही छ?’

अतिक्रमण परेका सरकारी जग्गाको खोजी गछौँ : सहायक प्रजिअ

यहाँका सिमेन्ट उद्योगको सरकारी जग्गा मात्र अतिक्रमणको चपेटामा परेको छैन। खोला, वन, गुटी लगायतका ऐलानी, पर्ति जग्गा अतिक्रमणको चपेटामा परेका छन्। सहायक प्रमुख जिल्ला अधिकारी भट्टराईले अतिक्रमणमा परेका जग्गाको खोजी गर्दै जाने बताए। ‘उदयपुरमा कुनै प्रकारका सरकारी जग्गा अतिक्रमण हुन दिँदैनौ,’ उनले भने, ‘जहाँबाट गुनासो आउँछ, त्यसको खोजी गर्दै जानेछौँ।’

वर्षौदेखि संरक्षणमा रहेका उद्योग कारखानाका जग्गासमेत अतिक्रमण पर्नु थाल्नु गम्भीर विषय बनेको छ। झण्डै ३/४ विगाहामा बनेका घरटहरा र स्थानीय किला गाडेर भाग लगाएका किला उखालिएको छ। कसले, किन, सर्वसाधरण लगाएर जग्गा अतिक्रमण गरिरहेको छ, त्यसको खोजी गर्न उद्योग र प्रशासन कार्यालय गम्भिर भएको प्रशासन कार्यालयको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.