|

वासिङ्गटन : अमेरिका र इरानबीचको तनाव उच्च बिन्दुमा पुगेको छ । इरानमाथि कडा आर्थिक प्रतिबन्ध लगाएपछि अब सैन्य दबाब दिन अमेरिकाले मध्यपूर्वमा आफ्ना एक लाख २० हजार सैनिक उतार्ने भएको छ। 

साउदीका २ वटा तेल बोकेका जहाज ध्वस्त बनाएको केही दिनमै अमेरिकाले यस्तो कदम चाल्ने निर्णय नजिक पुगेको हो। गत बिहीबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शीर्ष राष्ट्रिय सुरक्षा सल्लाहकारसँगको बैठकमा आफ्नो सैन्य योजना पेश गरेका छन्। 

प्रशासनिक अधिकारीका अनुसार यदि इरानले अमेरिकी सेनामाथि हमलाको कोशिश गरेमा या आफ्नो परमाणु कार्यक्रम अघि बढाएमा जवाफ दिने पुरा तयारीका लागि यति धेरै संख्यामा सेना उतार्न लागिएको हो ।

ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले यो सैन्य योजना पेश गरेका हुन्। इरानलाई लिएर अमेरिकी सैनिकको योजनामा पुरै परिवर्तन आएको छ। यही परिवर्तनकै नतिजा अमेरिकाले लाखौँ सैनिक मध्यपूर्वमा उतार्ने भएको हो । बोल्टनले सुरुबाटै तेहरानसँग युद्ध गर्नुपर्ने मत राख्दै आएका छन्।

अमेरिकाले सिरिया र अफगानिस्ताबाट आफ्ना सैनिक फिर्ता गरिरहेका बेला इरानलाई लक्षित गरी ठुलो संख्यामा सैनिक उतार्ने निर्णय गरेको हो। मध्य पूर्वी एसियामा यति धेरै संख्यामा अमेरिकी सैनिक उतार्ने निर्णयले पुरै विश्व चकित भएको छ।

हिजो सोमवार ट्रम्पलाई इरामा सत्ता परिवर्तन गर्न चाहेकोबारे सोधिएको प्रश्नमा उनले घुमाउरो उत्तर दिए ।  'हेरौँ इरासँग के हुन्छ ? यदि इराले केही गडबड गर्‍यो भने यो त ठुलो गल्ती भइजान्छ।'

केही वरिष्ठ अमेरिकी अधिकारीका अनुसार अहिले सैन्य योजना सुरुवाती अवस्थामा छ। तर अमेरिकाको यो कदमले इरान उसका लागि धेरै ठुलो खतरा भइसकेको आँकलन गरिएको छ। 

केही विश्लेषकहरुले भने  अमेरिकाले यो कदम इरानलाई तर्साउन उठाएको बताएका छन्। यति धेरै ठुलो फौज मध्यपूर्वमा उतार्ने अमेरिकी निर्णयले ट्रम्पकै सुरक्षा सदस्य पनि चकित भएका छन्। एक लाख २० हजार सैनिक अमेरिकाले यसअघि सन् २००३ मा इराक हमलाका क्रममा उतारेको थियो।

वायु सेना, थल सेना र नौसेनाको यति ठुलो संख्यामा मध्यपूर्वमा तैनाथीलाई तेहरानमाथिको हमलाको तयारीका रुपमा विश्लेषकहरुले अनुमान गरेका छन्। यसका अलावा मध्य-पूर्व एसियादेखि अमेरिकी सेनाको फिर्ताी प्रक्रिया उल्टो दिशामा फर्किन सक्नेछ। सन् २०११ मा पूर्व राष्ट्रपति बाराक ओबामाको कार्यकालमा इराकबाट सेना हटाउन थालिएको थियो।

तर पनि अमेरिकी राष्ट्रिय सुरक्षा अधिकारीले भने ट्रम्पले तेहरानका केही नेताहरुलाई आफू युद्धको पक्षमा नरहेको भनेर विश्वस्त बनाएको बताएका छन्। सोमवार युएईको समुद्री तटमा तेल बोकेका दुई जहाजमा आक्रमण भएको थियो। फारसको खाडीको समुद्री यातायात संघर्षको अघिल्लो क्षेत्र बन्‍ने अनुमान गरिएको छ। ट्रम्पले यसबारेमा उत्तर दिँदै भनेका छन्, 'यदि कुनै गडबड भयो भने इरानका लागि धेरै ठुलो संकटको अवस्था आउनेछ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.