|

काठमाडौं : अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को वरिष्ठ उपाध्यक्षमा पंकज विक्रम नेम्वाङ सर्वसम्मत चयन भएका छन्। 

एन्फा कार्यसमितिको मंगलबार बसेको बैठकले वरिष्ठ उपाध्यक्षमा उनलाई सर्वसम्मत चयन गरेको हो। केन्द्रीय कार्यसमितिको निर्वाचन भएको एक वर्षपछि एन्फाले वरिष्ठ उपाध्यक्ष पाएको छ। 

एन्फा विधानअनुसार चार उपाध्यक्षमध्ये एक वरिष्ठ तोक्ने प्रावधानअनुसार नेम्वाङ चुनिएका हुन्। वरिष्ठ उपाध्यक्षमा नेम्वाङसहित वीरबहादुर खड्काले दाबी पेश गरेका थियो तर बहुमतका आधारमा उनलाई वरिष्ठ उपाध्यक्ष नियुक्त गरेको हो। एन्फाले नेम्वाङलाई वरिष्ठ उपाध्यक्ष नियुक्त गरेपनि विवादरहित भने हुन सकेन।

उनलाई वरिष्ठ उपाध्यक्ष नियुक्त गर्ने भएपछि अर्का आकांक्षी वीरबहादुर खड्कासहित दुई केन्द्रीय सदस्य पूर्णमान श्रेष्ठ र रत्न श्रेष्ठले बैठक बहिस्कार गरेका थिए। त्यसैगरी बैठकले यसै वर्षबाट जिल्ला लिग, प्रदेश लिग र एन्फा फ्रेसिडेन्ट लिगको नियमावली अनुमोदन गर्नुका साथै आगामी वर्षबाट राष्ट्रिय लिगसमेत सञ्चालन गर्ने निर्णय गरेको छ।

बैठकले भौतिक पूर्वाधार मर्मतसम्भार तथा निर्माण गर्न सङ्घका सदस्य, ४५ जिल्ला फुटबल सङ्घ तथा ए, बी र सी डिभिजन क्लबमा सम्भाव्यता अध्ययन गरी आगामी वर्ष कम्तिमा १० स्थानमा एकै पटक भौतिक पूर्वाधार मैदान निर्माण गर्ने निर्णय गरेको छ। यस्तै बैठकले प्रदेशस्तरीय कार्यक्रम सञ्चालन गर्न महासचिवको सहयोगीका रुपमा सातै प्रदेशमा संयोजक तोकेको छ।

प्रदेश नं १ मा सहायक महासचिव वसन्त अर्याल, प्रदेश नं २ मा सहायक महासचिव मोहम्मद समिउल्लाह, प्रदेश नं ३ मा मोहनकुमार बस्नेत, गण्डकी प्रदेशमा सहायक महासविच विश्व पौडेल, प्रदेश नं ५ मा सहायक महासचिव प्रकाश पंगेनी, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा प्रकाश विष्ट तथा केन्द्रीयस्तरको कार्यक्रमका लागि अरुणमान जोशीलाई जिम्मा दिइएको छ। बैठकले विसं २०७६ देखि सञ्चालनमा हुने एन्फा एकेडेमी बुटवल र धरानमा युवा खेलाडी समान २५–२५ जनालाई छनोट गरी प्रशिक्षण प्रदान गर्ने निर्णय गरेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.