|
File Photo

डोल्पा : हिमाली जिल्ला डोल्पामा पुनः टेलिफोन सेवा अवरुद्ध भएको छ। तीन दिनसम्म अवरुद्ध भएर सुचारु भएको जि.एस.एम तथा सि.डि.एम.ए टेलिफोन सेवा आइतबारदेखि पुनःअवरुद्ध भएको हो।

टेलिफोन सेवा अवरुद्ध भएसँगै डोल्पा सञ्चारविहीन भएको छ। त्रिपुरासुन्दरी नगरपालिका २ रसी लेकमा राखिएको रेडियो लिंक टावरमा समस्या आएपछि डोल्पा सञ्चारविहीन भएको भएको हो।

टेलिफोन सुविधा नभएपछि डोल्पाली जनताले सञ्चारसास्ती खेप्नुपरेको त्रिपुरासुन्दरी नगरपालिका-१ का स्थानीय दुर्गाप्रसाद देवकोटाले बताए।

टेलिफोन टावर समस्या भएपछि जुफाल, त्रिपुराकोट, पहाडा लगायतका दर्जनौ बस्तीहरू चार दिनदेखि सञ्चारविहीन भएकाले कुनै अप्रिय घटना घटे कसरी सम्पर्क गर्ने भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन्।

दुर्गमको पिडा भुलाउने र दुर्गमलाइ सुगमसँग जोड्ने टेलिफोन सुबिधा पनि बारम्बार अवरुद्ध हुनेगरेको गुनासो गर्दै भरपर्दो सेवा उपलब्ध गराउन नेपाल टेलिकमलाई डोल्पाली जनताले आग्रह गरेका छन्।

टेलिफोन सेवा नभएपछि सरकारी तथा गैरसरकारी कार्यालयको कामकाजसमेत प्रभावित भएको छ।

विद्युत् पनि छैन

जैरीगाड जलविद्युत आयोजना अवरुद्ध भएको तीन महिना बितिसक्दा पनि मर्मत हुन सकेको छैन्।

लामो समयसम्म विद्युत आपूर्ति बन्द भएपछि सदरमुकाम दुनै, जुफाल, मोतीपुरलगायतका दर्जनौ बस्तीहरूका सर्वसाधारणहरू अन्धकारमा बस्न बाध्य छन्।

विद्युत सेवा नभएका कारण सदरमुकाम र आसपासका नागरिकहरूलाई सोलार, दियालो र टुकीको भर पर्नुपर्ने बाध्यता छ।

सदरमुकाम जस्तो ठाउँमा लामोसमय विद्युत अवरुद्ध हुँदासमेत सम्बन्धित निकायको ध्यानजान नसकेको ठूलीभेरी नगरपालिका ९ का स्थानीय अमर कठायतले बताए। दुई जना बहालवाला मन्त्री भएको क्षेत्रका नागरिक लामो समयसम्म अन्धकार खेपिरहनु दुःखत भएको उनको भनाइ छ।

डोल्पाबाट मात्रै कर्णाली प्रदेश सरकारमा उद्योग वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा र संघीय सरकारमा पर्यटन राज्यमन्त्री धनबहादुर बुढा बहाल छन्।

विद्युत् नभएपछि जेनेरेटरबाट महँगो शुल्क तिरेर फोटोकपी, स्क्यान, इमेललगायतका विद्युतीय कामकाज गर्नुपर्दा जनता मारमा परेका छन्। सुख्खा पहिरोको कारण नहर भत्केपछि विद्युत सेवा अवरुद्ध भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.