प्रहरीले उजुरी नलिएको परिवारको गुनासो

|

काठमाडौं : वैशाख २३ गते गलत रगत दिएका कारण मृत्यु भएकी सर्लाहीकी ५ वर्षीया बालिका आकृतिकुमारी साहका बुबा रामप्रवेश साहले चिकित्सकको लापरबाहीकै कारण छोरीको मृत्यु भएको भन्दै यसबारे छानबिन गरी सरकारले न्याय दिलाउनुपर्ने माग गरेका छन्।

बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो माग गरेका हुन्। आफूहरू न्यायका लागि विभिन्न ठाउँमा भौतारिँदा पनि कतैबाट उचित न्याय नपाएको उनको गुनासो छ। ‘हामी दिनहुँ न्याय खोज्दै विभिन्न सरकारी निकायहरूमा धाइरहेका छौं। तर, न्याय पाएका छैनौँ यसले हामीलाई अझै पीडा दिएको छ’, उनले भने।

शल्यक्रिया गर्नुपुर्व बिरामीको दुवै मिर्गौला ठीक रहेको तर शल्यक्रियापछि दुवै मिर्गौला फेल भएको रिपोर्ट देखाइएको उनले बताए। उनले भने, ‘शल्यक्रिया गरेलगत्तै मिर्गौला  फेल भएको मेडिकल रिपोर्ट छ। हामीलाई यसमा पनि शंका लागेको छ। यसबारे सत्यतथ्य छानबिन हुनुपर्छ।’

कार्यक्रममा बालिकाका आफन्त सरेन्द्र यादवले शल्यक्रियामा संलग्न चिकित्सकले जानाजान गल्ती गरेर गलत रगत चढाएको आरोप लगाए। उनले भने,‘मुटुको शल्यक्रिया हुँदा मिर्गौलाको भागमा किन चिरियो? सुरुदेखि नै चिकित्सकले गल्ती गरिरहेका छन्।’

शल्यक्रियापूर्व अस्पताल प्रशासनले गराउने मञ्‍जुरीपत्रमा बिरामीको मर्ने सम्भावनामा १ देखि २.५ प्रतिशत रहेको लेखिएको थियो। तर, निधनपछि सोही ठाउँमा टिपेस लगाएर २० देखि ३५ प्रतिशत बनाइको पीडित परिवारको आरोप छ।

प्रहरी प्रशासनकहाँ पटकपटक धाउँदा पनि किटानी जाहेर लिन नमानेको यादवको आरोप छ। उनले थपे, ‘कहिले प्रहरी कार्यालय महाराजगन्ज त कहिले सरकारी वकिलको कार्यालय र कहिले जिल्ला प्रशासन कार्यालय धाइरहेका छौँ। तर, हाम्रो उजुरी दर्ता गराउन कोही पनि तयार छैनन्।’

यस्तो लापरबाही गर्ने डाक्टरलाई जागिरबाट हटाउनुपर्ने र उनको प्रमाणपत्र नै रद्द गर्नुपर्ने यादवको माग छ। सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा मुटुको शल्यक्रिया गर्दा फरक रगतका कारण आकृतिकुमारी साहको मृत्यु भएको थियो। आकृतिको शव हाल त्रिवि शिक्षण अस्पताल महाराजगन्जमै छ।

तर, बालिकाका बुबा रामप्रवेशले छोरीको शव कहाँ राखेको छ? भन्ने कुरा अहिलेसम्म थाहा नभएको बताए। ‘मलाई त इन्साफ चाहिएको छ’, उनले भने, खुरुक्क लास लिएर जा, बढी बोलिस् भने तलाई नालामा फालिदिन्छु भनेर मलाई धम्की दिने गरेका छन्।’

कार्यक्रममा वरिष्ठ अधिवक्ताद्वय डा. सुरेन्द्र भण्डारी र डा. नारायण घिमिरेले घटनामा लापरबाही गर्नेलाई कारबाही गर्नुपर्ने माग गरेका छन्। भण्डारीले आफूहरूले पीडित परिवारलाई सहयोग गर्ने बताए। उनले भने, ‘कानुनको शासनलाई धज्जी उडाउने काम भएको छ।’ प्रहरीले अनुसन्धान गरेर दोषीमाथि कारबाही गर्नुपर्छ’ अधिवक्ता घिमिरेले पनि यो घटनाको अनुसन्धानको दायरा अघि बढाउनुपर्ने माग गरे। उनले भने, ‘प्रहरीले उजुरी लिनुपर्छ।’

यो पनि पढ्नुस् :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.