|

दमक (झापा) : गत बैशाख २५ गतेबाट प्रसूति सेवा दिन सुरु गरेको दमकको सरकारी अस्पताल दमक अस्पतालमा पहिलो पटक प्रसूति हुने कमल गाउँपालिका-७ की निर्मला घिमिरेले पुरस्कृत भएकी छन्। उनलाई अस्पताल सञ्चालक समिति अध्यक्षसमेत रहेकी नगरपालिकाकी उपप्रमुख गीता अधिकारीले प्रोत्साहन रकम प्रदान गरेकी हुन्।

उनले व्यक्तिगत तर्फबाट बच्चाको हेरचाह गर्न र सुत्केरीको स्याहारको लागि ५ हजार रुपैयाँ उपलब्ध गराएको जनाइएको छ। सो अस्पतालमा गत वैशाख २५ गते प्रसुती सेवाको शुभारम्भ गरिएको थियो। त्यसपश्चात् दमक अस्पतालमा पहिलो पटक प्रसूति भएकी घिमिरेले छोरो जन्माएकी हुन्।

अस्पतालकी प्रसूति रोग विषेसज्ञ डाक्टर सुरक्षा बाँस्कोटा नेतृत्वको टिमले बिनाअप्रेसन ३ किलो ग्रामको बच्चा डेलिभरी गराएको हो। हाल आमा र बच्चा दुवैको अवस्था एकदमै राम्रो रहेको अस्पतालका सूचना अधिकारी नगेन्द्र भट्टराईले जानकारी दिएका छन्।

सबै सेवा निःशुल्क

यस अस्पतालमा प्रसूति सेवा लिन आउने दमकका महिलाले निःशुल्क एम्बुलेन्स सेवा पाउने भएका छन्। अस्पताल सञ्चालक समिति अध्यक्षसमेत रहेकी नगरपालिका उपप्रमुख अधिकारीले प्रसूतिसेवा लिनेहरूलाई दमक अस्पतालमा सुत्केरी गराउन आउँदा नगरपालिकाले निःशुल्क रूपमा एम्बुलेन्स सेवा उपलब्ध गराउने बताएकी हुन्।

अबलाई स्वास्थ्य संस्थामै आएर प्रसूति गराउन प्रोत्साहन गर्ने उद्देश्यले यस्तो योजना ल्याइएको नगर स्वास्थ्य संयोजक ईन्द्र अर्यालले जानकारी दिए। एम्बुलेन्स सेवासँगै प्रयोगशाला, शल्यक्रिया लगायतका कुनै पनि सेवामा शुल्क नलिने उनको भनाई छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.