|

धनकुटा : नेपाली कांग्रेसका नेता एवं पूर्वअर्थमन्त्री डा. रामशरण महतले सरकारको नीति तथा कार्यक्रम निबन्धजस्तो प्रस्तुत भएको बताएका छन्। नेपाली कांग्रेसको जागरण अभियानका क्रममा धनकुटा आइपुगेका नेता महतले बुधबार बिहान प्रेस युनियन धनकुटाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नीति तथा कार्यक्रममा हावादारी र प्रचारमुखी झुटका कुरा समावेश भएको आरोप लगाए।

उनले ठूला विकास निर्माणका कार्यक्रम व्यक्तिका नाममा घोषणा गरेर सरकारले गलत गरेको बताउँदै राजनीतिक समझदारीविना व्यक्तिका नाममा सडक तथा विकासका काम गर्न नहुने बताए।

सडक यातायात विकासको पहिलो प्राथमिकतामा राखेर बाह्रै महिना चल्ने सडक निर्माण गर्न सरकारको पहिलो सोचाइ बन्नुपर्ने उनको भनाइ थियो। सरकारले देशमा संक्रमणकाल सकिएको नीति तथा कार्यक्रममा बताए पनि देशमा संविधान कार्यान्वयन र संघ, प्रदेश र स्थानीय तहको विवादले संक्रमणकाल थपिएको नेता महतको भनाइ थियो।

फरक प्रसंगमा महतले सरकार अधिनायकवाद बन्दै गएर प्रेस मात्रै होइन मानवअधिकार पनि उल्लंघन गर्न थालेको बताए। द्वन्द्वको समयमा बेपत्ता बनेकाको छानबिन गर्न बनेको आयोगलाई सरकारले कुण्ठित गरेको महतको भनाइ थियो।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.