|

पर्सा : मिडियागृहमा प्रवेश गरी तोडफोड गर्ने समाजवादी पार्टी नेपालका पाँचजना स्थानीय कार्यकर्तामाथि पर्सा प्रहरीमा किटानी जाहेरी परेको छ। एभिन्यूज टेलिभिजन व्यूरो कार्यालय वीरगन्जमा गएको सोमबार तोडफोड गरेको घटनामा प्रत्यक्ष सम्लग्न रहेको भन्दै उनीहरूमाथि पर्सा प्रहरीमा किटानी जाहेरी परेको हो।

गएको आइतबार एभिन्यूज टेलिभिजनको सकस राजनीतिक बहसमा कार्यक्रम संचालक सुशिल पाण्डे र समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवबीच चर्काचर्की परेको विषयलाई लिएर वीरगञ्जस्थित व्यूरो कार्यालयमा तोडफोड भएको हो।

काठमाडौंमा भएको घटनालाई लिएर वीरगन्ज व्यूरो कार्यालय तोडफोड किन गर्नुपर्‍यो? एभिन्यूजकर्मीहरूले बताए। तोडफोडमा सम्लग्न हुनेहरूको किटानी जाहेरीको दर्ता नम्बर ५७७ रहेको पर्सा प्रहरीले जनाएको छ।

घटनास्थलको प्रत्यक्ष अवलोकन र भिजुअल हेरेर पनि दोषीलाई नियन्त्रणमा नलिई मूकदर्शक बनेको पर्सा प्रहरीले दोषीलाई नियन्त्रणमा लिई कार्वाही गरोस् भनी किटानी जाहेरी नै दिनुपरेको एभिन्यूज टेलिभिजनका काठमाडौं व्यूरो इन्चार्ज राजु श्रेष्ठले बताए। एभिन्यूज टेलिभिजनका तर्फबाट ठाडो उजुरी र किटानी जाहेरी दर्ता गराउन प्रयास गर्दा पनि पर्सा प्रहरीले आलटाल गरेपछि पत्रकारहरू जिल्ला प्रहरी कार्यालय पर्सामा नै पुगी दबाब दिएर दर्ता गराएका छन्। पर्सा प्रहरीमा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जाराको नेतृत्वमा पर्सेली पत्रकारहरू पर्सा प्रहरीमा पुगेको व्यूरो इन्चार्ज श्रेष्ठले बताए। 

सत्तामा आबद्ध पार्टीका नेता कार्यकर्ता घटनामा सम्लग्न भएको कारण मौन बसेको पर्सा प्रहरी प्रशासनलाई झक्झकाउन किटानी जाहेरी नै दर्ता गराउर्नु परेको प्रदेश-२ का अध्यक्ष दीपेन्द्र चौहानले बताए। पर्सेली पत्रकारहरूको साथमा नेपाल प्रत्रकार महासंघ प्रदेश- २ का अध्यक्ष चौहान, उपाध्यक्ष केसी लामिछानेलगायतको पनि सहभागिता रहेको छ।

पर्सा प्रहरीले किटानी जाहेरीमा क­कस्को नाम उल्लेख गरिएको छ ? भन्ने बिषय भने गोप्य नै राखेको छ। एभिन्यूज टेलिभिजन व्यूरो कार्यालय वीरगन्जले भने वीरगन्ज महानगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष तुफान अंसारीको नेतृत्वमा समाजवादी पार्टी नेपाल निकटका पाँच जना स्थानीय कार्यकर्ताको नाम नै उल्लेख गरी जाहेरी दर्ता गराएको जनाएको छ।  

मिडियाकर्मी र मिडिया हाउसका केही कमी भए नीतिगत प्रकृयाले टुंग्याउन सकिने भए पनि काठमाडौंमा भएको बहस कार्यक्रमको विषयलाई लिएर पर्सामा रहेको एभिन्यूजको कार्यालय तोडफोड हुनु निन्दनीय कार्य भएको भनी पर्सेली पत्रकारहरुले दोषीलाई कार्वाहीको माग गरेका छन्। केन्द्र सरकारले संचारकर्मी र संचारगृहलाई विधेयक मार्फत निशाना बनाइरहेको समयमा भएको यस्तो घटना नेपाल सरकारले चालको त्यसै कदमको उपज भएको हुन सक्ने पर्सा पत्रकार महासंघका अध्यक्ष श्याम बन्जाराले दाबी गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.