बैंक ग्यारेन्टी बुझाएर छुट्ने प्रक्रियामा पाठक

|
राजनारायण पाठक

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठकसँग विशेष अदालतले ७८ लाख रुपैयाँ धरौटी मागेको छ।

गत चैत १२ गतेदेखि फरार रहेका पाठक बुधबार बिहान विशेष अदालतमा उपस्थित भएका थिए। पाठकसँग भ्रष्टाचार मुद्दामा विशेष अदालतले बुधबार दिनभर बयान लिएको थियो।

विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, सदस्यहरू द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ वैद्यको संयुक्त इजलासले बयान लिइसकेपछि भएको थुनछेक बहसपछि पाठकसँग ७८ लाख धरौटी माग गरिएको विशेष अदालतका उप-रजिष्ट्रार तथा प्रवक्ता पुष्पराज पाण्डेयले जानकारी दिए। उनले भने, 'बैंक ग्यारेन्टी ल्याउनुभयो भने रिहाइ हुनुहुन्छ, प्रक्रिया अगाडि बढेको छ। अबको १ घण्टामा छुट्नुहुन्छ होला।'

पाण्डेयका अनुसार पाठक आजै धरौटी बुझाएर छुट्ने प्रक्रियामा अगाडि बढेका छन। पाठकले नेपाल-बंगलादेश बैंकबाट ग्यारेन्टी ल्याउने विशेष अदालतलाई जानकारी दिएका छन।

पाठकले भक्तपुरमा रहेको नेपाल इन्जिनियरिङ कलेजका संचालकसँग ७८ लाख रुपैयाँ घुस लिएको अभियोगमा चैत १२ गते मुद्दा दर्ता भएको थियो। उक्त घुस काण्डमा मुछिएका पाठकले फागुन ३ गते पदबाट राजीनामा दिएका थिए। सामुदायिक कलेजलाई लम्बोधरको नाममा नामसारी गर्न सहयोग गर्ने र मुद्दा तामेलीमा राखिदिने भन्दै पाठकले पटकपटक गरेर ७८ लाख घुस लिएको खुलासा भएको थियो।

विशेष अदालतमा पाठकविरुद्ध बुझाएको अभियोगपत्रमा घुस लिने तत्कालीन आयुक्त पाठक र दिने नेपाल इन्जिनियरिङ कलेजका अध्यक्ष लम्बोदर न्यौपानेलाई प्रतिवादी बनाइएको थियो। अभियोगपत्रमा ७८ लाख रूपैयाँ बिगो माग दाबी पनि गरिएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.