आँट र सहासबिना सम्भव छैन हिमाल आरोहण

|

सोलुखुम्बु : करिब ७५ दिनको सगरमाथा क्षेत्र बसाइँ, हिउँका कारण अनुहार सबै डढिसकेको अवस्था, स्वरसमेत सुकेर बोल्न निकै गाह्रो हुन्छ। तर, पनि लक्ष्य पूरा गर्न पछि हट्ने कुरै भएन। हिमाल आरोहण र विश्व कीर्तिमानी भन्ने शीर्षकमा समाचार आउनु सबैको गौरवको गाथा हो। यता, हिमाल आरोहण र कीर्तिमानी कायम गर्ने कार्य भने निकै चुनौतीपूर्ण भएको संलग्न अधिकारी बताउँछन्।

समुद्र सतहदेखि ८८४८ मिटर उचाइको शिखरमा पुगेर सबैले खुला आकाश हेर्ने रहर भए पनि त्यो पूरा गर्ने कार्य निकै कठिन छ। यही कठिनको बीचमा सफल हुनुले सबैसामु हर्षको आशु झर्छ। हिमाल आरोहण कुनै दह्रो आँट र सहासबिना सम्भव छैन। सन् १९५३ मा पहिलोपटक सगरमाथाको शिखरमा मानव पाइला पुगेपछि आरोहण यात्रा जारी रहेको छ।

हालसम्म करिब ४ हजार ८०० मानिस चुचुरोमा पुगेको बताइन्छ। यिनै चार हजार आठ मध्येका एक हुन कामीरिता शेर्पा। शेर्पाले शिखरमा पाइला मात्रा टेकेनन् नेपाली जगतमा विश्व कीर्तिमानीनै कायम गर्न सफल भए। 

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका थामेमा जन्मेका ४९ वर्षीय शेर्पाले बुधबार बिहान २३ औं पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्दै नयाँ रेकर्ड राखेको आधारशिविरबाट पर्यटन विभाग पर्वतारोहण शाखाका नायव शुब्बा रामेश्वर निरौलाले जानकारी दिए। उनका अनुसार बिहान ७ः५० मा २३ औं पटक शिखर पुगेर आफूले कायम गरेको विश्व रेकर्ड आफैँले तोड्दै नयाँ कीर्तिमान कायम गर्न सफल भएका हुन्। 

सेभेन समिट्स ट्रेक्समार्फत कामिरिता शेर्पा र ओङ्दी शेर्पाले शिखर आरोहण गरेको भन्दै कम्पनीका टासी लाक्पा शेर्पाले यो सबैको गौरव भएको बताए। उनले भने, 'यो कामीरिताको लागि विश्व कीर्तिमानी भए पनि राष्ट्रकै कीर्तिमानी पनि हो।' करिब १६ वर्षको कलिलो उमेरदेखि नै हिमालसँग नजिक भएका शेर्पाको शिखर आरोहण यात्रा अझै २ वर्ष कायम हुने कामीरिताको भनाइ छ।

सुरु सुरुमा खुम्बु क्षेत्रमा काम गर्न जाने पर्याप्त मान्छे हुँदैनथे भने बन्दोबस्तीका सामानसमेत कमजोर हुने शेर्पाको भनाइ छ। सन् १९९४ मा पहिलोपटक सगरमाथाको आरोहण गरेका कामीरिताले बौद्ध धर्मअनुसार एक महिना अघिदेखि गुम्बामा पाठपूजा गरी आरोहणमा जाने गरेको बताउँछन्। आरोहण कठिन हुने भए पनि आफूलाई सामान्य लाग्ने शेर्पाले बताए। 

को हुन् कामीरिता?

सोलुखुम्बुको खुम्बुपासाङल्हामु गाउँपालिकाको थामेमा जन्मेका कामीरिताको एक श्रीमती एक छोरा  र एक छोरी छन्। तर अहिले उनीहरू कामीरिताको श्रीमती ४३ वर्षीया लाक्पाका २१ वर्षीय छोरा र १७ वर्षीया छोरीसँग काठमाडाैंको कपनमा बस्छन्। काठमाडाैंमा रहेकी श्रीमती लाक्पालाई भने आरोहणको समयमा निकै त्रास हुने बताउँछन्। कामिरिताले पहिलोपटक सगरमाथा चढ्दा जति त्रास थियो अहिले पनि उत्तिकै रहने उनको भनाइ छ।

कामीरिताले आरोहण गर्ने दिन बिहानै उठेर पूजापाठ गर्ने गरेको लाक्पाको भनाइ छ। हरेक श्रीमानलाई सफलताको शिखरमा पुर्‍याउन श्रीमतीको समेत सहयोग आवश्यक पर्ने लाक्पाको भनाइ छ। 

शेर्पालाई यसरी मिल्दै गयो सफलता

सगरमाथा आरोहणमा आप्पा शेर्पा र फुर्वा तासी शेर्पाको समेत कीर्तिमानी छ। २०७३ सम्म २१ औं पटक सगरमाथा आरोहण गर्नेमा आप्पा शेर्पा र फुर्बा तासी शेर्पा नै हुन्। आप्पा शेर्पाले २०६८ मा र फुर्बा तासीले २०७० मा २१ औं पटक आरोहणको रेकर्ड बनाएका थिए।

कामीरिताले ०७४ मा २१ औं पटकको रेकर्ड राखेभने ०७५ जेठमा आप्पा र फुर्बा तासीको रेकर्ड तोड्दै  विश्वकै अग्लो शिखरमा धेरैपटक पुग्ने आरोही बने। यसैगरी २०७६ को जेठ १ गते बिहान आफ्नो रेकर्ड आफैँले तोडेर विश्व कीर्तिमानी कायम गर्न सफलता मिलेको शेर्पाले पाकिस्तान र भारतको सीमामा रहेको केटु हिमाल पनि आरोहण गरिसकेका छन्। 

चुचुरोमा पुग्दाको अनुभव 

सन् १९९४ मा पहिलोपटक चुचुरोमा पुग्दा उनको अनुभव फरक छ। कति बेला शिखर पुगिन्छ? भनेर आफूले आफैँलाई प्रश्न गर्दै अगाडि बढ्ने क्रममा सफलता मिलेपछि आफूसहित सम्पूर्ण परिवारमै खुसियाली छाएको शेर्पाको भनाई छ। त्यतिबेला सगरमाथा चढ्न जाने आरोहीहरू अहिलेजस्तो धेरै नहुने उनको भनाइ छ। 'त्यो बेलाको हेरेर त अहिले निकै सुख छ' शेर्पाले भने, 'माथि पुग्दा मलाई ठूलै केही गरेजस्तो लागेन। तर त्यति बेला काम पाउनका लागि कम्तीमा एकपटक सगरमाथा चढेको हुनुपर्थ्यो मचाहिँ अब सजिलै काम पाइएला कि भनेर खुसी भएँ।'

करिब २४० भन्दा बढी आरोहीको ज्यान गइसकेको सगरमाथा क्षेत्रमा आरोहण गर्दा सकुशल फर्केने र नफर्कने कुनै टुंगाे नहुने आरोही बताउँछन्। कामीरिता भने सबै हात सगरमाथाकै हुने बताउँछन्। शिखरमा पुगेर आधारशिविर झर्दासमेत के हुन्छ थाहा नहुने शेर्पाको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.