|

सिन्धुली : दुधौली नगरपालिका–३ निपाने कालापानीकी एक महिला श्रीमानको कुटपिट तथा दुर्व्यवहारका कारण गम्भीर घाइते भएकी छिन्।

५० वर्षीय श्रीमान सञ्चा कुमरले श्रीमान वैदेशिक रोजगारमा रहेका छिमेकी महिलाको सहयोग लिएर कुटपिट तथा दुर्व्यवहार गरी ४४ वर्षीया श्रीमती डस्नी कुमँरलाई घाइते बनाएका हुन्। सोमबार श्रीमान कुमँरले छिमेकी २७ वर्षीया बेलवती कुमँरको सहयोगमा श्रीमतीमाथि कुटपिट तथा दुर्व्यवहार गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

आफूलाई श्रीमानले विगत २, ३ वर्षदेखि तँ बुढी भइस् अब अर्की श्रीमती ल्याउँछु भन्दै पटकपटक धम्काउँदै कुटपिट गर्दै आएको पीडित श्रीमतीले बताइन्। ‘वैशाख ३० गते मदिरा सेवन गरी घरमा आएर मलाई भुँइमा लडाएर मेरो छातिमाथि चढी लात्ती र मुड्कीले कुटपिट गर्नुका साथै भात, दाल, अचार योनिमा कोचिदिए’ पीडित महिलाले सुनाइन्।

त्यस्तै, वैशाख ३१ गते श्रीमानको आदेशमा छिमेकी महिला वेलवतिले घरमा आई ढुंगाले हानेर थप घाइते बनाएको पीडित महिलाको भनाइ छ। घाइते कुमँरलाई वडा सदस्य धनकुमारी घिमिरे, मेलमिलापकर्ताहरूसहित पीडित महिलाका छोरा हिरन कुमँर र दाजु लुदा कुमँरले बुधबार जिल्ला अस्पताल सिन्धुलीमा उपचारका लागि ल्याएका छन्। पीडित महिलाको अहिले जिल्ला अस्पताल सिन्धुलीमा उपचार भइरहेको छ ।

एकद्वार संकट व्यवस्थापन केन्द्रको सहयोगमा जिल्ला अस्पतालमा उनको उपचार भइरहेको छ। पीडकविरुद्ध जिल्ला प्रहरी कार्यालय महिला तथा बालबालिका सेवा केन्द्र सिन्धुलीमा उजुरी दर्ता भएकाले थप अनुसन्धान गरेर कारबाही अगाडि बढाइने जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.