भूमिसुधार तथा मालपोत कार्यालय 'कर्मचारी अभाव' को पीडामा

|

कपिलवस्तु : भूमिसुधार तथा मालपोत कार्यालय, कपिलवस्तु यतिवेला कर्मचारीको अभावको पीडामा छ। एकातिर ठूलो संख्यामा कर्मचारीको दरवन्दी रिक्त छ भने अर्काेतिर कर्मचारी अभावको जानकारी मन्त्रीदेखि प्रमुख जिल्ला अधिकारीलाई गराए तापनि त्यसकाे सुनुवाई केही हुन सकिरहेको छैन।

दरबन्दी रिक्तले जनताको काममा वाधा पुर्‍याएको जानकारी जिल्लाबाटै निर्वाचित संघीय सरकारका कृषि तथा पशुपंक्षी बिकास मन्त्री चक्रपाणी खनाल बलदेवदेखि जिल्लाका मुख्य प्रशासक प्रमुख जिल्ला अधिकारी अर्जुनप्रसाद पोखरेल सम्मलाई पटक पटक कार्यलयले ध्यानाकृर्षण गराएको जनाएको छ। तर मालपोतको वेहाल जहिँको तहि छ।

भूमिसुधार तथा मालपोत कार्यालय कपिलवस्तुमा एकातिर खरिदारदेखि उपसचिव सम्मका कर्मचारीको चरम अभाव देखिएको छ भने अर्काेतिर एउटा अफिसमा १०/१० जना कार्यालय सहयोगी कार्यरत हुदा उनीहरुकै हालीमुहाली चलेको अवस्था छ। मालपोतमा यतिधेरै सहयोगीको दरवन्दी कसरी र कहिले सिर्जना भयो त्यो आधिकारीक विवरण कार्यालयसँग छैन। तर मालपोतमा कार्यालय सहयोगीको चाप थेग्न नसक्ने हिसावको छ। त्यसो त नियमित कार्य सञ्चालनमा सेवाग्राहीको चाप हुने मालपोतमा केही महत्वपूर्ण फाँटहरूमा कर्मचारी नहुँदा काम प्रभावित भएको छ।

३८ जना कर्मचारीको दरबन्दी रहेको मालपोत कार्यालयमा काार्यलय सहयोगीवाहेक हाल १२ जना कर्मचारीको भरमा काम भइरहेको छ। अहिले एउटा कर्मचारीले २ देखि ३ वटासम्म फाटको कामकाज गर्नु पर्ने भएको छ। मालपोत कार्यालयमा सबैभन्दा महत्वपूर्ण मानिएको मुद्दा फाँट र मोठ फाँटमा कर्मचारी नहुँदा बढी मात्रामा समस्या देखा परको छ।

अहिले १ उपसचिवको पद रिक्त छ, ३ जना अधिकृत मध्ये २ जना मात्र कार्यरत रहेका छन्। १२ जना नासुको दरबन्दी रहेकोमा ४ जना मात्र कार्यरत रहेका छन्। ९ जना खरिदार रहेकोमा ३ जना, यस्तै २ जना कम्प्युटर अपरेटर, १ जना ड्राइभर, १ जना लेखापाल अस्थायी र १० जना कार्यालय सहयोगी रहको पाइएको छ।कार्यालयमा आवश्यक संख्यामा कर्मचारी नहुदा कार्यालयको दैनिक कामकाज प्रभावित बनेको भूमिसुधार तथा मालपोत कार्यालयका अधिकृत ऋषिराम पौडेलले बताए।

पछिल्लो समय कार्यालय खुल्ने बित्तिकै सेवाग्राहीको चाप मालपोत कार्यालय कपिलवस्तुमा बढ्ने गरको बताउँदै कर्मचारी अभावमा कामकाज हुन नसक्दा सेवाग्राहीले अनावश्यक रूपमा सास्ती ब्याेहाेर्नु परिरहेको स्थिति छ। कार्यालय समयमै मालपोत पुग्ने गरे पनि कर्मचारी अभावमा पछिल्ला केही दिनदेखि काम नभइकनै फर्किनु परिरहेको केही सेवाग्राहीले प्रतिक्रिया दिएका छन्।

सिडियोदेखि मन्त्रीसम्मको वेवास्ता

कर्मचारी अभावको विषयमा सिडियोदेखि केन्द्रीयस्तरका मन्त्री र नेतालाई कुरा राख्दा पनि यो समस्या अझै हल भएको छैन। प्रमुख पौडेलका अनुसार कृषि मन्त्री चक्रपाणि खनाल बलदेब, प्रमुख जिल्ला अधिकारी अर्जुनप्रसाद पोख्रेल, नेकपा जिल्ला अध्यक्ष झबिलाल पोख्रेलमार्फत कार्यालयमा कर्मचारी अभावका कारण कामकाज प्रभावित भइरहेको विषय मन्त्रालय स्तरसम्म जानकारी गराउँदा पनि कर्मचारीको पदपूर्ति हुन भने सकेको छैन। प्रमुख पौडेलले टेलिफोन, पत्र, बिभिन्न सामाजिक सञ्जालमार्फत सोही विषयको जानकारी गराउँदै आएको बताइएकाे छ।

अनलाइन सेवाले सेवाग्राही झन् मर्कामा

भूमिसुधार तथा मालपोत कार्यालय कपिलवस्तुमा अनलाइन सेवा लागु भएपछि सेवाग्राहीको झन् विजोग भएको छ। कार्यलयमा प्रर्याप्त कर्मचारी नहुँदा घण्टौं लाइन बसेर काम गर्न सेवाग्राही बाध्य छन्। कार्यालयले सुरु गरेको भूमि अभिलेख तथा सूचना व्यवस्थापन प्रणाली भरपर्दो नभएपछि दैनिक आउने सेवाग्राही मर्कामा परेका हुन्। विहानै आएर लाइन लाग्दा पनि कार्यालय समय सकिँदासम्म पनि केही स्थानीयको काम हुन नसकेपछि मालपोत कार्यालयको सेवाले सास्ती थपेको लागेको छ।

मालपोत कार्यालय कपिलवस्तुका सबै काम अनलाइनबाट गर्न थालेपछि विगतको तुलनामा सेवाग्राहीले झनै सास्ती पाइरहेका छन्। मालपोत कार्यालयको सेवा प्रवाहमा पहिल्यैदेखि ढिलासुस्ती हुने गुनासो थियो। छिटो छरितो सेवा प्रदान गर्ने उद्देश्यले गत मंसिर २९ गतेदेखि अनलाइन प्रणालीबाट काम सुरु भएपछि सेवाग्राहीले भने झनै सास्ती पाउन थालेका छन्।

टोकन सेवा लागु नै गरिएन

अनलाइन प्रणालीबाट काम सुरु हरेक दिन बिहान सेवाग्राहीलाई टोकनबाट सेवा प्रवाह गर्ने कार्यालयले कार्य सुचारु गर्न खोज्यो तर टोकनबाट सेवा सहज हुन नसक्ने देखेपछि त्यो ब्यवस्था नमिलाएको कार्यालय प्रमुख पौडेलले बताए। अनलाइन प्रणालीबाट काम गर्न काम सहज र छिटो हुने भनिए पनि सुरुवात चरणमा यो प्रणाली असहज बनेको उनले बताए। 'अहिले कम्प्युटर मार्फत ४ जनाले सेवा दिइरहेका छन्। 

एउटा सेवाग्राहीलाई डेढ÷ दुई घण्टा समय लागिरहेको छ' उनले भने। तर कर्मचारीको कार्य क्षमता कमजोर हुँदा यस्तो समस्या आएको सेवाग्राही वताउछन्। कार्यालयमा पर्याप्त कर्मचारी नहुँदा घण्टौं लाइन बसेर काम नहुदा निराश हुन सर्व साधारण बाध्य छन्।

संघीयता आएपछि झनै कष्ट

संघीयता आएपछि झनै कष्ट कार्यालयमा रहेका केही फाँटमा कर्मचारी नहुँदा एउटै कर्मचारीले २/३ ओटा कोठामा पालो अनुसार डुलेर काम सक्नुपर्ने बाध्यता छ। यसो गर्दा एउटा फाँटको काम सकेर अर्को फाँटमा पुग्ने सेवाग्राही अड्किएर बस्नुपर्ने बाध्यता छ,’ कार्यालय प्रमुख पौडेलले भने, ‘तर हामीले निकै मिहिनेत गरेर धेरैजसो सेवाग्राहीका काम त एकै दिनमा सकाएर पठाउने गरेका छौँ।'

बिहान ७ बजेबाट नै साझसम्म बसेर सेवाग्राहीलाई सेवा प्रवाह गरिरहेको उनले बताए। कार्यालयमा पुगेर कामको लागि पर्खीरहेका सेवाग्राही संघीयता आएपछि हरेक काममा सजिलो हुने भन्ने सुनेको बताउँदै संघीयता आएपछि झनै कष्ट पाएको बताउँछन।

संघीयता आएर यही दुःख पाउने हो भने हाम्लाई यो किन चाहियो? सेवाग्राही हिरा केसीले गाउँ गाउँमा अधिकार पाइन्छ रे भन्ने सुनेको वताउँदै मालपोत कार्यालयमा धाउँदा हैरान भएपछि उनलाई यो देशमा जस्तो र जसको शासन आए पनि पनि जनताले भने सधैँ दुःख नै पाउने रहेछन् भन्ने लागेको वताउछिन्।

राजश्व छुट लिनेको संख्यामा भने बृद्धि

सरकारले महिला, दलित र ज्येष्ठ नागरिकका नाममा घरजग्गा पास गर्दा राजस्वमा छुट दिन थालेपछि उनीहरूको स्वामित्वमा घरजग्गा दर्ता हुने क्रम जिल्लामा उल्लेख्यीय मात्रामा बढेको छ। यी व्यक्तिलाई घरजग्गा रजिस्ट्रेसन पास गर्दा २५ देखि ३० प्रतिशतसम्म छुट दिने व्यवस्था छ। महिलाका नाममा समेत घरजग्गाको स्वामित्व बढाउने उद्देश्यले सरकारले महिलाको नाममा स्वामित्व दर्ता गर्दा लाग्ने राजस्वमा ३० प्रतिशतसम्म छुट दिने व्यवस्था गरेको छ। यससँगै जिल्लामा महिलाका नाममा रजिस्ट्रेसन पास गर्नेको संख्यामा झण्डै ४० प्रतिशतले वृद्धि हुँदै गएको भूमिसुधार तथा मालपोत कार्यालयले जनाएको छ।

राजस्व छुट पाउने भएपछि बर्सेनी २० देखि ४० प्रतिशत सम्मले महिलाको नाममा घरजग्गाको स्वामित्व दर्तामा वृद्धि हुँदै गएको मालपोत अधिकृत पौडेलले जानकारी दिए। उनका अनुसार यो चालू आव बर्षमा पनि महिलाका नाममा घरजग्गा दर्ता गर्ने क्रम बढदै गएको छ। यो संख्या सहरी क्षेत्रको तुलनामा ग्रामीण क्षेत्रमा धेरै छ।

राजस्व छुटले ग्रामीण क्षेत्रका महिलामा घरजग्गाको स्वामित्व बढाएको छ। यस्तै यस आर्थिक बर्षमा दलित महिला र जेष्ठ नागरिकका नाममा समेत स्वामित्व रहने गरी घर जग्गा दर्ता हुने क्रम पनि बढदै गएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.