|

पोखरा : गण्डकी प्रदेश सरकारले प्रदेशका विभिन्न प्रहरी कार्यालयमा मोटरसाइकल किनिदिने भएको छ। 

बिहीबार साँझ बसेको मन्त्री परिषदको बैठकले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको चालु वर्षको कार्यक्रममा प्रहरी कार्यालयहरुलाई सुरक्षित मुन्द्रणालय(प्रेस) स्थापना गर्न छुट्याइएको १ करोड रुपैयाँमा ९२ लाख रुपैयाँ बाँकी रहेको र सोही रकम रकमान्तर गरी मोटरसाइकल किन्ने निर्णय भएको सरकारका प्रवत्ता रामशरण बस्नेतले जानकारी दिए। 

‘आन्तरिक मामिलाले रकमान्तर गरी प्रहरीलाई मोटरसाइकल किन्ने प्रस्ताव ल्यायो,’ भौतिक पूर्वाधार विकास मन्त्री समेत रहेका बस्नेतले भने, ‘प्रदेश प्रहरी, प्रशासन साथै शान्ति सुरक्षाको समेत जिम्मेवारी प्रदेश सरकारलाई पनि आएको र प्रदेश प्रहरी गठन हुन बाँकी रहेपनि शान्ति सुरक्षाको जिम्बेवारी प्रदेश सरकारको रहेकोले प्रहरीलाई साधन स्रोतले ब्यवस्थित गर्न रकमान्तर गर्ने निर्णय गरियो।’

९२ लाखमा कति संख्यामा मोटरसाइकल खरिद गर्न मिल्छ, कस्तो प्रकारको मोटरसाइकल खरिद गर्ने भन्ने सबै जिम्मा आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई दिइएको बस्नेतले जानकारी दिए। मोटरसाइकल खरिद गर्दा सार्वजनि खरिद ऐन अनुसार नै खरिद गर्ने कानुन मन्त्री हरिबहादुर चुमान बताउँछन्। ‘मुद्रणको यो वर्ष रकम खर्च नहुने भएकोले यता खर्च गर्ने भयौँ,’ उनले भने, ‘आवश्यकता के हो र प्रहरीको सेवा चुस्त गर्न कसरी सकिन्छ भनेर हामीले यसलाई प्राथमिकता राखेको हौँ।’

प्रदेश प्रहरी ऐन नबनेकोले पनि अहिले आवश्यकता अनुसार मोटरसाइकल तथा सवारी प्रहरीलाई उपलब्ध गराउन नसकेको समेत बताए। उनले प्रदेशभरीबाट १०५ वटा मोटरसाइकल एकै पटक माग भएको तर, रकम अपुग हुने भएकाले यस पटक ९२ लाख रुपैयाँले जति आउँछ त्यति किनेर वितरण गर्ने बताए। प्रदेश सरकारले प्रदेश प्रहरी संगठनको लागि १२ करोड रुपैयाँ विनियोजन गरेपनि ऐन नबनेकोले खर्च गर्ने बाटो नखुलेको मन्त्री चुमान बताउँछन्।

त्यस्तै विहीबारको मन्त्री परिषदको बैठकले नेपालको संविधान धारा १८३ उपधारा १ बमोजिम प्रदेश सभाको वर्षे अधिवेशन प्रदेश सभा सदस्यहरुलाई कम्तीमा सात दिन अघि सूचना दिएर जेठ १५ गते बुधबार १ बजे प्रदेश सभा बैठक बोलाउन संविधानको धारा १६६ को उपधारा २ बमोजिम प्रदेश प्रमुखलाई सिफारिस गरेको बस्नेतले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.