काठमाडौं : चौडा पार्किङ, शान्त वातावरण। कोठाका हरेक भित्तामा थ्रिडी आर्ट। यस्तो लाग्छ कुनै संग्रहालयभित्र छु। तर, यो संग्रहालय होइन व्यवसायी मधुसूदन ढकालको 'लेकाली किचन एण्ड कटिया हाउस' हो।
सिनामंगलनजिकै रहेको उक्त होटलमा विशेष गरेर कटियाको लागि प्रख्यात रहेको छ। कटियाले मात्र सम्पूर्ण नेपाली खानाको नेतृत्व गर्न नसक्ने भन्दै उनले परम्परावादी नेपाली खानाहरू सञ्चालन गरिरहेका छन्। उनी भन्छन्, 'हरेक नेपालीले मन पराउने तर बजारमा पाउन मुस्किल खानाहरूलाई विशेष प्राथमिकतामा राखेर मैले व्यवसाय सुरु गरेको हुँ।' नेपाली खाना, मुस्ताङको आलु, च्याङ्ग्राको सुकुटी, कालिजको मासुको परिकार,लोकल खसी र कुखुराको मासु, दाङ र बर्दियाका कुखुराको मासुका परिकार, कोदो, मकै र फापरको ढिँडो, मार्सी चामलको भात, र ढोरपाटनको परिकार लगायत खानाहरू यहाँ पाइन्छन्।
आधुनिक बन्ने नाममा अचेल हामी अराजक बन्दै गइरहेका छौं। हामीले हाम्रा मान्यताहरू भुल्दै गएका छौँ। हामीले हाम्रा भाषा,संस्कृतिमाथि धावा बोलिरहेका छौँ। यतिमात्र होइन। नेपाली पहिचान दिने कुनै पनि विषयमा हामी बोल्न चाहँदैनौँ। किनभने आधुनिक बन्ने नामको भाइरस हामीबीच संक्रमित भएको छ।
अरू विषय छोडौँ, हाम्रा भान्सामा पनि अचेल नेपाली परिकारभन्दा विदेशी परिकारले स्थान जमाइरहेका छन्। होटल, रेस्टुरामा पनि विदेशी परिकारको हालीमुहाली नै छ। जसले गर्दा हाम्रा खानाहरू विस्तारै लोप हुने अवस्थामा आइसकेका छन्। यो सिलसिला जारी नै रहने भने देशमा विकराल अवस्था सिर्जना हुने निश्चित छ।
हामीले हाम्रा नेपाली खानाको समेत प्रर्वद्धन गर्नु जरुरी रहेको बताउँछन् उनी। कटिया खाना विशेष गरेर रौतहट जिल्लाको प्रख्यात खानाको परिकार हो। उनी नयाँ नयाँ खाना, नयाँ नयाँ परिकारको स्वाद हेर्दै चाख्दै हिँड्छन। कहाँ कुन खाना प्रख्यात छ। र, त्यसलाई कसरी प्रवर्द्धन गर्न सकिन्छ भन्ने सोचमा हुन्छन् उनी। रौतहट जाँदा कटिया खाए। सधैँ खाइरहेको मासुलाई फरक तरिका पकाएर खुवाउँदा सहरले रुचाउछ कि भनेर उनले उक्त परिकार काठमाडौं ल्याएका छन्।
पत्रकारिताबाट होटल व्यवसायतर्फ
उनी कुनै बेला पत्रकारिता क्षेत्रमा आबद्द थिए। व्यवसायिक पत्रकारितामा उनी आफूलाई पर्फेक्ट मान्छे होइन भनेर निस्किए। मिडिया रहरको क्षेत्र थियो उनको लागि। रहर पूरा भयो छोडे। तर, पत्रकारिता क्षेत्रबाट पर छैनन्। पत्रकारिताबाट उनले स्नातक सकेका छन्। आफूलाई होटल व्यवसायमा नै बढी सन्तुष्ट मिलेपछि पत्रकारिता क्षेत्रबाट अघोषित संन्यास लिएको बताउँछन् उनी। 'पत्रकारितालाई व्यावसायिक बनाउन सक्दिनँ भन्ने निचोड आयो', उनी भन्छन्। अहिले उनको यहाँ लगभग ८५ लाख लगानी छ।
उनले मिडिया हाउसको प्रकाशक हुनुपूर्व टेकुमा उनको रेष्टुरेण्ट थियो। त्यो बिक्री गरेर मिडिया खोले। पुन उनी पुरानै होटल व्यवसायमा फर्किएका छन्। होटल पनि उही पुरानो डर्रामा संचालन गर्नुभन्दा उनले फरक सोच लिएर आए। भन्छन्, 'हरेक मान्छेले खाना छोड्दैन,म यो शहरसँग परिचित छु। सहरमा नयाँ र फरक चिज बिक्छ।शहरका मान्छेको चाहना बिक्छ।'
देशमा लगानी वातावरण बन्दै छ
हरेक देशमा कमी कमजोरीहरू छन्। परिवर्तनको एउटा अन्तिम अवस्थामा छौं हामीहरू। संस्थागत हुन बाँकी छ। हरेक देशमा समस्या छन्। हामीलाई अमेरिका ज्यादै सुन्दर लाग्छ। जे कुरा टाढा छ त्यसको महत्व उल्कै हुने गर्छ। अमेरिका बनाउने काम अमेरीकीले गरेका हुन्। हाम्रा समस्याहरू हामीले नै समाधान गर्नुपर्ने बताउँछन् उनी। भन्छन्, 'हरेक समस्याहरू सँग जुध्ने, समाधान गर्ने हामी आफैँले हो।' अहिले उनको क्याफेमा २० जना कर्मचारीहरूले काम गरिरहेका छन्। अबको योजना उनको नयाँ ब्रान्च खोल्ने योजना रहेको बताउँछन्।
विदेश नजानुस् आफ्नो काममा धैर्य हुनुस्
अहिले युवा सपनाको भारी बोकेर विदेश हिँडिरहेका छन्। सबै युवाहरू विदेश नै जानुपर्छ भन्ने मान्यता राख्दैनन् उनी। नेपालमा आफू कुन क्षेत्रमा बाँच्न सकिन्छ भन्ने विषयमा सोच्दै सोच्दैनौँ हामी। देशमा आफ्नो अस्तित्व कसरी बचाइराख्नुपर्छ भन्ने विषयमा युवाहरू गम्भीर हुनुपर्ने बताउँछन् उनी। भन्छन्, 'पैसा कमाउनु मात्र जिन्दगीको अन्तिम लक्ष्य होइन।'
आफू पनि देशमा कसरी टिक्ने भनेर सोच्दै जादाँ होटल व्यवसायमा हात हाल्न आइपुगेको बताउँछन् ढकाल। अहिले उनी आफ्नो व्यवसायबाट सन्तुष्ट छन्। कोही युवा विदेश गएर कमाएर फर्किंदा जे गर्दा पनि शून्यबाट सुरु गर्नुपर्छ। बरु बेलैमा शून्यबाट सुरु गरेको कुनै व्यवसाय १० वर्षसम्म धैर्य, लगनशील र इमान्दारीसाथ गरेको खण्डमा कोही कसैले चाहेर असफल बनाउन सक्दैन।
साथीहरूको सहयोगको प्रतिफल
नुवाकोटका ढकाल पढ्नका लागि काठमाडौं आए। काठमाडौं पढ्ने र जागिर खाने सिलसिला जारी रह्यो। ट्याक्सी चालक बन्न हिँडेका उनी रेष्टुरेण्टको व्यवस्थापनतिर लागे। होटलको व्यवस्थापक, सञ्चालक हुँदै गर्दा चिनजान बढ्दै गयो। उनको इमान्दारी र धैर्यताले धेरै साथीहरूको मन जिते। पत्रकारितामा पनि उनले धेरै सहयोगी साथीहरू भेटे। सहरमा उल्लेख्य मान्छे कमाए छन्। तिनै साथीहरूको साथ, सहयोग र हौसलाले गर्दा आफू आज यो स्थानसम्म आइपुगेको बताउँछन् ढकाल। भन्छन्, 'एकजना मान्छेले अचेल परिवार चलाउन नसकिरहेको अवस्थामा यो सफल कहानीको पछाडि धेरै साथीभाइहरूको साथ छ।'
तपाईंको ईमेल गोप्य राखिनेछ ।