|

इलाम : लमतन्न बनेर बसेको हरियो कार्पेट झैं लाग्ने इलामको चियाबारी नागवेली सडकमा माउन्टेन बाइक दौडाउँदै धरानका अविशेक मादेन लिम्बू आधा घण्टामै १० किलोमिटर पार गरे। छपक्क हुस्सुले छोपेको कन्याम हुँदैे फिक्कल आइपुग्न एक घण्टा अनुमान गरिएको थियो। तर उनी चाँडै फिक्कलमा पारिलो घाम ताप्न आइपुगे। अरु ८० भन्दा बढी साइकलयात्रीले अविशेकलाई पछयाइरहेका थिए।

टाउकोमा गो–प्रो जडित हेलमेट हातमा पन्जा आँखामा चस्मा लगाएका अत्याधुनिक साइकलसहित मानिसहरू। माहोलले कुनै प्रतिस्पर्धा जस्तो देखिन्थ्यो। तर अवसर थियो भिजिट नेपाल २०२० लाई लक्षित गरेर आयोजित साइकल यात्रा। जहाँ प्रतिस्पर्धा नभएर सहकार्य थियो। हरेक शनिबार धार्मिक भक्तजनको घुइँचो रहने कुटिडाँडाबाट यात्रा सुरु भयो। 

पहाडमा साइकल बिरलै मात्र देखिन्छ। तर दर्जनाैंको संख्यामा माउन्टेन बाइक देखेपछि स्थानिबासीहरू सडकमा लाम लागेर दृश्य हेरे। मेची राजमार्गमा पल्सर बाइकभन्दा महँगा माउन्टेन बाइक दौडिए। ६० हजारदेखि ३ लाख सम्मका। पर्यटन प्रर्वधन गर्ने उद्देश्यले सुरु भएको यात्रामा काठमाडाैंका ६५ सहित झापा, सुनसरी लगायतका क्षेत्रबाट ८५ जना इलाम आएका थिए। ‘साइकल चलाऔँ, स्वस्थ रहौँ’ नाराका साथ  शुरु भएको साइकल यात्राको पहिलो दिन पर्यटकीय क्षेत्र हासपोखरीबाट सुरु भइ कन्याम-फिक्कल हुँदै इलाम सदरमुकाम पुगेको थियो।

साइकल यात्रीलाई स्थानीय बासिन्दा र जनप्रतिनिधिले स्वागत गरेका थिए। झापा शनिश्चरे नगरपालिकाका बासिन्दा साइकल राईडर्स योगेन्द्र थापाको पहलमा देशका विभिन्न भागका बासिन्दा इलाममा थिएँ। ९ बजे सुरु भएको यात्रा फिक्कल आइपुग्न १ घण्टा बढीको अनुमान गरिएको थियो। तर अनुकूल चिसो मौसम भएपछि झन्डै १० किलोमिटर आधा घण्टामै आइपुगे। 

छिनछिनमा परिर्वतन भइरहने मौसम र चिया बगानलाई चिरेको नागबेली सडक साइकल टुरिजमको उत्कृष्ट गन्तव्य बन्न सक्ने थापाले बताए। ‘छिन भरमा परिर्वतन हुने मौसम, एकनासको बाटो चियाको बगान र मनोरम दृश्यले कसकाे मन नलोभ्याउला र?’ राईडर्स थापाले भने साइकलयात्रीलाई सूर्योदय नगरपालिकाले बिहानको खानाको बन्दोबस्तो जुटाइदियो। 

साइकल यात्रीको टोली आइतबार इलाम बजार भएर माइखोला–दानाबारी हुँदै बिर्तामोड झर्ने छ। प्रदेश १ साइक्लिङको उत्कृष्ट गन्तव्य रहेको साइक्लिङ एशोसिएनसनका अध्यक्ष राजन लिम्बूले बताए। धरानबाट धनकुटाको भेडेटारबाट राजारानी हुँदै पाँचथरको राँके बजारबाट इलाम-माइपोखरी हुँदै सन्दकपुरसम्म साइकिलिङ गर्न सकिने उनी बताउँछन। उक्त क्षेत्रमा ५ दिनको को यात्राको प्याकेज रहने छ।

साइकिलिङबाट पूर्वका अधिकाश सुन्दर स्थलको अवलोकन गर्न सकिन्छ भने पूर्वी नेपाल र भारतका अधिकांश हिमालय पर्वतको अवलोकन गर्न सकिने संभावना रहेको बताइएको छ। ६ वर्षअघि विश्व साइकलयात्री पुष्कर शाहको नेतृत्वमा ८ जनाको टोलीले दार्चुलाबाट ४५ दिनको यात्रा गर्दै इलामको पशुपतिनगरमा सम्पन्न गरेको थियो।  

पर्यटन प्रबर्द्धनका लागि हिमाली क्षेत्रमा साइकलिङको राम्रो संभावना रहेकाले त्यसतर्फ ध्यान दिन उनले आग्रह गरेका थिए। ३ वर्षअघि पनि उनले ‘टूर डे इलाम’ नाम दिइएको पर्यटन यात्रा पाँचथरको लेक गाउँ, बुधबारे, राजारानीदेखि भेँडेटार हुँदै धरानसम्म गरेका थिए। साइलयात्रीको उत्साहलाई देखेर साइकल टुरिजमको विकासमा जनप्रतिनिधिहरू सकारात्मक देखिएका छन। 

साइकल राइडिङमा सहभागी रोङ गाउँपालिकाका प्रवक्ता मणिकुमार स्याङबो सुवासले गाउँपालिकाको पाथिभरा मन्दिरबाट झापाको काँकडभिट्टासम्म साइक्लिङ ट्रेल बनाउन पहल गर्ने बताए।

उनले कुटिडाँडाबाट गिद्धेभिर-हल्लने ढुंगा-तारेभिर-सलकपुर-निन्दासम्म गुराँसको बन संरक्षण गर्ने साइकल ट्रेल बनाउन पहल गर्ने प्रतिवद्धता गरे। त्यसैगरी सूर्योदय नगरपालिका १० का अध्यक्ष पेमा उगेन लामाले पर्यटकीय नगरी सूर्योदयमा नयाँ पर्यटनको संभावना खोजी गर्दै साइक्लिङको बारेमा अध्ययन गरिने बताए। 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.