|

दमक (झापा) : पूर्वी नेपालका धिमाल बस्तीहरु अहिले गुञ्जयमान छन्। धिमालहरुको मुख्य पर्व जात्रीको सुरु भएसँगै दिनहुँजस्तो विभिन्न टोलमा मेला लाग्ने गरेको छ। यस पर्वमा धिमालहरुको बाजा ढोल बजाउँदा ढङ्...ढङ्... आवाज आउने भएकाले अन्य समुदायका मानिसहरुले जात्री मेलालाई ढङ्ढङे मेला भन्ने गरेका छन्। 

यो पर्व वैशाख २ देखि असार २ सम्म मनाइन्छ। नेपालका आदिवासी धिमाल जातिको उद्गमस्थल मानिएको मोरङको भोगटेनीस्थित राजारानीमा मेला लगाएर जात्री पर्व सुरु हुन्छ। धिमाल जाति विकास केन्द्रको मुख्यालय उर्लाबारी, मंगरबारेमा विशेष कार्यक्रमसहित समापन हुने गरेको छ।

ग्रामथानमा हाँस, कुखुरा, सुँगुरलगायतको बलि दिएर जात्री पर्व प्रारम्भ गरिन्छ। भोगटेनीबाट सुरु भएपछि धिमाल बस्तीको टोलटोलमा मनाउन थालिने दमक नगरपालिका, पहिलो नागरिक धिमाल व्यवस्थापन समितिका अध्यक्ष लोकबहादुर धिमालले बताए। 

प्रकृतिपूजक धिमाल समुदायले रोगब्याधी नलागोस्, बाली बिरुवा लगाउने बेलामा वर्षात् होस्, जंगली जनावरले दुःख नदियोस् भन्ने कामनासहित महाराजथानमा गएर सामुहिक पूजाआजा गर्ने गर्छन्। परापूर्वकालमा धिमालले यी समस्या समाधान गर्न ग्रामधानमा पूजा गर्दा कामना पूरा भएपछि यसलाई निरन्तरता दिँदै मनाउँदै आएको जनविश्वास छ।

केटा–केटी हेर्ने अवसर

प्रदेश १ मा ९८ वटा धिमाल टोलहरु छन्। तीमध्ये आधाभन्दा बढी टोलमा जात्री मेला लाग्ने गरेको धिमाल जातीय विकास केन्द्रका महासचिव केदार धिमालले बताए।

दुई महिनासम्म मनाइने यो पर्वको अवसरमा लाग्ने मेलामा सामुहिक रुपमा पूजा गरिन्छ भने आफूले भाकल गरेअनुसारको वस्तु चढाउने पनि गर्दछन्। तर, परापूर्वकालमा यस मेलालाई विवाहका लागि केटा–केटी हेर्ने अवसरको रुपमा समेत लिने गरिने गरिएको केन्द्रका महासचिव धिमालले बताए।

उनले भने,  ‘पूर्वी नेपालमा जंगल फाँडेर मानव बस्ती बसाल्ने धिमाल समुदायमा विवाहका लागि केटा वा केटी कहाँ हेर्ने त भन्दा जात्री मेला मुख्य अवसर हुने गर्दथ्यो।’ एउटा बस्तीबाट अर्को वस्तीमा पुग्न समेत सहज नभएको समयमा जात्री मेलाको समयमा समूह बनाएर जाने र अभिभावकले आफ्ना सन्तानका लागि केटा वा केटी हेर्ने गर्दथे। दुवै पक्षबीच कुरा मिलेमा घरैमा पुगेर कुरा छिन्ने चलन समेत रहेको उनले बताए।

अन्य समुदायको पनि आकर्षण

जात्री मेला अहिले धिमाल समुदायको मात्र नभई अन्य समुदायको पनि आकर्षण बन्दै गएको छ। मेलामा हुने विविधता, रमाइलोलगायतका कारण अन्य समुदायको आकर्षण बढ्दै गएको हो।

‘जात्री मेलामा सबै समुदायको सहभागिता बढ्दै जानुको कारण मेलाको विविधता पनि हो,’ सञ्चारकर्मी अजित धिमाल भन्छन्, ‘विभिन्न रमाइलो, सांस्कृतिक कार्यक्रमलगायतले पनि अन्य समुदायका मानिसलाई आकर्षित गरिरहेको छ।’

झापाको कमल गाउँपालिका–५ का देवेन्द्र आङ्देम्बे जात्रीजस्ता मेला तथा उत्सवलाई कुन समुदाय वा जाति विशेषको भन्दा पनि समग्र नेपालीहरुको भनेर मनाउने चलन बढ्नुले सामाजिक सद्भाव र सांस्कृति आदनप्रदान पनि बढेको बताउँछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.