श्रीमती माइतीमा बसेपछि तनावमा थिए मानबहादुर

|
धनराज सेर्माको घरलाई सिल गर्दै प्रहरी

पाँचथर : यहाँको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेस्थित दुई परिवारका नौजनाको हत्या प्रकरणमा प्रहरीले अनुसन्धानको सुई बमबहादुर फ्याकका कान्छा ज्वाइँ मानबहादुर माखिमतर्फ सोझाएको छ। 

सोमबार राति धनराज सेर्मा र बमबहादुरका परिवारका नौजनाको हत्या भएको घटनामा प्रहरीले मानबहादुरतर्फ अनुसन्धान केन्द्रित गरेको हो। प्रहरीका अनुसार ससुरालीले छोरीसँग सम्बन्धविच्छेद गराइदिन खोजेपछि रिसाएका ज्वाइँले यो हत्याकाण्ड मच्चाएको अनुमानसहित अनुसन्धान थालेको हो।

नौजनाको हत्या भएको घटनालगत्तै मानबहादुर आफ्नै गाउँ मिक्लाजुङ–७ लिम्बाको बुधबारेमा झुण्डिएको अवस्थामा भेटिएका थिए। बमबहादुरकी कान्छी छोरी मनकुमारीसँग बिहे गरेका मानबहादुर केही समयदेखि तनावमा रहेको प्रहरीको सुरुवाती अनुसन्धानले खुलाएको छ। 

जिल्ला प्रहरी कार्यालय पाँचथरका डिएसपी नरेन्द्र कुवँरका अनुसार मानबहादुरसँग झगडा परेपछि मनकुमारी आरुबोटेस्थित माइतीमा बस्दै आएकी थिइन्। श्रीमतीले घर छाडेपछि तनावमा रहेका मानबहादुरको यस घटनामा संलग्नताबारे प्रहरीले अनुसन्धान केन्द्रित गरेको हो। 

बिहानै घटनास्थलमा पुगेका प्रहरीले धनराज र बमबहादुरको घरलाई घेरा दिएर राखेका छन्। प्रदेश प्रहरी र सीआईबीको टोली आइनपुगेकाले प्रहरीले अहिलेसम्म घटनास्थल जाँच प्रकृति मुचुल्का पनि उठाइसकेको छैन।

आरुबोटेबाट करिब २ घण्टा पैदलको बुधबारेमा मानबहादुरको शव झुण्डिएको अवस्थामा भेटिएपछि डिएसपी कुवँर र मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष अम्मर माखिमसहितको टोली त्यसतर्फ गएको छ।

प्रहरीले सुरुवाती अनुसन्धानका क्रममा यो हत्या प्रकरणमा मानबहादुरकै हात रहेको हुन सक्ने अनुमान गरेको छ। घटनाका क्रममा बमबहादुरको घरबाट ज्यान बचाएर भागेकी १३ वर्षीया सीता खजुमले पनि एकजनामात्रै आक्रमणकारीलाई देखेको बताएपछि प्रहरी अनुसन्धान मानबहादुरतर्फ केन्द्रित भएको हो। 

अहिले आरुबोटेमा प्रहरी चौकी दशमी, इलाका प्रहरी कार्यालय रवि र जिल्ला प्रहरी कार्यालय पाँचथरको टोली तैनाथ छ। तालिम प्राप्त कुकुरसहितको प्रदेश प्रहरी टोली आइनसकेकाले थप अनुसन्धान अघि बढेको छैन। 

शिशाले बिरामी 

करिब एक साता अघि मात्रै बमबहादुर ज्वाइँ धनराजको परिवारलाई खाजामा मिसाएर शिशा खुवाइएको थियो। शिशा खाएपछि उनीहरु सबैजना बिरामी भएका थिए। तर यसमा संलग्न व्यक्तिको पहिचान हुन सकेको छैन। 

धामी बसेपछि हत्या 

स्थानीयबासीका अनुसार धनराजको घरमा सोमबार राति धामी राखिएको थियो। धनराजको घरमा मध्यरातिसम्म चिन्ता बसाइसकेपछि आक्रमण भएको खुलेको छ। 

मध्यराति चिन्ता सकिएर छिमेकी र धामीसमेत गइसकेपछि धनराजको परिवारमाथि खुकुरी प्रहार भएको खुलेको छ। 

सम्बन्धित समाचार :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.