|

बाँके : आकाशे पानीको भरमा धान खेती गर्दै आएका बाँकेका किसानले सिक्टा नहरको पानी यस वर्ष पनि नपाउने निश्चित भएको छ। २०७५ साउन ७ मा नहरको विभिन्न ठाउँमा बाँध भत्किए पनि समयमा मर्मत-सम्भार हुन नसक्दा बाँकेका किसानले यस वर्षको धान खेतीका लागि पनि पानी नपाउने निश्चित भएको हो।

सिक्टा सिंचाइ आयोजनाले पहिलो चरणमा पश्चिम नहरबाट बाँकेका ५० हजार परिवारमध्ये २१ हजार परिवारलाई सिंचाइ सुविधा दिने योजना बनाएको थियो।  बाँध भत्केपछि चर्को विरोध र खख्तियारमा उजुरी परेपछि मर्मत-सम्भारमा बाधा पुगेको सिक्टा सिंचाइ आयोजनाले जनाएको छ।

‘बाँध भत्केको दिनदेखि नै मर्मत-सम्भार गर्न पाएको भए अहिलेसम्म किसानले सिंचाइका लागि सिक्टा नहरको पानी पाइसक्ने थिए’, सिक्टा सिंचाइ आयोजनाका निर्देशक कृष्णप्रसाद नेपालले भने, ‘तीनमहिना अघि नै मर्मत-सम्भारका लागि अनुरोध गरे पनि केन्द्रबाट निर्देशन आउन नसक्दा ढिलाई भएको हो।’ उनले त्रुटि पत्ता लगाउन नहमा पानी परीक्षण गर्ने सैद्धान्तिक ब्यवस्था भएकाले उनले त्रुटि हुनासाथ मर्मत-सम्भार गर्न नपाउँदा समस्या झनै जटिल भएको बताए।

‘पानी छोड्दैमर्मत-सम्भार गर्दै गरेको भए अहिलेसम्म मर्मतको काम पूरा भएर कृषकले पानी उपभोग गर्न सुरु भइसक्थ्यो’ उनले भने। 

मर्मत गर्ने मन्त्रीपरिषदको निर्णय, तर कार्यादेश आएन

प्रधानमन्त्री केपी शर्मा ओलीले सिक्टा सिंचाइ आयोजनाको ३ बैशाखमा हेलिकप्टर मार्फत निरीक्षण गरेपछि १० बैशाखमा बसेको मन्त्री परिषद बैठकले सिक्टा नहरको मर्मत-सम्भार गर्ने निर्णय गरि अनुमानित लागत पठाउन सिक्टा सिंचाइ आयोजनालाई निर्देशन दिएको थियो। त्यस लगत्तै आयोजनाले वस्तुगत अध्ययन गरी अनुमानित लागत पठाएको आयोजनाका निर्देशक नेपालले जानकारी दिए। उनले अनुमानित लागत पठाए पनि अहिलेसम्म स्विकृत भइनसकेको बताए। उनले एकहप्ता भित्र रकमसहितको परिपत्र आउने बताए।

रकम र कार्यादेश आए पनि यस वर्षको धान खेतीका लागि नहरकमा पानी छोड्न नसकिने बताए। उनले एक महिनामा मर्मतको काम सम्पन्न गर्न सक्ने कुनै सम्भावना नरहेको बताए। ‘मर्मत गर्न कम्तीमा तीन महिना लाग्ने अनुमान छ,’ उनले भने। 

पश्चिम मुल नहरको ४५.२५ किलोमिटर मध्ये ०–१८ किलोमिटरसम्मको नहरमा कुनै पनि समस्या नभएको आयोजना निर्देशक नेपालको भनाई छ। उनले २०–२६ किलोमिटरमा अधिक र २६–३४ किलोमिटरमा सामान्य मर्मत गर्नुपर्ने अवस्था रहेको बताए। तर मर्मत-सम्भार गरेको लामो समय भएकोले धेरै ठाउँमा समस्या देखिन सकिने उनले बताए।

‘मुल नहरको ०–१८ किलोमिटरमा अहिले पनि पानी छोड्न सकिन्छ, यस क्षेत्रमा कुनै पनि समस्या छैन,’ उनले भने। उनले बस्नका लागि रंगरोगन गरेर तयार पारिएको तीनतले घरमा ताला लगाएर दुई वर्षपछि खोल्दा जुन अवस्थामा घर हुन्छ त्यही अवस्था सिक्टा नहरको भएको बताए। उनले भने, ‘ताला लगाएको तीनतले घरको सवैतिर माकुराको जालो भए जस्तै नहरको अधिकांश ठाउँ पनि जीर्ण भएको अनुमान छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.