|

दाङ : नेपाल विद्युत् प्राधिकरण शाखा कार्यालय दाङमा गत वर्षदेखि सुरु गरिएको अनलाइन सेवा प्रभावकारी हुन सकेको छैन। गत वर्षको जेठदेखि तुलसीपुर र घोराही विद्युत प्राधिकरण केन्द्रमा महसुल तिर्न अनलाइन सेवा सुरु गरिएका थियो। तर उक्त सेवा प्रभावकारी हुन सकेको छैन।

घर र अफिसमा बसीबसी विद्युत महसुल बुझाउन सकिने गरी सञ्चालनमा ल्याइएको अनलाइन सेवा सेवाग्राहीका लागि झन् सकस भएको छ। तर, प्राधिकरण तुलसीपुर वितरण केन्द्रका प्रमुख दीपकजंग चौधरीका अनुसार महसुल बुझाउने विधिबारे सेवाग्राहीहरुले चासो नलिएकाले अनलाइन सेवा प्रभावकारी बन्न नसकेको दाबी गर्छन्। 

उनले बिल बुझाउन महिला सेवाग्राहीहरु बिल काउण्टरमा लाइनमा बस्ने गरेको बताए। अनलाइन सेवा सञ्चालन गर्ने विधिबारे सिक्न नचहाने र पैसा तिरेको बिल नै खोज्ने भएकाले सेवा प्रभावकारी नभएको प्राधिकरणले जनाएको छ। 

कार्यालयमा बिल बुझाउन आएका सेवाग्राहीलाई करिब तीन महिनादेखि इ– सेवाको महत्त्व र समय बचतबारे जानकारी गराउने गरिएको छ। तर, सेवाग्राहीहरु अझै विश्वस्त हुन नसकेको नेपाल विद्युत प्राधिरकण शाखा कार्यालयले जनाएको छ।

तुलसीपुर वितरण केन्द्रमा करिब ३८ हजार ग्राहक छन्। दैनिक २०० जनाले जतिले अनलाइनबाट महसुल तिर्ने गरेका कार्यालय प्रमुख चौधरीले बताए। यस्तै, घोराही वितरण केन्द्रका सेवाग्राहीले पनि अनलाइन सेवा प्रभावकारीरुपमा उपयोग गरेका छैनन्। केन्द्र प्रमुख मधुसुदन यावदले भने, ‘जति हुनुपर्ने हो त्यो भएको छैन, तर बिस्तारै बढ्दो क्रम छ।’ उनले अनलाइन सेवाको महत्त्वबारे सेवाग्राहीलाई सचेतना दिनुपर्ने बताए।

घोराहीस्थित कार्यालयले अनलाइन र टोकन सेवाबाट महसुल बुझ्दै आएको छ। खासगरी महिलाहरुलाई नै महसुल बुझाउन आउने भएकाले उनीहरुलाई जानकारी नभएर पनि यस्तो भएको हुन सक्ने उनले बताए। तर, नयाँ प्रविधिप्रति आफूहरुलाई विश्वास नलाएको सेवाग्राहीले बताएका छन्।

अनलाइन सेवाबाट बिल बुझाउन सकिने भन्ने सुनेको तर विश्वास नलाग्ने तुलसीपुर उपमहानगरपालिका–२ का  एसबी वलीले बताए। उनले भने, ‘अहिलेसम्म अनलाइन सेवावाट महसुल बुझाएको छैन।’

कार्यालयमा गई महसुल बुझाउँदा बिल पाइन्छ र अनलाइनबाट बुझाउँदा नपाइने सेवाग्राहीहरु बताउँछन्। यही भएर विद्युत कार्यालयमा आएर घण्टौं लाइनमा बसी महसुल तिर्ने गरेको उनीहरुको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.