|

पछिल्लो दशक सर्वाधिक बढी अपेक्षा गरिएको फुटबल टिमका रूपमा रह्यो अर्जेन्टिना। विश्वभर आफ्नो रवाफ देखाउन सफल लियोनेल मेसीको उदयसँगै अर्जेन्टिनाको परिभाषा बदलियो। अर्जेन्टिनाका लागि पछिल्लो दशकमा महत्त्वपूर्ण उपलब्धि २००८ मा बेइजिङ ओलम्पिकमा जितेको गोल्ड मेडल नै हो। तर त्यसपछि २०१४ को विश्वकप फाइनल र त्यसपछि कोपा अमेरिका फुटबल २०१६ को फाइनल अर्जेन्टिनाका लागि पछिल्लो उपलब्धिका रूपमा रहेका छन्।

वर्तमान फुटबलमा अर्जेन्टिनाको स्वर्णिम पुस्ता रहेको मानिन्छ तर उपलब्धि सन्तोषजनक छैन। क्लब फुटबलमा बार्सिलोनालाई सबैखाले उपलब्धि दिलाएका कप्तान लियोनेल मेसीलाई अर्जेन्टिनालाई सफलता दिलाउन नसकेकोमा दबाब छ।

यस्तोमा पुन: मेसीको कप्तानीमा अर्जेन्टिना फुटबल एसोसिएसन (एएफए) ले आसन्न कोपा अमेरिका फुटबलका लागि राष्ट्रिय टिम घोषणा गरेको छ।  मुख्य प्रशिक्षका लियोनेल स्कालोनीले स्टार फरवार्ड लियोनेल मेसीकै कप्तानीमा २३ सदस्यीय टोलीको घोषणा गरेसँगै फेरी एकपटक बलियो मानिएको अर्जेन्टिनी फुटबल पुस्ताको परीक्षा हुने छ।

प्रशिक्षक स्कोलानीले मंगलबार राति ४० खेलाडीबाट २३ सदस्यीय टोलीको घोषणा गरेका हुन्। मेसीले २०१६ को कोपा अमेरिका फाइनलमा पराजित भएपछि राष्ट्रिय टोलीबाट सन्यासको घोषणा गरेका थिए। त्यतिबेला अर्जेन्टिना पेनाल्टी सुटआउटमा चिलीसँग पराजित भएको थियो। तर, त्यसपछि अर्जेन्टिनी सरकार र फुटबल समर्थकको आग्रहमा उनी पुनः राष्ट्रिय टोलीमा फर्किए। रसिया विश्वकप समेत खेलेका मेसी त्यसयताभने विरलै मात्र राष्ट्रिय टिममा छन्। 

२३ सदस्यीय टोलीमा यो पटक पाउलो डिबाला र सर्जियो अगुएरोले स्थान बनाउन सफल हुँदा अर्को स्टार फरवार्ड मौरो इकार्डीले टोलीमा स्थान बनाउन सकेनन्। इटालियन क्लब इन्टर मिलानका कप्तान समेत रहेका उनले राम्रो प्रदर्शन गर्दै आएका छन्। अगुएरो रसिया विश्वकपपछि पहिलोपटक टोलीमा स्थान बनाउन सफल भएका थिए। प्रतियोगिता आगामी जुनमा ब्राजिलमा आयोजना हुदैछ। समूह ‘बी’ मा रहेको अर्जेन्टिनाले कोलम्विया, पाराग्वे र पाहुना टोली कतारसँग प्रतिस्पर्धा गर्नेछ।

यस्तो छ टिम,

गोलरक्षक– फ्रान्को अर्मानी (रिभर प्लेट), अगस्टिन मार्चेसिन (क्लब अमेरिका), इस्टेब्यान एन्ड्राडा (बोका जुनियर्स)

डिफेन्डर – निकोलस ओटामेन्डी (म्यानचेस्टर सिटी), रामिरो फुनेस मोरी (भिल्लारियल), मार्काेस अकुना (स्पोर्टिङ लिस्वन), निकोलस टागलियाफिको (आयाक्स), जर्मन पेज्जेला (फ्लोरेन्टिना), रेन्जो साराभिया (रेसिङ), जुवान फोयथ (टोटेनहम)

मिडफिल्डर – एन्जल डि मारिया (पीएसजी), रोबर्टाे पेरेरा (वाटफोर्ड), जियोभानी लो साल्सो (रियल बेटिस), लियान्दो पाराडेस (पीएसजी), रोड्रिगो डि पल (उडिनेसी), गुइडो रोड्रिग्वेज (क्लब अमेरिका), इजेक्वेल पालासियोस (रिभर प्लेट)

फरवार्ड – लियोनेल मेसी (बार्सिलोना), सर्जियो अगुएरो (म्यानचेस्टर सिटी), पाउलो डिबाला (युभेन्टस), लौटारो मार्टिनेज (इन्टर मिलान) र माटियस सुवारेज (रिभर प्लेट)

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.