भारतमा रोजगारी गरेर फर्केका थिए

|

भोजपुर : सरकारले प्रतिबन्ध लगाएपछि पहिलो पटक नेत्रविक्रम चन्द विप्लवका एकजना कार्यकर्ता प्रहरी कारबाहीमा मारिएका छन्।

सरकारको प्रतिबन्धसँगै भूमिगत बनेको विप्लवका एकजना कार्यकर्ताले भोजपुरमा ज्यान गुमाएका हुन्। एक नम्बर प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त गस्ती टोलीको कारबाहीमा विप्लवका एकजना कार्यकर्ता मारिएका हुन्।

ट्याम्के-मैयुङ गाउँपालिका-२ स्थित धोद्रे जंगलमा विप्लव समूहका कार्यकर्तालाई पक्राउ गर्न पुगेको अवस्थामा गोली चल्दा भोजपुरकै षडानन्द नगरपालिका-२ कुदाकका २३ वर्षीय तीर्थराज घिमिरेले ज्यान गुमाएका हुन् । 

प्रदेश प्रहरी कार्यालयले मंगलबार निकालेको विज्ञप्तिमा करिब १५ जनाको संख्यामा रहेका हतियारधारी विप्लवका कार्यकर्तालाई पक्रन खोज्दा एकजनाले गोली चलाउन खोजेको दाबी गरिएको छ। घटनास्थल भोजपुरको छिनामखु र खोटाङ्गको केपलासगढी गाउँपालिकाको सीमाक्षेत्रमा पर्दछ। 

अन्य हतियारधारी भागे पनि कम्मरमा भिरेको पेस्तोल निकालेर फायरिङ गर्न खोजेपछि प्रहरीको तर्फबाट जवाफी फायरिङ गर्ने क्रममा घिमिरेलाई गोली लागेको दाबी प्रदेश प्रहरीले गरेको थियो।

भोजपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाका अनुसार देब्रे तिघ्रामा गोली लागेका घिमिरेलाई घटनास्थलबाट भोजपुर सदरमुकाम हुँदै धरान लैजाने क्रममा बाटैमा ज्यान गएको हो।

बाटैमा निधन भएका घिमिरेको शव पोस्टमार्टमका लागि अहिले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ। प्रहरीका अनुसार घाइते भएका घिमिरेलाई घटनास्थलबाट सडकमा निकाल्न करिब साढे ४ घण्टा लागेको थियो । 

भोजपुरमा प्रहरी र विप्लवका कार्यकर्ताबीच गोली हानाहान 

ट्याम्के-मैयुङको चखेवाबाट भोजपुर सदरमुकाम लैजान करिब डेढ घण्टा लागेको दाबी प्रहरीले गरेको छ। भोजपुरबाट उपचारका लागि धरान लैजाने क्रममा अत्यधिक रक्तश्राव भएर घिमिरेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रवक्ता पाण्डवकुमार राजवंशीले जानकारी दिए ।

भारतमा रोजगारी गर्थे

छिमेकीहरुका अनुसार तीर्थ गाउँमा बस्दैनथिए । उनले लामो समयदेखि भारतमा रोजगारी गर्दै आएका थिए। परिवारका अनुसार उनी करिब २० दिनअघि मात्रै गाउँ फर्केका थिए । 

उनका बुवा रिमनाथ घिमिरे तत्कालीन नेकपा माओवादीका समर्थक हुन्। उनी हाल नेकपाका समर्थककारुपमा गाउँमै क्रियाशील छन् । गाउँमा हुने निर्माणको काममा उनले ठेक्का लिएर काम गर्दै आएका थिए। घिमिरेका दुईमध्ये कान्छा छोरा थिए तीर्थ।

आफन्तकहाँ हिँडेका थिए

पारिवारिक श्रोतका अनुसार तीर्थ भारतबाट गाउँ फर्किएपछि आफन्तकहाँ जाने भन्दै हिँडेका थिए । एकजना छिमेकीका अनुसार उनी गाउँमा आएको २ दिनमै भोजपुरकै साल्पा-सिलिचो गाउँपालिकाको सालेवास्थित आफन्तकहाँ हिँडेका थिए । 

सालेवास्थित आफन्तको घर जान्छु भनेर हिँडेका उनी विप्लव समूहमा कसरी लागे भन्‍ने परिवारले पनि पत्तो पाएको छैन। कुदाककाउले विप्लवको प्रभाव क्षेत्र हो। 

कुदाककाउलेसँगै दोभानेलाई पनि विप्लवका कार्यकर्ताले सुरक्षित क्षेत्रकारुपमा उपयोग गर्दै आएका थिए ।प्रहरीमै रहेका उनका एक आफन्तका अनुसार तीर्थका एकजना छोरा पनि छन्। 

खोटाङ र भोजपुरको सिमानामा पर्ने मैयुङको धोद्रे जंगल क्षेत्रमा हतियारधारीको गतिबिधि बढेको सूचना प्रहरीले पाएको थियो। त्यो सूचना प्रदेश प्रहरीसम्म पुगेपछि जिल्ला प्रहरीसँग मिलेर संयुक्त गस्ती थालिएको थियो। 

गस्तीकै क्रममा प्रहरीले विप्लवका कार्यकर्तालाई भेट्टाएको दाबी गरेको छ। त्यही क्रममा विप्लव नेतृत्वको नेकपामा हिँडेको केही सातामै तीर्थले ज्यान गुमाउन पुगे। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.