जागिर खोसिएपछि चार शिक्षकलाई हृदयाघात !

|

काठमाडौं : शिक्षा सेवा आयोगको परीक्षामा अनुत्तीर्ण अस्थायी शिक्षक समूह अनशन बसेको २० दिन भएको छ। आयोगले लिएको परीक्षामा अनुत्तीर्ण अस्थायी शिक्षकलाई अवकाश दिने भनेपछि पुनःरोजगारी माग गर्दै अस्थायी शिक्षक शान्तिबाटिकामा अनशन बस्दै आएका छन्।

अस्थायी शिक्षक तथा सचिव राजन त्रिपाठीले सरकारले शिक्षकलाई रोजगारीबाट बञ्चित गराएर विद्यालयमा हाजिर हुन नदिएको बताए। 'हामीले गरिरहेको रोजगार नगुमोस्', उनले भने, ‘हाम्रो रोजगार निरन्तरता होस्, सरकारले हाम्रो एकसुत्रीय माग सुन्नैपर्छ। लामो समयदेखि शिक्षण पेसामा जीवन बिताएका हामीलाई उमेर अवधिसम्म पढाउन दिनुपर्छ।’

उनका अनुसार रोजगारी निरन्तर हुनुपर्ने मागसहित १२ हजार ७३९ अस्थायी शिक्षक आन्दोलित छन्। ‘रोजगारी खोसेर जबरजस्ती अवकाशपत्र भिराउँदा हृयघातका कारण ४ जना अस्थायी शिक्षकले ज्यान गुमाइसक्नुभएको छ’, उनले भने, ‘दुईजना शिक्षिका मंगलबार रातिदेखि वीर अस्पतालमा गम्भीर अवस्थामा हुनुहुन्छ।’ उनले शिक्षिका पनि मानसिक तनावमा रहेको बताए। संविधानमा उल्लेखित अधिकारको हनन गर्दै प्रहरीले अनशन बस्नसमेत नदिएको गुनासो शिक्षकहरुले गरेका छन्।

शिक्षिका विजया शर्माले आफू शिक्षण पेसामा लागेको २५ वर्ष पुगेको बताइन्। ‘हाम्रो जागिर निरन्तर होस्, सक्दासम्म काम गरेरै खान पाइयोस। हामीलाई सडकसम्म नपुर्‍याए हुने', उनी भन्छिन्, 'सरकार हाम्रो रोजीरोटी नखोसिदिउन्।’

उनले सरकारको यो निर्णयबाट ५० हजार परिवार विच्ल्लीमा परेको सुनाइन्। 'सरकारले हामीलाई सबै सुविधा दिन सक्दैन भने हामीले वर्षौदेखि गर्दै आएको रोजिरोटी किन खोस्ने?', उनले प्रश्न उठाइन्। 

शिक्षिका पूर्णिमा मगरले शिक्षकको माग र गुनासो सुन्‍नैपर्ने बताइन्। 'जबरजस्ती अवकाशपत्र थमाइदिँदा चारजना शिक्षकको ज्यान गइसकेको छ, ‘के नेपालमा आफ्नो दक्षता र सीपका आधारमा काम गरेर खान पाउने अधिकार छैन ?', उनले प्रश्न गरिन्, 'हामी नेपाली जनता होइनौँ ?’ उनका अनुसार ७७ जिल्लाकै अस्थायी शिक्षक अनशन बसेर आन्दोलित भएका छन्।

रुपन्देहीस्थित तिलोत्तमा माध्यमिक विद्यालयका शिक्षक दयाशङ्कर गुप्ताले लामो समयदेखि कार्यरत शिक्षकको रोजगारी खोस्‍ने अधिकार कसैलाई नभएको बताए। उनले आफ्नो रोजीरोटी खोसिएको अवस्थामा आन्दोलन कडा बनाउने बताए।

‘हामी अनशन बसेको २०/२१ दिन भयो। तर दुई चार दिनदेखि नेपाल प्रहरीले अनशनस्थलमा पाल लगाउन दिएको छैन', उनले भने, 'संविधानको धारा १७ लेखिएको स्वतन्त्रताको हकको हनन भइरहेछ। सरकारले हाम्रो मागलाई सुनिरहेको छैन।’

स्वतन्त्रता रुपमा बाँच्न पाउने अधिकारलाई सरकारले सुनिश्चिता गर्दै संविधानको धारा ३३ अनुसार रोजगारी ग्यारेन्टी गर्नुपर्ने माग रहेको उनी बताउँछन्। '२५ वर्ष शिक्षण गरेर कति मान्छेलाई डाक्टर,पाइलट,मन्त्री बनायौं। अहिले हामी कसरी असक्षम भयौं?', उनले प्रश्‍न गरे। सरकारले तोकेको अस्थायी शिक्षकको अवधिसम्म पहिलेकै विद्यालयमा काम गर्ने अवसर पाउनुपर्ने माग उनले राखे।

पर्साकी शिक्षिका अस्मिता थापाले अस्थायी शिक्षकको एउटै माग रोजगारी निरन्तर हुनुपर्ने बताइन्। 'हाम्रो जागिर विस्थापित नहोस्, जुन विद्यालयबाट हामीले काम गर्यौँ, त्यही विद्यालयमै काम गर्ने अवस्था बनोस्', उनले भनिन्। सरकारले अस्थायी शिक्षकको माग नसुनेसम्म अनशन र आन्दोलन जारी राख्ने उनीहरुको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.