|

इलाम : इलामको सूर्योदय नगरपालिकामा ११ जेठबाट दोस्रो संस्करणको सूर्योदय मेयरकप आमन्त्रण फुटबल प्रतियोगिता हुने भएको छ। १८ गतेसम्म सञ्‍चालन हुने प्रतियोगितामा इलाम र झापाका ९ वटा नगरपालिकाको सहभागिता रहेको छ।

खेलकुदको माध्यमबाट पर्यटनको प्रर्वद्धन गर्ने उद्देश्यका साथ २०७४ सालबाट मेयरकप फुटबल आयोजना गरिँदै आएको छ। स्वदेशी तथा विदेशी पर्यटकहरूलाई आकर्षित गरी खेल पर्यटन प्रवर्द्धन गर्ने अवधारणासँगै स्थानीय सरकारहरूबीच आपसी सदभाव तथा समन्वयात्मक सम्बन्ध कायम राख्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराइएको छ।

प्रतियोगितामा इलामको सूर्योदय नगरपालिका, देउमाई नगरपालिका, इलाम नगरपालिका र माई नगरपालिका तथा झापाको शिवसतासी नगरपालिका, दमक नगरपालिका, कन्काई नगरपालिका, मेचीनगर नगरपालिका र अर्जुनधारा नगरपालिकाको सहभागिता रहेका छ।

करफोक खेलमैदानमा संचालन हुने प्रतियोगिताको विजेता टिमले २ लाख तथा उपविजेताले १ लाख रुपैयाँ प्राप्त गर्ने जनाइएको छ। प्रतियोगिताको उत्कृष्ट खेलाडी, गोलरक्षक, सर्वाधिक गोलकर्ताले जनही नगद ८ हजार प्राप्त गर्नेछन्। प्रतियोगिता सम्पन्न गर्न २० लाख ८१ हजार ९सय ९८ रुपैयाँ लाग्ने आयोजक समितिको अनुमान रहेको छ। प्रतियोगिताको उद्धघाटन खेलमा आयोजक सूर्योदय नगरपालिकाले अर्जुनधारा नगरपालिकाको सामना गर्नेछ। 

पत्रकार भेटघाटमा बोल्दै नगर प्रमुख रणबहादुर राईले सुर्योदय नगरपालिकामा खेल पर्यटनको संभावना रहेको बताए। उनले खेलकुदलाई प्राथमिकतामा राखेर पर्यटकीयसँगै सूर्योदयलाई खेलकुद नगरीका रूपमा समेत चिनाउने योजना रहेको बताए। खेलाडीहरुलाई प्रोत्साहनका लागि एकजना महिलालाई खेलकुद सदभावना दूत बनाउनका लागि बजेट व्यवस्थापन गर्न लागिएको उनले बताए।

कजेनीमा रहेको २१ रोपनी क्षेत्रफलमा रंगशाला निर्माणका लागि डिपिआर गर्न नगरबाट १० लाख रुपैयाँ विनियोजन गरिएको राईले जानकारी दिए। करफोक खेलमैदान स्तरोन्नतिको लागि एन्फाबाट १० लाख, सांसद विकास कोषबाट १० लाख र नगरले १० लाख लगानी गरिएको राईले बताए। कार्यक्रममा आयोजक टिमको जर्सी सार्वजनिक गर्नुका साथै नगरका विभिन्न क्षेत्रमा रहेको क्लबहरूलाई फुटबल, भलिबल र क्रिकेटका सामाग्रीहरू वितरण गरिएको छ। मेयरकपको गत संस्करणमा आयोजकलाई हराउँदै मेचीनगर नगरपालिकाले उपाधी जितेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.