|

 भारतमा लोकसभा निर्वाचनको मतगणना सुरू भएको छ। ५ सय ४५ सदस्यीय लोकसभामध्ये ५ सय ४३ स्थानका लागि भएको निर्वाचनको मतगणना आज सुरू भएको हो। 

विद्युतीय मेसिनमार्फत मतगणना हुने भएकाले साँझसम्ममा अधिकांश स्थानको नतिजा आउने अपेक्षा गरिएको छ। मतगणना स्थलको सुरक्षा व्यवस्था कडा पारिएको छ। भारतीय निर्वाचन आयोगले मतगणनाका लागि सम्पूर्ण प्रक्रिया पूरा गरेको जनाएको छ।

सात चरणमा सम्पन्न निर्वाचन गत अप्रिल ११ बाट सुरु भई यही मे १९ तारिखमा सकिएको थियो। चुनावमा भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको गठबन्धन नै विजयी हुने मत सर्वेक्षणहरुले ठहर गरेका छन्।

भाजपा  नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) बहुमत स्थानमा जित हात पार्ने देखिएको हो। सर्वेक्षणहरुले एनडीएले २ सय ८० देखि ३ सय सिट जित्ने अनुमान गरेका छन्। लोकसभामा बहुमतका लागि २ सय ७२ सिट आवश्यक पर्छ। सर्वेक्षणहरुको नतिजालाई आधार मान्ने हो भने नरेन्द्र मोदी फेरि प्रधानमन्त्री बन्ने निश्चित जस्तै देखिएको छ।

भारतीय राष्ट्रिय कंग्रेस नेतृत्वको संयुक्त प्रगतिशील गठबन्धन (युपीए)ले करिब १ सय ४० सिट जित्ने मत सर्वेक्षणमा देखिएको छ। यता,सर्वेक्षणहरूले देखाएका नतिजालाई विपक्षी नेताहरूले अस्वीकार गर्दै आएका छन् ५ वर्षअघिको चुनावमा भाजपाले एक्लै २ सय ७२ स्थानमा जित हात पारेको थियो। विपक्षी कांग्रेस ४४ सिटमा सिमित भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.