लक्ष्य अनुसारकै राजस्‍व

|

झापा (भद्रपुर) : भद्रपुर भन्सार कार्यालयको स्तरोन्‍नति भएको ९ महिना बित्यो। भद्रपुरस्थित भारतसँगको मेची पुल बनेसँगै भन्सार विभागले चालू आर्थिक वर्षको भदौ १ गतेदेखि भद्रपुर भन्सार कार्यालयको स्तरोन्‍नति गरेको थियो।

वि.सं. २०३९ सालमा स्थापित भद्रपुर छोटी भन्सार कार्यालय त्यसअघि मेची भन्सार कार्यालय काँकडभिट्टा मातहत् थियो। भद्रपुर भन्सारको उद्घाटन अर्थमन्त्री डा युवराज खतिवडाले गत भदौ १७ गते गरेका थिए।   

यो भन्सारलाई भौतिक पूर्वाधारबिनै मूलभन्सारमा परिणत गरिएको हो। कर्मचारीले यहाँ छोटीकै संरचनाबाट काम गरिरहेका छन्। संरचना नहुँदा कर्मचारीलाई काम गर्न समस्या भएको छ।

पुल छ सडक छैन

२०७५ माघ १७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले मेची पुलको उद्घाटन गरेका थिए। प्रधानमन्त्रीले पुल उद्घाटन गरे पनि नेपाल-भारत दुवैतर्फ सडकले निकास नपाउँदा भद्रपुर भन्सारमा कामको चाप बढेको छैन। सडकको निकास नहुँदा भौतिक पूर्वाधारबिनाको भन्सारका कर्मचारीलाई कामको चाप पनि छैन।

करिब १० कट्ठा जमिनमध्ये ७ कट्ठामा भन्सार बसेको छ। ‘तीन कट्ठा बढी जमिन पुलको सडकले लग्यो', भन्सार अधिकृत फणिन्द्र खतिवडाले भने, ‘भन्सारमा संरचना अभाव छ, सडकले गर्दा कार्यालय भवन आधा भत्काउनुपर्‍यो, जसले काममा समस्या परेको छ।'

कर्मचारीलाई आवासको समस्या रहेको उनले सुनाए। ‘भन्सार विभागले चालु आर्थिक वर्षमा करिब एक करोड बजेट कार्यालय व्यवस्थापनमा पठाएको छ', उनले भने, 'त्यही बजेटबाट कार्यालय सञ्चालन गर्न भवन निर्माण हुँदैछ।’ दुई तले कर्मचारी आवास निर्माण अघि बढिसकेको उनले बताए।

१० बिघा जमिन अधिग्रहण गरिँदै

विभागले भन्सारको स्तोरोन्नति त गर्‍यो, तर जमिन अधिग्रहण र भौतिक पूर्वाधार निर्माणमा ध्यान दिएन। जमिन अधिग्रहण गरी आधुनिक भन्सार कार्यालय स्थापना गर्न जनप्रतिनिधि, दल, उद्योगी व्यापारी र कर्मचारीले पहल सुरु गरेका छन्।

 

मेची पुल जोडने सडक उत्तरतर्फको जमिन भद्रपुर भन्सारलाई लिन तत्कालीन भन्सार अधिकृत गणपति कँडेलले भन्सार विभागसम्म कुरा पुर्‍याए। अधिकृत कँडेलको कार्तिक ७ गते सरुवा भएपछि उनको ठाउँमा भन्सार अधिकृत फणिन्द्र खतिवडा आए। अधिकृत  खतिवडाले पनि जमिन अधिग्रहणलाई प्राथमिकतामा राखेर काम बढाए।

'हालको भन्सारदेखि उत्तरतर्फको १० बिघा जमिन अधिग्रहण गर्न सम्पूर्ण कागजात भन्सार विभाग पठाइसकेका छौँ', अधिकृत खतिवडाले भने, 'भन्सार विभागले प्रक्रिया अघि बढाएर प्रस्तावित फाइल अर्थ मन्त्रालय पठाइसकेको छ। अर्थले पनि बजेट आवश्यकसहितको प्रस्तावित फाइल स्वीकृतका लागि प्रधानमन्त्री कार्यालयमा पठाइएको थियो।'

मन्त्रिपरिषद् बैठकमा जमिन अधिग्रहणको प्रस्तावित फाइल स्वीकृत भइसकेको जानकारी गराउँदै अधिकृत खतिवडाले भने, ‘भन्सार विभागमा आइपुगिसकेको कन्सल्टेन्सीमार्फत् डिजाइन बनाएर हामी पहिलो चरणअन्तर्गतको जमिन खरिद प्रक्रियातर्फ लाग्छौँ।'

यही आर्थिक वर्षभित्र पहिलो चरणको काम सक्ने लक्ष्य राखेको उनले बताए। ‘केही ढिला भए आगामी आर्थिक वर्षको असोजभित्र जमिन खरिद गरी सक्छौँ। ‘जमिन अधिग्रहणको काम सकेपछि दीर्घकालीन योजना अनुसार भौतिक पूर्वाधार निर्माण गर्न कम्तीमा ४ देखि ५ वर्ष लाग्न सक्छ, यसतर्फ विभागदेखि मन्त्रालय सकारात्मक छ, उनले थपे। भन्सार विभागका महानिर्देशक रामेश्वर खनालले चासो देखाउँदै भन्सारको जमिन खरिद गर्न स्थल अनुगमन गरेर गइसकेका छन्।

केचना छोटी भन्सार पुनः सञ्चालन

दक्षिणी झापाको कचनकवलमा आधा दशकदेखि बन्द रहेको केचना छोटी भन्सार कार्यालय पुनः सञ्चालनमा आएको छ। भारतको कादोगाउँ नाकासँग जोडिएको चाराआली केचना सडक खण्डलाई लक्षित गरी केचना छोटी भन्सार पुनः सञ्चालनमा ल्याइएको भन्सार अधिकृत खतिवडाले जानकारी दिए। स्थानीयको जमिनमा दुईतले काठको घरमा रहेको केचना छोटी भन्सार सुरक्षा र भवन जीर्ण हुँदा बन्द भएको थियो।

यस नाकामा सशस्त्र प्रहरीको बेस क्याम्प स्थापनासँगै कचनकवल गाउँपालिकाले भद्रपुर भन्सारसँग पुनः छोटी भन्सार राख्न पत्राचार गरेको थियो।

गाउँपालिकाले फागुन ८ गते भद्रपुर भन्सारमा पत्राचार गरेको अधिकृत खतिवडाले बताए, ‘कचनकवल १ नम्बर वडा कार्यालय परिसरभित्र बुधबारदेखि पुनः भन्सार सञ्चालनमा ल्याएका छौँ।’

उनका अनुसार केचनामा पुनः भन्सार सञ्चालनमा ल्याउन अघि भन्सार विभागका महानिर्देशक रामेश्वर खनालसहितको टोलीले वैशाखको पहिलो हप्ता स्थलगत निरीक्षण समेत गरेका थिए।

‘तीनजना कर्मचारी पठाएर भन्सार सञ्चालनमा ल्याइएको हो। कार्यालयमा जिन्सी सामग्रीसहित बोर्ड लगाइसकेका छौँ,' उनले भने, ‘त्यहाँबाट चोरी तस्करी भएर नेपाल भित्रिने सामान नियन्त्रण र रोकथामसँगै राजस्‍व संकलन थाल्छौँ।' यस भन्सारअन्तर्गत पाँचवटा छोटी भन्सार छन्। केचना, पाठामारी, घेराबारी, पन्तपाडा र कुमरखोद। तीमध्ये कुमरखोद र केचना मात्रै सञ्चालनमा छन्। 

लक्ष्यअनुसार राजस्‍व

भारतको बिहार र पश्चिम बंगाल राज्यसँग भद्रपुर नाका जोडिएको छ। सडक निकासबिनाको भन्सारमा अहिले लत्ताकपडा, चिया, सुर्ती, जुत्ता चप्पल लगायतका सामान आउने गरेको छ। वार्षिक १५ करोड लक्ष्य राखिएको भन्सारमा मासिक लक्ष्यअनुसार राजस्‍व संकलन भइरहेको भन्सारको तथ्यांकमा उल्लेख छ।

भन्सारको तथ्यांकअनुसार साउनमा ९५ लाख ५ हजार, भदौमा २ करोड ३० लाख २५ हजार, असोजमा २ करोड ६६ लाख ५६ हजार, कात्तिकमा १ करोड ७६ लाख ९९ हजार, मंसिरमा १ करोड ४२ लाख ६६ हजार, पुसमा १ करोड २७ लाख ५ हजार राजस्‍व असुली भएको छ।

त्यस्तै, माघमा १ करोड ३०  लाख ४१ हजार, फागुनमा १ करोड ५३ लाख ७६ हजार, चैतमा १ करोड ७३ लाख ९९ हजार र वैशाखमा १ करोड १९ लाख राजस्व संकलन भएको भन्सारका सुब्बा रेवती गिरीले जानकारी दिए।

भद्रपुर भन्सारमा राजस्‍वको तथ्यांक हेर्दा भदौ, असोज र कात्तिकमा मासिक लक्ष्यभन्दा बढी राजस्‍व संकलन भएको देखिन्छ। मंसिर, पुस र माघमा लक्ष्य नै पुगेन। राजस्‍व थपघट हुनुको मुख्य कारण चाडपर्व भएको भन्सारका नायव सुब्बा गिरीले बताए। ‘यस भन्सारमा लत्ताकपडा बढी मात्रमा आउँछ, उनले भने, ‘त्यही भएर राजस्‍व चाडपर्वको बेला ह्वात्तै बढेको हो, पुलबाट सवारीसाधन चल्न थालेपछि राजस्‍वमा थप वृद्धि हुनेछ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.