नगर प्रमुख भन्छन्- माइन्युट नै च्यात्‍नुपर्ने थिएन

|

दैलेख : चारवटा नगरपालिका र सातवटा गाउँपालिका रहेको दैलेख जिल्लामा ११ वटा स्थानीय तह छन्। ११ वटै स्थानीय तहमा बेलाबेला विवाद हुँदै आएको छ। जिल्लाका केही स्थानीय तहमा एकै पार्टीको बहुमत नहुँदा केही न केही विवाद आउने गरेको देख्‍न र सुन्‍न सकिन्छ। 

चुनाव जित्‍नका लागि उम्मेदवारहरूले जनताको घरदैलोसम्म पुगेर ठूलाठूला नारा लगाए। तर,  चुनाव जितेपछि जनताको काम गर्नुको साटो जनप्रतिनिधिहरू एक आपसको विवादमै रुमलिएर रमितेजस्तै भएको देखिन्छ। जनताका आवश्‍यकता पूरा नगरी दुई वर्षको अवधि विवादमै बिताएका छन्। 

२० वर्ष कर्मचारीतन्त्रले चलाएको मुलुकमा संघीयतासँगै स्थानीय सरकार आएको छ। आफूले प्रत्यक्ष मत हालेर चुनेका प्रतिनिधि आउँदा दुर्गम क्षेत्रको विकाससँगै आफ्नै मुलुकमा रोजगारी पाइएला र कामकै लागि खाडी मुलुक जानुपर्ने बाध्यता हट्ला भन्ने आशा मरिसकेको छ। 

नौमुले गाउँपालिकामा एउटै पार्टीबाट निर्वाचित गाउँपालिका अध्यक्ष र उपमध्क्षयबीच विवाद हुँदा केही समयअघि उपाध्क्षयले गाउँपालिकामा ताला लगाएकी थिइन्। उनले आफू अनुगमन समितिको संयोजक हुँदा पनि गाउँपालिका प्रमुखले जानकारी नगराई अनुगमन गर्ने गरेको भन्दै गाउँपालिकामा ताला लगाएकी हुन्। अध्यक्षले उतिबेला कार्यविधि नबुझेर काम गरेकाले विवाद सिर्जना भएको र अहिले विवाद समाधान भएर सबै मिलेर गाउँपालिकाको विकासतर्फ ध्यान दिएर लागि रहेको उपप्रमुख बताउँछिन्।

दुल्लु नगरपालिकामा बहुमत र अल्पमत हुँदा बेलाबेला विवाद भइरहन्छ। तत्कालीन एमालेको बहुमत रहेको दुल्लुमा पर्यटनको धरै सम्भावना भएको भए पनि पर्यटन विकास होस या सामाजिक विकासतर्फ ध्यान नदिएर जनप्रतिनिधि एकापसको विवादमै रुमलिएका छन्। काम गर्दै जाँदा सामान्य विवाद आउनु स्वभाविकै भएको बताउँछन् नगर प्रमुख घनश्याम भण्डारी। उनी भन्छन्, 'काम गर्दै गर्ने क्रममा सानतिना विवाद र असन्तुष्टि हुनु सामान्य नै हो' उनले थपे, 'नगरमा कामै गर्न नदिनेगरी भने कसैले विवाद सिर्जना गर्नुहुँदैन।' स्थानीय क्षेत्रको विकासका लागि कोही कसैले पनि बहुमत र अल्पमतको विवाद गर्न नहुने उनको तर्क छ। 

भैरवी गाउँपालिका अध्यक्ष प्रेम बुढाले दुई वर्षको समयाव्धि गाउँपालिकाको केन्द्र विवादमै बितेको बताए। उनले भने, 'केही न केही विवादमा अलमलिए पनि अहिले विवाद समाधान गरी सहमतिको आधारमा गाउँपालिकाको भवन निर्माण कार्यदेखि सबै विकास निर्माणका काममा एक भएर लागेका छौँ।'  

नारायण नगरपालिकामा एउटै पार्टीबाट निर्वाचित प्रमुख र उपप्रमुख भए पनि राजनीतिक गुटगतका कारण समय समयमा विवाद बाहिर आउने गरेको छ। तर, नगरपालिकाकी उप प्रमुख सावित्री मल्लले बाहिर हल्ला गरेजस्तो आफ्नो नगरपालिकामा विवाद नरहेको बताइन्। तर सोही नगरपालिकामा वडा नं १ कार्यवाहक वडा अध्यक्ष रहेका वडा सदस्य रमेश के सिलले कार्यकारीको कार्यकक्षमा ताला लगाए। नगर प्रमुख रत्नबहादुर खड्काले जायज मागहरू सम्बोधन गरिने भरपर्दो आश्वासन दिएपछि सहमतिमै ताला खुलाइएको थियो। 

गुराँस गाउँपालिकामा पनि गाउँपालिका अध्यक्ष र वडा अध्यक्षबीच बेलाबेला विवाद सिर्जना हुने गरेको छ। गाउँपालिका अध्यक्षले गाउँपालिकाको आर्थिक प्रशासन सञ्चालन गर्ने बेलामा संघीयताको मर्मविपरीत आफूखुसी काम गरेको, पार्टी विशेष स्वार्थमा बजेट मनपरी ढंगल चलाएको, कर्मचारी नियुक्ति गर्दा पार्टीका कार्यकर्तालाई नियुक्ति गरेको, आफ्ना कार्यकर्तालाई पालनपोषण गर्न बजेट दिएको वडा अध्यक्षहरूको आरोप छ। उनीहरूले यस विषयमा ध्यानाकर्षण गराउँदै गाउँपालिका अध्यक्षलाई ज्ञापनपत्र नै बुझाएका थिए।

हालै मात्र दैलेखको पश्चिममा पर्ने आठबीस नगरपालिकामा प्रमुख र उपप्रमुखको विवादले उग्ररूप लिएको छ। तत्कालीन एमालेबाट नगरपालिका प्रमुखमा निर्वाचित खड्गराज उपाध्यक्ष र कांग्रेसबाट निर्वाचित उपप्रमुख दीपा बोहराको विवाद जिल्लास्तरसम्म आइपुगेको छ।

तीन महिनाअघि आफूअनुकूलको निर्णय नभएको भन्दै उपप्रमुख बोहरा नेतृत्वको टोलीले प्रमुख प्रशासकीय अधिकृत कुलप्रसाद सुबेदीबाट माइन्युट कब्जा गरेर च्यातेको थियो। उक्त विवाद प्रमुख जिल्ला अधिकारी, कांग्रेसका जिल्ला सचिव, सरकारी वकिल र नेकपाका जिल्लास्तरका प्रतिनिधिबीच सहमति गरेर मिलाइएको नगरप्रमुख खड्गराज उपाध्यायले बताए।

पुरानो विवाद सेलाउन नपाउँदै वैशाख २६ गते नगरपालिकामा बसेको बैठकका निर्णयप्रति असहमति जनाउँदै गत वैशाख २७ गते प्रमुख प्रशासकीय अधिकृत कुलप्रसाद सुवेदीसँग उपप्रमुख बोहराले मागेको माइन्युट वडा नं ८ का अध्यक्ष मुक्तिप्रसाद उपाध्यायले च्यातिदिए। 

माइन्युट च्यातिएपछि नगरप्रमुख र वडा अध्यक्षले इलाका प्रहरी कार्यालय रकममा घटना विवरणको मुचुल्कासमेत गरेपछि सोही मुद्दा अहिले जिल्ला सदरमुकाममा आएको छ।

माइन्युट नै च्यात्‍नुको कारण थाहा छैन : नगर प्रमुख उपाध्याय

नगरप्रमुख उपाध्यायले बारम्बार कांग्रेसबाट निर्वाचित पदाधिकारीले माइन्युट नै च्यात्ने गरेको कारणबारे आफूलाई जानकारी नभएको बताए। उनले भने, 'वैशाख २६ गते नगरपालिकामा विभिन्न चारवटा निर्णय गरेर गएका थियौँ  २७ गते नेपाली कांग्रेसबाट निर्वाचित उपप्रमुख र वडा अध्यक्षले माइन्युट च्यात्नुभएछ' उनले थपे, 'बेलाबेला नगरमा यस्तो घटना हुनु योजनाअनुसार काम गर्न  नदिने नियत हो।'

नगर उपप्रमुख दीपा बोहराले आफूहरू अल्पमतमा रहेका कारण आफूसँग काम गर्दा कुनै पनि सल्लाह नगरी अगाडि बढ्ने गरेकाले नगरमा यस्ता विवाद निम्तिने गरेको बताइन्। उनले भनिन्, 'नगरको विकास गर्नलाई सबै मिलेर जानुपर्नेमा नगरप्रमुखले मिलाएर काम गर्न सकिरहनुभएको छैन।' 

यो पनि पढ्नुस् :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.