|

चितवन : उद्योग वाणिज्य संघ रत्ननगरका अध्यक्ष राजाराम रेग्मी आज धरौटीमा रिहा भएका छन्। पूर्व-पश्चिम् राजमार्गअन्तर्गत भरतपुर महानगरपालिकाको गोन्द्राङमा रहेको ढाटमा भएको आगजनी तथा तोडफेडमा संलग्न भएको आरोपमा रेग्मीलाई प्रहरीले बुधबार पक्राउ गरेको थियो।

उनलाई ५४ हजार धरौटीमा छाडिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक दुर्गाराज रेग्मीले बताए। यसअघि पक्राउ गरेका रेष्टुरेन्ट एण्ड बार एशोशिएसन सौराहाका अध्यक्ष गोकर्ण गिरीसहित ३ जनालाई पनि धरौटीमा छाडिएको थियो।

पूर्वी चितवनका स्थानीयले दैनिक धेरैपल्ट आवतजावत गर्ने बाटोबाट सडक दस्तुतर संकलन गर्ने ढाट सार्न माग गर्दै गत जेठ ३ गत्ते विरोध गरेका थिए। सो क्रममा भीडले ढाटमा पेट्रोल छर्केर आगजानी प्रयास गर्दा ड्युटीमा रहेकी प्रहरी सहायक निरीक्षक कल्पना खड्का जलेर गम्भीर घाइते भएकी छिन्। उनको अहिले भरतपुरमा उपचार भइरहेको छ।

आगजनी, तोडफोडसँगै रकम लुटिएको भन्दै सडक दस्तुर संकलनको ठेक्का पाएको ब्रिटानिक मौलाकालिका कन्ट्रक्सन प्रालीका अध्यक्ष अमृत भट्टचनले रेग्मीसहितका व्यक्तिको नाममा किटानी प्रहरीमा उजुरी दर्ता गरेका थिए। घटनाका समयमा खिचिएको भिडियोका आधारमा पहिचान गरी संलग्नहरूलाई पक्राउ गरिएको र अन्यको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रदेश सांसद कृष्ण खनालको पनि संलग्नता रहेको भन्दै तीव्र आलोचना भएपछि खनालले घटनामा आफ्नो संलग्नता नरहेको भन्दै विज्ञप्ति जारी गरेका छन्।

गोन्द्राङ घटनालाई लिएर ३ नम्बर प्रदेश संसदमा पनि चर्काचर्की भएको थियो। सांसदले घटनाका दोषीलाई कारवाही गर्न ध्यानाकर्षण गरेका थिए। यसअघि आइतबार जिल्ला प्रशासन कार्यालय चितवनमा बसेको सर्वपक्षीय बैठकले घटनामा संलनलाई कारबाही गर्ने सहमति जनाएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.