|

गुल्मी : सदरमुकाम तम्घासको जिल्ला प्रहरी कार्यालय जाने बाटो र गुल्मी अस्पताल जाने बाटो निर्माणको क्रममा गुणस्तरहीन बालुवा प्रयोग गरेको भन्दै बिहीबार बनेको संरचना भत्काइएको छ। चिदीचौरको गेटदेखि जिल्ला प्रहरी कार्यालय, गुल्मी अस्पताल जाने सडकको निर्माण कार्यमा गुणस्तरहीन बालुवा प्रयोग गरेको पाइएको हो।

संघीय आयोजना कार्यान्वयन इकाई रुपन्देहीबाट गत चैत ८ गते १ करोड १७ लाखमा असार मसान्तसम्म कार्य सम्पन्न गर्ने गरी सिद्धार्थ साइन जेभीले कार्य गर्ने जिम्मा पाएको थियाे। जेभीले निर्माणकाे काममा गुणस्तरहीन बालुवा प्रयोग भएको पाइएको रेसुंगा नगरपालिकाका प्रमुख डिल्लीराज भुसालले जानकारी दिए।भुसालका अनुसार निर्माणमा लापरवाही गर्ने अधिकार कसैलाई नभएको भन्दै निर्माण ब्यवसायीले गुणस्तरहीन बालुवा प्रयोग गरेको पाइएकाले बनेको संरचना भत्काई गुणस्तरयुक्त कार्य गर्नका लागि निर्देशन दिएको बताए। 

यता गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेललको रोहबरमा संघीय आयोजना कार्यान्वयन इकाई रुपन्देहीका प्रमुख राजेन्द्र पाण्डेले संयुक्त रुपमा अनुगमन गर्दा गुणस्तरहीन बालुवा प्रयोग गरेको पाइएकाले बनेको संरचना भत्काई गुणस्तरयुक्त कार्य गर्न र रिडीको बालुवा प्रयोग गर्नका लागि निर्देशन दिएको जानकारी दिए।  

पौडेलका अनुसार पहिले संघीय योजनाहरूबाटै सुधार भएमा  स्थानीय स्तरमा पनि गुणस्तरयुक्त निर्माण कार्य हुने भन्दै यसबाट आगामी दिनमा हुने अन्य निर्माणका कार्यहरूमा पनि गुणस्तरका कार्यहरू हुने दाबी गरे। 

गुणस्तरहीन कार्य गर्ने कसैलाई छाडिँदैन : पाण्डे 

यता संघीय आयोजना कार्यान्वयन इकार्य रुपन्देहीका प्रमुख राजेन्द्र पाण्डेले गुणस्तरहीन कार्य गर्ने जो कोहीलाई पनि नछाडिने दाबी गरे। पाण्डेले काम गर्ने जिम्मा पाएका निर्माण ब्यवसायीले गुणस्तरहीन कार्य गर्ने र तोकिएको मापदण्ड,समयमै कार्य संपन्न नगर्ने निर्माण ब्यवसायीलाई कारवाही पनि गरेरै छाडने दाबी गरे।

निर्माण ब्यवसायीहरूले निर्माणका कार्यमा ढिला सुस्ती गर्ने, तोकिएको मापदण्डमा कार्य नगर्ने र राज्यलाई समेत नटेर्ने गरेको पाइएकाले उनीहरूसँग एक्सन पनि लिन सकिने बताए।

रेसुंगा नगरपालिकामा भएको निर्माण कार्यमा पनि गुणस्तरहीन बालुवा प्रयोग भएको पाइएकाले बनेको संरचना भत्काउन लगाइएको बताए। गुल्मीमा कार्य गर्ने निर्माण ब्यवसायीले छल्दीखोलाको बालुवा प्रयोग गर्ने  गरेका पाइएको छ। सो वालुवा गुणस्तरहीन भएकाले रिडीको बालुवा प्रयोग गर्नका लागि निर्देशन समेत दिएको बताए। हामीहरूकै इन्जिनियरहरूलाई पनि निर्माण ब्यवसायीले आँखा छल्न सक्छन् यसमा पनि सरोकारवाला र स्थानीयहरूले निगरानी राख्न आग्रह गरे। 

यता निर्माण ब्यवसायी चुरा खत्रीले सबै निर्माण ब्यवसायीले छल्दीको बालुवा प्रयोग गरिरहेको समयमा आफूले पनि प्रयोग गरेको बताए। निर्माणमा आफूले लापरबाही नगरेको भन्दै यसलाई सच्याउने बताए।

बनेको संरचना भत्काउँदा आफूलाई घाटा लागेको भए तापनि गुणस्तरीय कार्य गर्नेमा आफू प्रतिबद्ध रहेको दाबी गरे। खत्रीले तोकिएकै समयमा तोकिए कै गुणस्तरमा निर्माण कार्य सम्पन्न गर्ने गरी आफू लागेको उनले दाबी गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.