|

नयाँ दिल्ली : भारतको चुनावमा दलहरुले बलिउड स्टारलाई चुनावमा प्रयोग गर्दै आएका छन्। यो पटक पनि धेरैजना बलिउड स्टारलाई भाजपा र कांग्रेसले चुनावी दाउमा लगाएका थिए।

यो पटकको लोकसभा चुनावमा पनि राजनीतिक दलहरुले जोडतोडले फिल्मी स्टारलाई दाउमा लगाएका थिए । केही स्टारहरु पहिलेदेखि नै राजनीतिमा संलग्न थिए। केहीलाई अन्तिम समयमा चुनावी मैदानमा उतारिएको थियो। उनीहरुको अभिव्यक्ति र चुनावी प्रचार प्रसार पनि चर्चामा रहे। अब चुनावी नतिजामा उनीहरुको अवस्था के छ त ?

सत्तारुढ भारतीय जनता पार्टीले उत्तर प्रदेशको मथुराबाट अभिनेत्री हेमा मालिनीलाई फेरि चुनावी मैदानमा उतारेको थियो । उनले अघिल्लो चुनावमा पनि मथुराबाटै जीत हासिल गरेकी थिइन् ।

हेमा मालिनी आफ्नो सीटमा यसपटक पनि जीततर्फ उन्मुख देखिएकी छिन् । उनले २ लाख ६० हजार भन्दा धेरै मतले अग्रता कायम गरिरहेकी छिन् ।

चुनावभन्दा केही समयअघि भाजपाले भोजपुरी चलचित्र अभिनेता रवि किशनलाई गोरखपुर सिटबाट टिकट दिएको थियो । उनको समाजवादी पार्टीका रामभुआल निषाद र कांग्रेसका मधुसूधन त्रिपाठीसँग टक्कर थियो । रवि किसन पनि यो समय ३ लाख भन्दा धेरै मतले अगाडि छन् ।

आजमगढमा भाजपाले भोजपुरी सिनेमा स्टार दिनेशलाल यादव उर्फ निरहुवालाई समाजवादी पार्टीका अध्यक्ष अखिलेस यादवविरुद्ध उतारेको थियो। तर त्यहाँ स्पष्टरुपमा अखिलेश जित नजिक पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

बलिउड अभिनेता सनी देओललाई भाजपाले गुरुदासपुर सिटमा उठाएको छ । यसअघि अभिनेता बिनोद खन्‍ना चुनाव लड्थे । उनको मृत्युपछि गत अप्रेलमा बिजेपीले सनी देओल लाई उठाएको थियो । भाजपाको यो दाउ पनि सही सावित हुने देखिएको छ । सनी देओल ७७ हजार मतले अगाडि छन् ।

गायक हंसराजलाई पनि भाजपाले अन्तिम समयमा दिल्लीको उत्तर पश्चिम सिटमा उतारेको थियो । उनी आफ्नो सिटमा झण्डै पाँच लाख मतले अगाडी छन् ।

भोजपुरी चलचित्र अभिनेता मनोज तिवारी २०१४ देखि भाजपामा आबद्ध छन् । उत्तर पूर्वी दिल्लीबाट भाजपाले टिकट दिएका उनी सांसद् बने । २०१९ को यस चुनावमा पनि मनोज तिवारी जीततर्फ उन्मुख छन् । उनले साढे सात लाख भन्दा धेरै मत पाइसकेका छन् । कांग्रेसकी शिला दीक्षित भन्दा उनी ३ लाख ४५ हजार धेरै मतले अगाडि छन् ।

समाजवादी पार्टीबाट भाजापा प्रवेश गरेकी जया प्रदा रामपुरमा समाजवादी पार्टीका नेता आजम खानविरुद्ध लडिरहेकी छन् । जया प्रदा अहिले आजम खानभन्दा एक लाख ३० हजार मतले पछाडि परेकी छन् ।

गायक र अभिनेता बाबुल सुप्रियो २०१४ मा बिजेपीमा संलग्न थिए र पश्चिम बंगालमा आसनसोलबाट लोकसभा चुनाव जितेर संसद बने । यसपटक पनि उनले जित हासिल गर्ने देखिएको छ । उनी अभिनेत्री समेत रहेकी टीएमसीकी मुनमुन सेनभन्दा एक लाख ६२ हजार मतले अगाडी छन् ।

चुनावको केही समय अघि मात्र कांग्रेसले उर्मिता मातोडकरलाई उत्तरी मुम्बईबाट चुनावमा उतारेको थियो । उनी चुनाव प्रचारका क्रममा आफ्नो अभिव्यक्तिलाई लिएर पनि विवादमा रहिन् ।

मानिसहरुबीचमा चर्चित नाम भएकाले उनी एक बलियो उम्मेद्‍वार पनि मानिएकी थिइन् । तर अहिलेसम्मको रुझानमा अभिनेत्री उर्मिला साढे चारलाख मतले प्रतिद्वन्द्वी भाजपा गोपाल सेट्ठीभन्दा पछाडि छिन् ।

अभिनेता शत्रुघ्‍न सिन्हा पटना साहिद सिटबाट चुनाव लडिरहेका छन् । पछिल्लो लोकसभामा सत्रुघ्न सिन्हा यही सिटबाट चुनाव जितेर सांसद बनेका थिए । तर यसपटक टिकट नपाएपछि रुष्ट भएका उनी कांग्रेसमा प्रवेश गरे ।

तर सत्रुघ्‍न सिन्हाले यसपटक पटना साहिबबाट हार्ने अवस्था देखिएको छ ।  उनी भाजपाका रविशंकर प्रसाद भन्दा एक लाख ८८ हजार मतले पछाडि परेका छन् ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.