|

विराटनगर : विराटनगरका उद्योगी व्यावसायिले प्रतिनिधिसभा सदस्य अमनलाल मोदीको बचाउ गरेका छन्। बिहीबार संयुक्त प्रेस विज्ञप्ति प्रकाशित गरी विद्युत लाइन विस्तार कार्य अवरोधमा सांसद मोदीसहित मोरङ व्यापार संघ र उद्योग संगठन मोरङको नामसमेत जोडिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

सांसद मोदीले प्रशारण लाइन विस्तारमा आर्थिक चलखेल भएको, उद्योगी व्यापारीसँग ५ लाख रुपैयाँ मागेको जस्ता समाचार तथा टिकाटिप्पणीमा कुनै सत्यता नभएको प्रेस विज्ञप्तिमा उल्लेख छ। उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे र मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार सारडाले जारी गरेको विज्ञप्तिमा सांसद अमनलाल मोदीले ५ लाख रुपैयाँ नमागेको स्पष्ट गर्दै प्राधिकरणलाई निर्माण कार्यलाई छिटो सम्पन्न गरी विद्युत् आपूर्तिको सहज व्यवस्था मिलाउन पनि आग्रह गरिएको छ।

विज्ञप्तिमा संसदको सार्वजनिक लेखा समितिमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र सांसद मोदीबीच भएको भनाभनले कसैलाई पनि क्षणिक तृप्तिबाहेक कुनै लाभ नहुने र जिम्मेवार पदमा बस्ने व्यक्तिका लागि यस्ता कुरा शोभनीय पनि नहुने उल्लेख छ।

दुहबी कटहरी रंगेली नयाँ लाइन विस्तारमा सांसद अमनलाल मोदी, प्रदेशसभा सदस्य विजय विस्वास, प्रमुख जिल्ला अधिकारी, गाउपालिकाका अध्यक्षहरु सबैको सहयोग र सहजीकरणबाट काम भइरहेको स्मरण गर्दै उद्योगी व्यवसायीले वैशाख १६ गते जिल्ला प्रशासन कार्यालयमा भएको बैठकमा मोदीलाई आफ्नै पहलमा बोलाएको स्पष्ट गरेको छ। सो बैठकमा उनले रकम मागेको भनेर सार्वजनिक भएको समाचार सत्य नभएको पनि विज्ञप्तिमा उल्लेख छ।

यसैगरी, मोरङ क्षेत्र नम्बर ४ अन्तर्गत ग्रामथान गाउँपालिकाका जनताको तर्फबाट पनि सांसद मोदीको बचाउ गर्दै प्रेस विज्ञप्ति जारी गरिएको छ। विज्ञप्तिमा सांसद अमनलाल मोदीको विषयमा भ्रामक कुराहरुको प्रचार भइरहेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ।

स्थानीय वीरेन्द्र चौधरी, किशनलाल सरदार लगायतले प्रेस विज्ञप्ति जारी गर्दै जनताको आग्रहमा सांसद मोदीले सम्बन्धित निकायसँग समन्वय गरेको र समस्या समाधानका लागि पहल गरेको स्पष्ट पारेका छन्।

मानव बस्तीको बीचबाट ३३ केभिए प्रशारण लाइन बिस्तार गर्दा अग्लो टावर बनाउन, रुट परिवर्तन गर्न वा प्लाष्टिक कभर गरेर तार बिस्तार गनुपर्ने हाम्रो माग नै सांसदले प्राधिकरण र प्रशासनसमक्ष लगेको स्थानीयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिमा सांसद मोदीले उद्योगी व्यवसायीसँग रकम मागेको भनेर आफ्नो माग र सरोकारलाई छायामा पार्ने प्रयत्न भएको भन्दै आरोप लगाउने कार्य निन्दनीय भएको उल्लेख छ। स्थानीयले होचो खम्बाबाट वस्ती क्षेत्रमा विद्युत प्रशारण लाइन विस्तार गर्दा जनस्वास्थ्यमा असर पुग्ने तर्फ सचेत हुँदै गरिएको आग्रहलाई वेवास्ता गर्दै विभिन्न नकारात्मक टिप्पणी गरिएकोमा दुःख व्यक्त गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.