|
फाइल तस्बिर

ओखलढुंगा : राष्ट्रिपति विद्यादेवी भण्डारीले देश सामाजिक न्याय र समानतामा आधारित समृद्धितर्फ अग्रसर भएको बताइन्। स्वर्गीय युगकवि सिद्धिचरण श्रेष्ठको पूर्ण कदको शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले राष्ट्रको ध्येय देशको समृद्धि भएको बताएकी हुन्।  

अथाह प्राकृतिक र सांस्कृति वैभवले सम्पन्न ओखलढुंगाजस्ता पहाडी जिल्लाको विकासबाटै समृद्ध नेपाल निर्माण हुने राष्ट्रपतिको भनाइ छ। सांस्कृतिक, पर्यटकीय क्षेत्रको विकास, नदी प्रणाली सदुपयोग गरेर अथाह जलविद्युत आयोजनाहरू निर्माण गर्न सक्नेतर्फ प्रदेश सरकार र स्थानीय सरकार अघि बढ्न पनि राष्ट्रपतिले सुझाव दिइन्।

देश अहिले समृद्धिको बाटोमा अग्रसर रहेकाबारे भण्डारीले प्रदेश सरकारले गुणस्तरीय प्राविधिक शिक्षामार्फत सक्षम जनशक्ति उत्पादन, उद्योगग्रामको विकास गरेर स्थानीय समुदायमा रोजगारी सिर्जना गर्न अग्रसर हुनु पर्नेमा जोड दिइन्। सडक सञ्जालको विस्तार र सुदृढीकरण, खानेपानीको यथोचित वितरण, पहाडी जिल्लामा एकीकृत वस्ती विकास गरेर कम लगतमा सेवा दिन सकेमा समृद्धिको नारा सार्थक हुने उनको भनाइ छ।

शालिक अनावरण र नवनिर्मित स्रष्टा पार्क उद्घाटनपछि भण्डारीले ओखलढुंगाको स्रस्टा पार्कले साहित्यिक र सांस्कृतिक पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण टेवा पुग्ने बताइन्। ओखलढुंगालाई चिनाउने सिद्धिचरणको कविता प्रशंसा गर्दै भण्डारीले यगुकविका साहित्य सिर्जनाले प्रकृति र मातृभूमिप्रति अगाध माया र आस्था जगाउन प्रेरणा दिने भन्दै साहित्य सिर्जनाले युगवोध गर्न सफल भएको बताइन्। राष्ट्रिपतिले भनिन्, ‘समाजप्रतिको निष्ठा र राष्ट्रप्रतिको अगाध प्रेमले युगयुगसम्म नेपालीलाई असल कार्यमा जुट्न प्रेरित गरेको छ।’

साहित्य सिर्जनाको माध्यमबाट योगदान पुर्‍याउने विभिन्न सर्जकहरूलाई सम्मान र पुरस्कृत गर्दै राष्ट्रपति भण्डारीले देश सामाजिक न्याय र समानतामा आधारित समृद्धिको दिशातर्फ अग्रसर भएको बताइन्। उनले साहित्यकार, कलाकार तथा सर्जकहरुले आफ्ना सृजनामार्फत आम जनसमुदायमा आफ्नो भविश्यप्रति दृढ जगाउने सन्देश प्रवाह गर्नु पर्नेमा जोड दिइन्। 

सिद्धिचरण नगरपालिका र युगकवि सिद्धिचरण प्रतिष्ठानले आयोजना गरेको युगकवि सिद्धिचरण श्रेष्ठको पूर्ण कदको शालिक अनावरण तथा स्रस्टा पार्क उद्घाटन कार्यक्रममा सहभागी हुन उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल, प्रदेश १ का मुख्यमन्त्री शेरधन राईसहित नेपाली सेनाको हेलिकप्टरमार्फत राष्ट्रपति भण्डारी बिहीबार ओखलढुंगा आएकी हुन।

सिद्धिचरणको जन्मस्थान, सिद्धिचरण नगरपालिका १२ मा रहेको अर्द्धकदको शालिक विस्थापन गरेर पूर्ण कदको शालिक निर्माण गरिएको छ। त्यस्तै स्रष्टा पार्कमा प्रथम गायिक मेलवादेवी, लोकगायक पाण्डव सुनुवार, सिद्धिचरण श्रेष्ठ र राष्ट्रिय गानका रचनाकार व्याकुल माइलाको अर्द्धकदको प्रतिमा तथा उद्यान निर्माण गरिएको छ।

निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गतको बजेट तथा सिद्धिचरण नगरपालिकासँग समन्वय गरेर पार्क निर्माण गरिएको पार्क निर्माणको अगुवाइ गरेका संघीय प्रतिनिधि सभाका सांसद यज्ञराज सुनुवारले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.