|

काठमाडौं : परराष्ट्रविद् रमेशनाथ पाण्डेले भारतीय आमचुनावले हिन्दु राष्ट्रवादलाई अनुमोदन गरेको टिप्पणी गरेका छन्।

'यो चुनावले भारतको प्रजातान्त्रिक चरित्र, राजनीतिक संस्कृति र यसका शास्त्रीय प्राथमिकतालाई परिवर्तनको बाटोमा उभ्याएको छ', थाहा खबरसँग कुरा गर्दै पाण्डेले भने, 'यसले भारत विश्व समुदायसमक्ष आगामी दिनमा कसरी प्रस्तुत हुनेछ भन्ने निर्क्यौल गरेको छ। भारत अब प्राचीन हिन्दू राष्ट्रवादलाई प्रेरणाको श्रोत मानेर विश्वसमक्ष उभिनेछ।' 

भारतको राजनीतिमा पनि अर्थपूर्ण परिवर्तन भएको उनको ठहर छ। जवाहरलाल नेहरुपछि पहिलोपटक पदाशीन प्रधानमन्त्रीले बहुमत हासिल गरेको भन्दै पाण्डेले प्रधानमन्त्री नरेन्द्र मोदी र उनको पार्टी भारतीय जनता पार्टीको एकछत्र पकड बनेको बताए। 

'कांग्रेस आईको सरकार छँदा भारतको नेपाल नीति डिक्टेट गर्ने हैसियतमा रहेको भारतीय कम्युनिष्ट पार्टी यो चुनावबाट अप्रासंगिक बन्न पुगेको छ', उनले भने, '३० वर्ष शासन गरेको पश्चिम बंगालमा कम्युनिष्ट पार्टीले एक सिट पनि जित्न सकेन। प्रतिपक्षी कांग्रेसको अवस्था झन् खराब भएको छ।' 

पाण्डेले भारतको बदलिएको स्थितिलाई मनन गरेर नेपालले ऊसँग व्यवहार गर्नुपर्ने बताए। 'खासगरी नेपालले दुईवटा कुरा राम्ररी बुझ्नुपर्दछ, भारतको वैचारिक आधार र उसको राष्ट्रवादको परिभाषा', पाण्डेले भने, 'नेपालले यी दुई कुरा राम्ररी बुझेर आफ्नो राष्ट्रिय स्वार्थ सम्बोधन गर्न ढिलो गर्नुहुँदैन।'
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.