नेपालसँगको सम्बन्ध उचाइमा लैजाने बाचा

|

काठमाडौं : सत्तारुढ दल भारतीय जनता पार्टीले प्रचण्ड बहुमतसहित फेरि सरकार बनाउने भएपछि नेपाली नेताहरुले बधाइ दिन थालेका छन् । मतगणनाको अन्तिम परिणाम आइनसक्दै भाजपा र प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिने होडबाजी नै चलेको छ नेपालबाट । 

मतपरिणामको सुरूवाती रुझान आउनेबित्तिकै सबैभन्दा पहिले प्रधानमन्त्री केपी शर्मा ओलीले मोदीलाई बधाई दिए। ओलीले विशाल जितका लागि मोदीलाई बधाई दिँदै आगामी दिनमा सहकार्य अझै मजबुत र निकट हुने विश्वास व्यक्त गरेका थिए। 

त्यसपछि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेसका सभापति शेरबहादुर देउवा, राप्रपा अध्यक्ष कमल थापासहितले प्रचण्ड जीतका लागि मोदीलाई बधाई दिए।

मोदीले के जवाफ फर्काए ?

नेपालका एकपछि अर्को नेताले मोदीलाई मेन्सन गरेर र नगरी सामाजिक सञ्जाल ट्वीटरबाट बधाई दिए। मोदीले आफूलाई ट्विटरमार्फत् बधाई दिने सबैलाई मेन्सन गरेर जवाफ फर्काएका छन्। 

ओलीसँग सहकार्य

प्रधानमन्त्रीको व्यक्तिगत ट्वीटर ह्यान्डल केपी शर्मा ओलीमा मेन्सन गर्दै मोदीले सबैभन्दा पहिले न्यानो बधाइका लागि धन्यवाद भनेका छन्। त्यसपछि उनले नेपालसँगको सम्बन्ध अझै नजिक रहने विश्वास व्यक्त गरेका छन् ।

‘नेपाल र भारत अनन्तकालदेखि नै घनिष्ठ साथी र छिमेकीकारुपमा रहेका छन्। जसलाई हाम्रा जनता–जनताबीचको निकटताले अझै मजबुत बनाएको छ’, मोदीले भनेका छन्, ‘म नेपाल–भारत सम्बन्धलाई अझै उचाईमा लैजानका लागि तपाईंसँगको सहकार्यलाई जारी राख्न चहान्छु।’

देउवालाई धन्यवाद!

ओलीसँगै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मोदी र अमित शाहलाई मेन्सन गर्दै बधाई दिए। देउवालाई पनि मोदीले जवाफ फर्काए। मोदीले देउवालाई जवाफ फर्काउँदै शुभकामनाका लागि धन्यवाद भनेका छन्।

‘भारत र नेपाल निकट छिमेकीकारूपमा विशेष सम्बन्ध राख्दै आएका छन्। हामी नेपालसँग आफ्नो पारम्परिक रूपमा घनिष्ठ र मैत्रीपूर्ण सम्बन्ध मजबूत गर्नका लागि प्रतिबद्ध छौँ’, मोदीले देउवालाई जवाफ फर्काउँदै भनेका छन्।

प्रचण्डसँग राजनीतिक सहकार्य

देउवासँगै मोदीले नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई पनि ट्वीटरमा जवाफ फर्काएका छन्। सुरुमै प्रचण्डलाई धन्यवाद दिँदै मोदीले भारतले नेपालसँगको निकट सम्बन्धलाई उच्च महत्त्व दिएको बताएका छन्। उनले आगामी दिनमा पनि यो निकट सम्बन्धलाई निरन्तरता दिँदै नेपालसँग उच्च राजनीतिक तहको सहकार्य हुने विश्वास व्यक्त गरेका छन्। 

थापालाई विश्वास

मोदीले राप्रपा अध्यक्ष कमल थापाको पनि बधाई स्वीकार्दै धन्यवाद दिएका छन् । उनले नेपालसँगको ऐतिहासि र बहुआयामिक सम्बन्धलाई भारतले उच्च महत्व दिएको विश्वास थापालाई दिलाएका छन्।

ज्ञवालीलाई धन्यवाद

नेपालका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले पनि मोदीलाई ट्वीटरमार्फत् बधाई दिएका छन् । ज्ञवालीको बधाई स्वीकार्दै मोदी न्यानो शुभकामनाका लागि धन्यवाद दिएका छन्। ‘हामी नेपालसँगको साझेदारीलाई अझै बलियो बनाउन गम्भीरताका साथ प्रतिबद्धता जनाउँछौँ’, मोदीले भनेका छन्।

रामचन्द्रलाई जवाफ

मोदीलाई शुभकामना दिने नेताका कांग्रेसका रामचन्द्र पौडेल पनि छन्। पौडेलको शुभकामना स्वीकार्दै मोदीले उनलाई बधाईका लागि धन्यवाद भनेका छन् । ‘भारत नेपाल सरकारसँगको द्विपक्षीय सम्बन्ध अझ मजबुत बनाउँदै काम गर्न तयार छ’, मोदीले भनेका छन्।  

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.