नदी नियन्त्रणबाट २५ हजार परिवार लाभान्वित

|

उदयपुर : ‘०५२ र ०७२ सालमा त्रियुगा नदीले लुहाले खोला छेक्दा सयौँ बिघा खेतीयोग्‍य जमिन बगरमा परिणत भयो, त्रियुगा नगरपालिका २ की विन्दा चौधरीले भनिन्, ‘बाँध निर्माण भएको छ, अबका दिनमा बगरमा परिणत भएको मेरो तीन बिघा खोलामा खेत बन्ने भयो।’ त्रियुगा नगरपालिका-२ मा रहेको लुहाले खोलामा बाँध निर्माण भएपछि स्थानीय चौधरी खुसी छिन्।

त्रियुगा नदीको सहायक नदीको परिचित लुहाले खोलमा चालू आर्थिक वर्षमा राष्ट्रपति चुरे संरक्षण कार्यक्रमअन्‍तर्गत २० लाखमा बाँध निर्माण गरिएको छ। जुन बाँधले ८/१०  बिघाभन्दा धेरै पुरिएको खेतीयोग्य जमिन उक्सिएको अर्का स्थानीय रमेश कार्कीको भनाइ छ। ‘धेरै वर्षदेखि बाँध निर्माणको पहल गर्‍यौं,’ उनले भने, ‘हाम्रो कुरा कसैले पनि सुनिदिएका थिएनन्, यसपालि बाँध निर्माण भएपछि खेतीयोग्य जमिन पुरिएर सुकुम्बासी बनेकाहरू खुसी छन्।’

यसैगरी, त्रियुगा नगरपालिका-४ फर्सेट खोलाको पूर्व-पश्चिम भागमा पनि १० लाखको लागतमा बाँध निर्माण भएको छ। सोही बाँधको कारण फर्सेट खोलाले पुरिएको लगभाग ३० बिघा जमिन उक्सिएको छ। ‘यहाँ हामी सबैको ३० बिघा जमिन खोलाले पुरिएको थियो,’ स्थानीय सुकदेव चौधरीले भने, ‘अहिले सबै जमिन उक्सिएको छ, बाँध निर्माण बरदान सावित भएको छ।’

चालू आर्थिक वर्षमा राष्ट्रिपति चुरे संरक्षण कार्यक्रमको एक कराड १५ लाख बजेटले धेरै ठाउँमा बाँध निर्माण गरेको त्रियुगा नगरपालिका सूचना अधिकारी विश्वजित राईले बताए।

यस्तो  छ, बाँध निर्माण कार्य

चालू आर्थिक वर्ष ०७५/०७६ मा राष्ट्रिपति चुरे संरक्षण कार्यक्रमको बजेटले नदी तथा खोला स्थिरीकरण, व्यवस्थापन स्पर, डायकलगायत काम भएको छ। राईका अनुसार जसमा त्रिनपा-७ मा मदनभण्डारी पार्कनजिक त्रियुगा नदी नियन्त्रण, चकलघाट नदी नियन्त्रण पूर्वपट्टि, महोनपुर भागमा, त्रियुगा नपा-३ को सरस्वती दोभान, दक्षिण बाँकी काम, हात्तिमारादेखि आर्याघाटसम्म, त्रियुगा नदीको कटान रहेको विसनपुरा गाउँमा बाँध, बरुवा पुच्छर त्रियुगा नदी नियन्त्रण, बबिया त्रियुगा नदी नियन्त्रण कार्य, १८ नम्बर बाहिनी पश्चिम खहरे नियन्त्रण लगायतका कार्य भएको राईको भनाइ छ।

यसैगरी, गल्छी पहिरो खहरे रोकथाम योजनमा लुहाले खोला बाँध, बबिया खोला बाँध पूर्वपश्चिम, पर्सेट खोला बाँध, ठाँडी खोलामा बाँध निर्माण गरिएको छ। रनवाटर रन अफ हारवेष्टिक ड्याममा त्रिनपा १ को जोगीदह मुसहरी टोलको सिमसार क्षेत्र संरक्षण गरिएको छ।

यसैगरी, भूमिगत जल पुनर्भरण सतहमुनिको पानी उपयोग चुरे क्षेत्रमा भावर क्षेत्रमा जुटपानी मोतिगडा चाँमा र सिमसार क्षेत्र पर्सेटमा बाँध निर्माण गरिएको विश्वजित राईले बताए। ‘त्रियुगा नदीको सहायक नदीले धेरै क्षति पुर्‍याएको छ,’ उनले भने, ‘ती क्षेत्रमा राष्ट्रपति चुरे संरक्षणको बजेट, अनि जलउत्पन्न कार्यक्रम लगायतले त्रियुगा नदी नियन्त्रण गर्ने क्रम बढिरहेको छ।’

जलउत्पन्न प्रकोप पनि बाँध

त्रियुगा नगरपालिका–१२ स्थित गाईघाट बसपार्क क्षेत्र र आर्यघाट क्षेत्रको त्रियुगा नदीदेखि वडा नम्बर १३ विषणपुरसम्मको झण्डै दुई किलोमिटर क्षेत्रमा त्रियुगा नदीको कटान रोक्न बृहत् बाँध निर्माण नै सुरु भएको छ।

नेपाल सरकार जल उत्पन्न प्रकोप विभागको झण्डै १० करोड बजेटबाट यस क्षेत्रमा विभिन्न उपभोक्ता समिति गठन गरेर धमाधम बाँध निर्माण कार्य भएको वडा नं १२ का वडाध्यक्ष जयविक्रम राईले बताए। बोटेटोलबाट तल्लो आर्यघाट हुँदै विषणपुरसम्मको तटबन्ध निर्माण गर्न अन्य उपभोक्ता समितिसमेत गठन गर्न लागिएको छ।

दुई किलोमिटर बाँध निर्माण भएपछि गाईघाटको बसपार्कदेखि दुर्गाटोल, प्रतिभा टोल साधना टोल, बोटेटोल, बगरटोल, त्रिवेणी टोल र विषणपुर क्षेत्रका झण्डै तीन हजार जनता बसोबास गरिरहेका छन्। बर्सेनि त्रियुगा नदीले यस क्षेत्रमा कटान गर्दै लगेपछि १० वर्षभित्रमात्र झण्डै २०० बिघा जग्गा कटान गरिसकेको छ भने सयौँ घर परिवारसमेत विस्थापित भइसकेका छन्।

त्रियुगा नदीलाई बहुउपयोगी बनाउन गुरुयोजना

त्रियुगा नदीलाई बहुउपयोगी बनाउन गुरुयोजना (डिपिआर ) तयार पारिएको छ। नदीको दिगो व्यवस्थापन गर्दै अभिशापलाई ‘वरदानमा’ सावित गर्ने उद्देश्यले नगरपालिकाले ‘त्रियुगा सभ्यता’ र विकास नाम दिएर अभियानले त्रियुगा नदी नियन्त्रण गर्ने लक्ष्य लिइएको छ। बरुवा र त्रियुगा नदीमा बर्सेनि आउने बाढीले खेतीयोग्य जमिन कटान गर्दै आएको छ। 

एकीकृत विकास परियोजनाअन्तर्गत त्रियुगा नदी नियन्त्रणका लागि त्रियुगा नगरपालिका–७ स्थित कालीखोला तोरीबारीदेखि बेलका नगरपालिका– २ स्थित सप्तकोसी दोभानसम्म ४२.५ किलोमिटर लामो डिपिआर तयार गरेको हो।

त्रियुगाको शिरदेखि तीरसम्मको ४२.५ किलोमिटर दूरीमा दुवैतर्फ आधुनिक तथा जैविक प्रविधिको बाँध बाँध्दै सिँचाइ, विद्युत् र खानेपानी सुविधा जस्ता बहुउपयोगी उपलब्धि हासिल गर्न डिपिआर निर्माण गरी काम थालिएको त्रियुगा नगरपालिकाका नगर प्रमुख बलदेव चौधरीले जानकारी दिए।

‘त्रियुगा नदिको कालीखोलादेखि तपेश्वरीसम्म ४२.५ किलोमिटर गरी दुवैतर्फ ८५ किलो मिटर लामो बाँध निर्माण गर्न नेपाल सरकारबाट डिपिआर निर्माण गरी स्वीकृत छ,’ उनले भने, ‘डिपिआरले त्रियुगा नदी नियन्त्रण आयोजना कार्यालय सञ्चालनमा आउनेछ।’

चुरेका खहरेखोला नियन्त्रणमा विशेष प्रथामिकता

बाढीले बर्सेनि सयौं हेक्टर जमिन, दर्जनौं घर र जनधनको क्षति गर्न थालेपछि त्यसको नियन्त्रणमा चुनौती छ। डिपिआरअनुसार नदी नियन्त्रणका क्रममा चुरे क्षेत्र खहरे खोला बाधक बनेका छन्। त्रियुगामा मिसिने माटीखौवा, जलजले, मोहनपुर, देउरी, फर्सेठ, ठाडी, हडियाखोला, सिवाइखोला, गेरखोला, बरुवा, भिमा, द्वारखोला तथा दर्जन बढी खोल्सीसमेत व्यवस्थित गर्ने गरी डिपिआर तयार गरिएको छ।

उदयपुरको त्रियुगा नगरपालिका–७ स्थित कालीखोला तोरीबारी)देखि बेलका नगरपालिका–२ स्थित सप्तकोसी नदीसम्म दुवैतर्फ ५० किलोमिटर लामो बाँध निर्माण गरी त्रियुगा नियन्त्रण गरिने डिपिआर तयार गरिएको छ।

६ अर्ब ८४ करोडको लागिमा १० वषभित्र नियन्त्रण गर्ने योजना छ। ०७५/०७६ देखि काम सुरु गर्ने गरी योजना कार्यन्वयमा ल्याई आव ०८४/०८५ सम्ममा काम सम्पन्न हुनेछ। ५० वर्षपछि आउने बाढीलाई लक्षित गरी डिपिआर तयार गरिएको आयोजनाले जनाएको छ।

नदी नियन्त्रणबाट २५ हजार परिवार लाभान्वित

त्रियुगा नदीलाई मात्र नियन्त्रण गर्दा २५ हजार परिवारले राहत पाउनेछन्। नदीको मुहानदेखि सप्तकोसीसम्म तटबन्ध निर्माण गरी आसपासका खहरे खोलासमेत नियन्त्रण गर्नुपर्ने हुन्छ।

जिल्लाको मुख्य समस्या त्रियुगा नदीको कटान हो। गत वर्ष राष्ट्रपति विद्या भण्डारीले त्रियुगाले गरेको क्षति अवलोकन गर्दैै यसको नियन्त्रणमा चासो व्यक्त गरेकी थिइन्। जल उत्पन्न प्रकोप तथा नदी नियन्त्रण कार्यालयका अनुसार त्रियुगा नगरपालिकाको होक्से कालिखोलादेखि सप्तकोसीसम्म ४२ किमि पर्छ। नदी नियन्त्रण गरे १० हजार घरधुरीका ५० हजार जनसंख्या प्रत्यक्ष लाभान्वित हुनेछन।

१३ सय वर्ग किमि जलवहाब क्षेत्र रहेको त्रियुगाको ३१ सय मिटर प्रतिसेकेन्ड बहाव रहेको र २५ अन्य सहायक नदीका कारण यसको चौडाइ बर्सेनि बढिरहेको गुरुयोजनाको प्रतिवेदनमा उल्लेख छ। ‘त्रियुगाले बर्सेनि खेतीयोग्य जमिन बगाउँदा सयौँ परिवार सुकुम्वासी बनेका छन,’ चौडण्डीगढी नगरपालिका ५ का वडाध्यक्ष देवनारायण चौधरीले भने, ‘गुजारा गर्ने जमिन नदीकै कारण बगरमा परिणत भएपछि सयौं परिवार विस्थापित भएका छन्।’

नदीले बगर बनाएको खेतीयोग्य जमिन उक्सिने आसमा त्रियुगा, चौडण्डीगढी र वेलका नगरपालिका २५ हजार परिवारले नदीले बगाएको आफ्नो खेतको ३० वर्षदेखि मालपोत तिर्दै आएका छन्। नदीले त्रियुगा, चौडण्डीगढी र बेलका नगरपालिककाका सर्वसाधरण लाभाम्वित हुनेछन्।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.