समिति अध्यक्ष भन्छन्- पुग्‍नेगरी-कसैले बजेट दिएनन्

|

उदयपुर : एउटा विकास निर्माणको योजना कति वर्षमा सकिएला? सरकारी योजनाअनुसार अर्ब लागतका योजनाको कुरा नगरौँ। मझौला र साना योजनाहरू कम्तीमा पनि १० वर्षभित्र सकिन्छन। त्योभन्दा धेरै समय लागेको भेटिँदैन।

तर, उदयपुरको त्रियुगा नगरपालिकामा एउटा अयोजना सुरु भएको ३७ वर्ष पुग्दा पनि सम्पन्न भएको छैन। पञ्चायत सरकारको पालामा सुरु भएको त्रियुगा नगरपालिका-८ र १६ का सर्वसाधारणको पानी खाने धोको पूरा भएको छैन।

‘२०३८ सालमा २० हजार रुपैयाँ बजेटबाट सुरु गरिएको साहीखोला खानेपानी आयोजना अहिले ३७ वर्ष पुग्यो,’ ६५ वर्षे स्थानीय इन्द्रबहादुर बस्नेतले भने, ‘पञ्चायत, बहुदल हुँदै देशमा गणतन्त्र आयो भन्छन् तर, धारामा पानी आउँदैन।’

खानेपानी योजनाको विस्तृत विवरण सुनाउँदै उनले भने, ‘०३७ सालमा जाल्पा चिलाउनेका प्रधानपञ्च दुर्गाबहादुर कटुवालको समन्वयमा तत्कालीन सांसद चक्रबहादुर बस्नेतले ल्याइदिएको खानेपानी योजना हो। तर, अहिलेसम्म पूरा भएन।’

सम्पन्न हुन नपाउँदै लथालिंग

१३ घरधुरी हुँदा सुरु गरिएको आयोजना सुरु गरिएको हो। तर, पानी पिउने अहिले ४ सय ४३ घरधुरी छन्। आयोजना सम्पन्न हुन नपाउँदै लथालिंग भएको छ। ‘तत्कालीन सांसद चक्रबहादुर बस्नेतको कार्यकालमा सुरु गरिएको आयोजनापछि यस क्षेत्रबाट आठजना सांसद भइसकेका छन् भने हाल एकजना प्रदेसभा सदस्य पनि छन्।

अर्का स्थानीय ६६ वर्षे लोकबहादुर कार्कीले ०३७ सालमा चक्रबहादुर बस्नेत त्यसपछि क्रमश: हरिबहादुर बस्नेत सांसद बनेको बताउँछन्। उनका अनुसार दुवै राष्ट्रिय प्रजातन्त्र पार्टीका हुन। दुवै बस्नेतपछि लक्ष्मीनारायण चौधरी, सुरेश कार्की, संसद बने। चौधरी र कार्की तत्कालीन नेकपा एमालेका हुन्। यसैगरी, मणि खम्बु दुई पटक तत्कालीन नेकपा माओवादीबाट संसद बनिन्।

त्यसपछि नेकपा एमालेबाटै मन्जु चौधरी ०७० सालमा दोस्रो संविधासभा सदस्य निर्वाचित भईन। त्यसपछि राज्य पुनसंरचनासँगै ०७४ सालमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डाक्टर नारायण खड्का अहिले संघीय संसद छन्, भने काँग्रेसकै त्रियुगा प्रदेशबाट हिमाल कार्की प्रदेशसभा सदस्य निर्वाचित भएर कार्यरत छन। ‘चुनावका बेला भोट माग्न सबैले शाही खोला योजना सम्पन्न बनाउने चुनावी घोषणा गरे,’ उनले पुन भने, ‘कहिले खानेपानी योजना सम्पन्न भएन।’

पुग्‍नेगरी कसैले बजेट दिएनन्

यस आयोजनाको पहिलो उपभोक्ता समितिका अध्यक्ष हुन् भरतबहादुर कार्की। खानेपानी योजनामा क्रमश: कमलबहादुर राउत, नारायण खड्का, ईश्वर खड्का र मदनराज कटुवाल गरी पाँचजना अध्यक्ष भइसकेका छन्। ‘हामी जतिजना अध्यक्ष बनेका छौँ, सबैले खानेपानीका लागि जिल्ला विकासदेखि मन्त्रालयसम्म बजेट मागिरहेका छौँ,’ अध्यक्ष नारायण खड्काले भने, ‘कसैले पनि बजेट दिएनन्, दिँदा पनि पूरा गर्ने गरी दिएनन्।’

दिगो समाधान हुनेगरी एकमुष्ट बजेट नआउँदा उपभोक्ता मर्कामा परेका छन्। २०५१ सालमा व्यवस्थितरूपले सञ्चालन गर्नका लागि ६५ वटा धारा बनाउने तयारी गरे पनि कतैबाट बजेट नआएपछि आयोजना अलपत्र परेको थियो।

दूषित पानी पिउन बाध्य छन् स्थानीय

खानेपानी योजना सम्पन्न नहुँदा दुई वडाका साही खोला, बाघचौरी, खाट मन्दिर, गैरी टोल लगायतका दर्जनौँ बस्तीका सर्वसाधारण दूषित पाउन पिउन बाध्य छन्। ‘कतैबाट पनि बजेट नपाएपछि स्थानीय आफैँले चन्दा उठाएर दुःखले मर्मत गरी पानी सञ्चालमा ल्याएपका ६६ धारा थिए,’ साही खोला खानेपानीका वर्तमान अध्यक्ष मदनराज कटुवाल भन्छन्, ‘अहिले म अध्यक्ष भएपछि बढाएर एकसय ३० धारा वितरण गरेको छु, कतै पाइप छैन, कतै धारा टुटी छैन, सबै लथालिंगरूपमा पाइपले पुगेसम्म धारा वितरण गरेका छौँ।’

मुहानमा पानी प्रयाप्त भए पनि बजेट अभावमा धाराको पानी पुर्‍याउन नसके बस्तीमा दूषित पानीकै प्रयोग भइरहेको छ। ‘बजेट अभावकै कारण जमिनमुनि राख्नुपर्ने पाइप जमिनमाथि नै  छ,’ उनले भने, ‘ठाउँठाउँमा प्वाल र गाँसिएका भागबाट यत्रतत्र पानी चुहेर जाँदा पुछारका बस्तीमा पानी पुग्दैन।’ उच्च जग्गामा बस्ती भएकाले ट्युवेल र इनारमा पानी आउँदैन। त्यसैले दूषित भए पनि प्यास मेटाउन खोला र कुवा धाउनुपर्ने बाध्यता छ।

चन्दा उठाएर मर्मत सम्‍भार

नियमित पानी उपभोग गरिरहने उपभोक्ताले पनि चन्दा उठाएर बेलबखत मर्मत गर्नुपरेको छ। ‘जनताबाट कति चन्दा उठाउने, अध्यक्ष कटुवालले भने, ‘बजेट नभएकै कारण नियुक्त गरेका एकजना पलम्बरलाई पारिश्रमिक दिन नसक्दा आउन छाडेका छन्, यसरी अब कति दिनसम्म धान्ने।’

भर्खर डिपिआर बन्यो

पानीको स्रोत प्रशस्तै भएर पनि बजेट व्यवस्थापन हुन नसक्दा समस्यामा परेको छ। करिब ५ किलोमिटर माथि रहेको साहीखोलामा प्रयाप्त पानी छ। खोलामा ३५ मिटर अग्लो ड्याम बनाएर आयोजना सञ्चालन गर्ने गरी प्रदेश-१ सरकारलाई डिपिआर तयार गरी बुझाएको अध्यक्ष कटुवालको बुझाइ छ।

‘प्रतिसेकेण्ड ७ लिटरसम्म क्षमता रहेको उक्त आयोजना बजेट व्यवस्थापन भए प्रत्येक घरमा धारा बनाउन सकिन्छ,’ नेपाली कांग्रेस उदयपुरका जिल्ला समितिसमेत रहेका कटुवालले भने, ‘पानी अभावकै कारण वडामा रहेका तीनवटा विद्यालयका शौचालयहरूसमेत प्रयोगमा आउन सकेका छैनन्।’

प्रदेश-१ सरकारको खानेपानी डिभिजन कार्यालय सुनसरीले तयार बनाएको डिपिआरबाट आउने आर्थिक वर्षमा योजना सम्पन्न हुनेगरी बजेट विनियोजन भए दुवै वडामा खानेपानी पुग्नेछ। ‘अवका दिनमा आशाको केन्द्र त्यही डिपिआर बनेको छ,’ उनले भने, ‘पञ्चायत सरकारको पालामा सुरु भएको योजना गणतन्त्र नेपालमा पूरा होला कि?’

गएको वर्खायाममा साही खोलाको बाढीले समेत पानीको मुहान बगाउँदा विपद् व्यवस्थापनको पैसाले मर्मत भएको थियो। त्रियुगा नगरपालिका र वडा कार्यालयले समेत बेवस्ता गरेको सर्वसाधारणको गुनासो छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.