भाजपाले १८ सिट जितेपछि तृणमूललाई संकट

|

झापा : नेपालीको उल्लेख्य बसोबास रहेको भारतको पश्चिमबंगाल कुनै बेला कम्युनिष्टको किल्ला थियो। नेपाल, भुटान र बङ्गलादेशको अन्तर्राष्ट्रिय सीमासँग जोडिएको पश्चिम बङ्गालमा मार्क्सवादी कम्युनिस्ट पार्टी (सिपीएम) को एकछत्र राज अब सपना भइसकेको छ।

सीपीएमले पश्चिम बङ्गालमा ३४ वर्ष एकछत्र शासन चलाएको इतिहास छ।  सीपीएमका संस्थापक सदस्यसमेत रहेका पोलिटब्युरो सदस्य ज्योति बसुले २३ वर्ष त मुख्यमन्त्री भएर बङ्गालमा शासन गरे।

सन् १९४६ बाट राजनीति यात्रा थालेका बसु सन् १९७७ देखि २००० सम्म त मुख्यमन्त्री नै भए। त्यसपछि बसुले आफ्नै पार्टीका पोलिटब्युरो सदस्य बुद्धदेव भट्टाचार्यलाई बङ्गालको शासनको कमान जिम्मा लगाए।

अनि सकियो कम्युनिष्ट

भट्टाचार्य बङ्गालमा ११ वर्ष मुख्यमन्त्री भए। उनी सन् २००० देखि २०११ सम्म मुख्यमन्त्री भए। भट्टाचार्य मुख्यमन्त्री भएकै बेला सन् २०१० जनवरी १७ गते सीपीएमका संस्थापक सदस्य ज्योति बसुको ९६ वर्षको उमेरमा निधन भयो। बसुको निधनसँगै बङ्गालमा सीपीएमको पतन पनि सुरु भयो। त्यसको असर सन् २०११ मे १३ को विधानसभा निर्वाचन परिणाममा देखियो।

३४ वर्ष एकछत्र शासन चलाएको सीपीएमलाई २०११ को विधानसभा चुनावले नउठ्ने गरी पाखा लगायो। सीपीएपमको एकछत्र शासनमा ब्रेक लगाउँदै बङ्गालमा तृणमूल काङ्ग्रेसको उदय भयो। तृणमूल कङ्ग्रेस (टिएमसी) को नेतृत्व बङ्गालमा 'दिदी' भनेर चिनिने ममता बनर्जीले गर्दै आएकी छन्।

वामपन्थीलाई सत्ताबाट हटाएकी बनर्जी सन् २००९ मे २२ देखि २०११ मे १९ सम्म देशको रेल मन्त्री थिइन्। बनर्जीको तृणमूल कङ्ग्रेसले विधानसभा निर्वाचनमा १८४ सिट जित्दै बहुमत ल्यायो। पार्टीले २९४ सिटमा १८४ सिट जितेसँगै बनर्जी २०११ मे २० मा बङ्गालको ११ औँ महिला मुख्यमन्त्री बनिन्।

मतदाता र कार्यकर्ताकी दिदी बनर्जीले पाँच वर्ष राज्य सरकार चलाउनुका साथै बङ्गालमा सङ्गठन विस्तारलाई तीव्रता दिइन्। त्यसको फलस्वरूप: सन् २०१६ को विधानसभा निर्वाचनमा बनर्जीको तृणमूल कङ्ग्रेसले २९४ सिटमध्ये २११ सिटमा जित निकाल्यो।

यो मतपरिणाम सन् २०११ मा पाएको भन्दा १७ सिटले बढी थियो। त्यस बेलाको चुनावमा काङ्ग्रेस ४४, सीपीएमले २६ र भाजपाले ४ सिट जितेका थिए। नरेन्द्र मोदी नेतृत्वको भारतीय जनता पार्टी (भाजपा) को अवस्था त्यो बेला बङ्गालमा राम्रो थिएन।

बङ्गालको मुख्यमन्त्री बनर्जी भएकै बेला सन् २०१४ को लोकसभा निर्वाचनमा तृणमूलले ४२ सिटमध्ये ३६ सिटमा जित निकाल्यो। त्यही निर्वाचनमा बङ्गालमा काङ्ग्रेसले ४ र भाजपाले २ सिटमा चित्त बुझाए।

अनि मोदीयुग

बङ्गालमा राम्रो नतिजा ल्याउन नसके पनि २०१४ को लोकसभा निर्वाचनमा भाजपाले ५४५ सिटमध्ये २८२ सिट जित्दै स्पष्ट बहुमत पायो। बहुमतकै आधारमा कांग्रेसलाई सत्ताबाट हटाउँदै नरेन्द्र मोदी प्रधानमन्त्री भए। मोदीले देशको जिम्मेवारी सम्हालेसँगै जनताको मन जित्न विभिन्न योजना ल्याए। उनले भाजपा कमजोर रहेका राज्यलाई लक्षित गरेर विकास अभियान थाले।

मोदीले भाजपाको सङ्गठन विस्तारलाई पनि सँगसँगै लगे। मोदीले सङ्गठन विस्तारको क्रममा सबै भन्दापछि कम्जोर मानिएको बनर्जीको कब्जामा रहेको पश्चिम बङ्गाललाई निशाना बनाएको नेताहरूको विश्लेषण छ।

केन्द्रीय सरकारले बङ्गालमा रहेका युवा वर्गको मन जित्ने योजना धमाधम दिन थाले। उनको योजना यसरी सफल बन्दै गयो कि बङ्गालका युवावर्ग मोदीतर्फ तानिए। मुख्यमन्त्री बनर्जीले प्रधानमन्त्रीको योजना असफल बनाउन धेरै प्रयत्न गरिन्।

युपीको बदला बंगालमा

मोदीले बङ्गालमा चलाएको जादू २०१९ को लोकसभा निर्वाचनको परिणामले देखायो। लोकसभा निर्वाचन अघि उत्तर प्रदेशमा मायावती र अखलेश यादवले गठबन्धन बनाएपछि त्यसबाट भाजपाका अध्यक्ष अमित शाह र मोदी निकै अतालिए। त्यसपछि भाजपा अध्यक्ष शाह र मोदी उत्तरप्रदेशको हिसाब किताब पश्चिम बंगालबाट लिने निर्णयमा पुगे।

बङ्गालका विभिन्न चुनावी क्षेत्रमा गएर भाजपाका अध्यक्ष शाह र प्रधानमन्त्री मोदी एउटै मञ्चबाटै भाषण गरेर बङ्गालवासीको मन जित्ने प्रयासमा गरे। प्रधानमन्त्रीले बङ्गालमा भाजपाको कब्जा जमाउन सबै शक्ति प्रयोग गर्नुका साथै हजारौँ नेता तथा कार्यकर्ता परिचालन गरे।

सन् २०१४ मा दुई सिट जितेको भाजपा १० गुणा बढी सिट जित्नेसहित बङ्गालको चुनावी मैदानमा होमिए। भाजपाको चुनावी गवितिधि देखेर मुख्यमन्त्री बनर्जी अत्तालिए। बनर्जीको तृणमूल काङ्ग्रेस कुनै बेला सीपीएमलाई रोक्न जुट्ने गर्थे। तर, यस पटक बनर्जीले सीपीएम र कांग्रेस छाडेर भाजपा रोक्न लागेको कुरा चुनावी र्‍याली र भाषणबाट थाहा हुन्थ्यो। तर, मुख्यमन्त्री बनर्जीले भाजपालाई बङ्गालमा रोक्न सकिनन्।

अन्तत मोदीको जादुले बङ्गालको ४२ सिटमध्ये १८ सिटमा भाजपाले जितको झण्डा गाड्यो। प्रधानमन्त्रीलाई बङ्गालका सीपीएम कार्यकर्ताले पनि सहयोग गरेको बुझिएको छ। बनर्जीको तृणमूल कङ्ग्रेसले २२ र कांग्रेसले २ सिट जिते।  तृणमूल कङ्ग्रेस भन्दा चार सिट कम भए पनि ९ गुणा बढी सिट भाजपाले ल्याएर छाड्यो। भाजपाले १८ सिट जितेसँगै तृणमूल कङ्ग्रेसलाई आगामी विधानसभा निर्वाचनमा समस्या हुने निश्चित छ। अहिलेदेखि नै बङ्गालका नेताहरूले आलोचना गर्न थालिसकेका छन्।

भाजपा : कसले कहाँ जिते ?

नेपालसँग जोडिएको पश्चिम बङ्गालको दार्जिलिङ जिल्लामा भाजपाका राजु विष्टले तृणमूलका अमर सिंह राईलाई पराजित गरे। नेपालीभाषीले भरिएको दार्जिलिङमा भाजपाका विष्टले ४ लाख १३ हजार ४४३ मत अन्तरले राईलाई पराजित गरेका हुन्। दार्जिलिङमा भाजपाको यो लगाएर तेस्रो जित हो। यसअघि भाजपाका के एसएस आहलुविया र जशवंत सिंहले दार्जिलिङबाट जितेका थिए।

त्यस्तै दार्जिलिङसँगै जोडिएको छिमेकी जलपाइगुढीमा पनि भाजपाले जितेको छ। भाजपाका डा. जयन्त रेले १ लाख ६४ हजार ४ मतअन्तरले तृणमूलका बिजोयचन्द्र बर्मनलाई पराजित गरेका छन्। कोचुविहारमा भाजपाका श्री निसिथ प्रमाणिकले ५४ हजार २३१ मत अन्तरले तृणमूलका परेशचन्द्र अधिकारीलाई पराजित गरे।

आलीपुरमा भाजपाका श्री जान बारलाले २ लाख ४३ हजार ९८९ मत अन्तरले तृणमूलका दशरथ तिर्केलाई पराजित गरे। त्यसै गरी आसनसोलमा भाजपाका श्री बाबुल सुप्रियो (गायक) १ लाख ९७ हजार ६३७ मत अन्तरले तृणमूलका मूनमून देव शर्मालाई पराजित गरे।

हुगलीमा भाजपाका श्रीमती लाँकेट चाटार्जीले ७३ हजार ६६२ मत अन्तरले तृणमूलका डा. रतन डे नागलाई पराजित गरेका छन्।विष्णुपुरमा भाजपाका श्री सौमित्र खानले ७८ हजार ४७ मत अन्तरले तृणमूलका श्यामलाल संतरालाई पराजित गरे।

राइगञ्जमा भाजपाका देबोश्री चौधरीले ६० हजार ५७४ मत अन्तरले तृणमूलका कन्हैयालाल अग्रवाललाई हराएका छन्। त्यस्तै राणाघाटमा भाजपाका जगन्‍नाथ शंकरले २ लाख ३३ हजार ४२८ मत अन्तरले तृणमूलका रुपाली विश्वासलाई हराए।

मेदिनीपुरमा भाजपाका दिलीप घोषले ८८ हजार ९५२ मत अन्तरले तृणमूलका मानस रञ्जन भूनियालाई हारको स्वाद चखाए। मालदा उत्तरमा भाजपाका खगेन मुमुले ८४ हजार २८८ मत अन्तरले तृणमूलका मौसम नुरलाई हराए।

बैरकपुरमा भाजपाका अर्जुन सिंहले १४ हजार ८५७ मत अन्तरले तृणमूलका दिनेश त्रिवेदीलाई पराजित गरे। बांकुरामा भाजपाका सुभाष सरकारले १ लाख ७४ हजार ३३३ मत अन्तरले तृणमूलका सुब्रत मुखर्जीलाई हराए।

त्यसैगरी बालुरघाटमा भाजपाका डा. सुकान्त मजुन्दारले ३३ हजार २९३ मत अन्तरले तृणमूलका अर्पिता घोषलाई हराए। बर्धमान–दुर्गापुरमा भाजपाका सुरेन्द्र जीत सिंह अहलुवालियाले २ हजार ४३९ मत अन्तरले तृणमूलका मस्ताज संघमित्रालाई हराए।

बनगाँउमा भाजपाका शान्तनु ठाकुरले १ लाख ११ हजार ५९४ मत अन्तरले तृणमूलका ममता ठाकुरलाई पराजित गरे। पुरुलियामा भाजपाका ज्योतिर्मय महतोले २ लाख ४ हजार ७३२ मत अन्तरले तृणमूलका डा. मृगका महत्तोलाई पराजित गरे।

झाडग्राममा भाजपाका डा. कुवर हेम्ब्रमले ११ हजार ७६७ मत अन्तरले तृणमूलका बिरबाह सरेनलाई पराजित गरे। भाजपाले जितेको अधिकांश सिट पछिल्लो समयमा तृणमूलको किल्ला मानिन्थ्यो।

तृणमूलले कहाँ जित्यो ? 

अघिल्लो लोकसभा निर्वाचनमा ३४ सिट जितेको तृणमूल काङ्ग्रेसले यस पल्ट २२ सिटमै चित्त बुझाउनु पर्यो। मुख्यमन्त्री बनर्जीको तृणमूलका अपरुपा पोद्दार आराम बाग, काकोलि घोष बारासात, सुनिलकुमार मण्डल बर्धमान पूर्व, सताबदि राय बीरभुम, अंसित कुमार मल बोलपुर, अभिषेक बनर्जी डायमन्ड हार्बर, सौगता राय कोलकता दमदम, दीपक अधिकारी घाटल र मिमि चकक्रवर्ती प्रसुन बनर्जी कोलकता हावडा जाधवपुरबाट जिते।

त्यसैगरी खलिउर रहमान जङ्गीपुर, प्रतिमा मण्डल जगनगर, शिशिरकुमार अधिकारी काँथी, माला राय कोलकता दक्षिण, सुदीप बन्दोपाध्या कोल कता उत्तर, एम मोइत्रा कृष्णनगर, मोहन चौधरी मथुरापुर, अबु ताहिर खान मुसिदाबाद, कल्याण बनर्जी श्रीरामपुर, दिब्येन्द्रु अधिकारी तामलुक र सजदा अहमद अलुबेरियाबाट विजयी भएका छन्।

कांग्रेसको भागमा २ 

राहुल गान्धीको कांग्रेस आईले बङ्गालमा २ सिट जितेको छ। सन् २०१४ मा चार सिट जितेको कांग्रेस यस चुनावमा २ सिट गुमाउनु पुग्यो। कांग्रेसले बङ्गालको मालदा दक्षिण र बहरामपुरमा जितेको छ।

मालदा दक्षिणमा भाजपाका रुपाभित्र चौधरीलाई पराजित गर्दै कांग्रेसका अब्बू हसेम खान चौधरी विजयी भए। त्यस्तै बहरामपुरमा कांग्रेसका अधीर रञ्जन चौधरीले तृणमूलका अपूर्व सरकार (डेबिट) लाई पराजित गरेका थिए।     

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.