|

काठमाडौं : ‘अविरल जनसाहित्य यात्रा’को ५७औँ शृंखला सम्पन्न भएको छ। प्राध्यापक जगतप्रसाद उपाध्यायको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्राडा. सुधन पौडेलले एक दर्जन कविता सुनाए।

कवि प्राडा. पौडेलले आफ्नै अत्यन्त प्रियजनसँग बसेर बौद्धिक व्यक्तित्वका बीच कवितावाचन गर्न पाएकोका खुशी व्यक्त गरे। 'जनसाहित्यिक मञ्च, नेपालले यति लामो समयदेखि सञ्चालन गरिरहेको यो विशिष्ट समारोहमा आफ्ना कविता वाचन गर्ने अवसरका लागि पनि म हार्दिक धन्यवाद दिन चाहन्छु' उनले भने, 'सबैको सहयोग र प्रेरणा मैले मेरो जीवनमा ग्रहण गरेको छु।'

उनले कविताको रचनागर्भका बारेमा समेत प्रकाश पार्दै अनुष्टुप छन्दको ‘नदी’ शीर्षकको, अनुष्टुप छन्दकै ‘तरङ्ग’ शीर्षकको, मन्दाक्रान्ता छन्दको ‘मान्छेसँग सृष्टिसंवाद’ शीर्षकको, अनुष्टुप छन्दको ‘शिल्पकार थियौ तिमी’ शीर्षकको कविवर युद्धप्रसाद मिश्रको सम्मानमा लेखिएको, शार्दूलविक्रीडित छन्दको ‘नपाओस् अब’ शीर्षकको र अनुष्टुप छन्दकै ‘बहिनीलाई पत्र’ शीर्षकको गरी छवटा अत्यन्त गम्भीर भावका सशक्त कवितावाचन गरे।

कविहरू डा.रत्नावली शर्माले मन्दाक्रान्ता छन्दको ‘लोकतन्त्र’ शीर्षकको, देबु लुइटेलले शार्दूलविक्रीडित छन्दको ‘म’ शीर्षकको, रमेश शुभेच्छुले शार्दूलविक्रीडित छन्दको ‘लेखनाथको सम्झनामा’ शीर्षकको, यशोदा अधिकारीले शार्दूलविक्रीडित छन्दकै ‘रत्नपरीक्षकको देशमा (दाङको ऐतिहासिक, पौराणिक महत्त्वका बारेमा प्रकाश पारिएको कविता), दुर्गा शर्माले उपजाति छन्दको ‘भानुभक्तसँग’ शीर्षकको र माननीय कोमल वलीले शार्दूलविक्रीडित छन्दको ‘सहिदप्रति’ शीर्षकका अत्यन्त शक्तिशाली, शालीन, गम्भीर र मनोहारी कविताहरू अत्यन्तै सुन्दर स्वरमा गाएका थिए।    

कविको परिचयसहित वाचित कवितामाथि टिप्पणी गर्दै प्रमुख अतिथि सदस्यसचिव प्राध्यापक जगतप्रसाद उपाध्यायले  एक दर्जन कविताहरू सबै शास्त्रीय छन्दमा लेखिएका सुन्दर कविताले आफूलाई मोहित बनाएको बताए। 'कवितामा समसामयिकताको, समाजमा विद्यमान विभेद र शोषणको उजागर गर्दै रूपान्तरणको सन्देश सम्प्रेषण गरिएको छ', उनले भने, 'देशभक्ति, राष्ट्रवादी भावना सबै खाले हत्याहिंसाको विरोध, प्रकृतिको वैचित्र्यको सुन्दर वर्णन, विश्ववन्धुत्वको भावना, भानुभक्तीय रामायणका आदर्श पात्र मान्ने तर आफू त्यस्तो नहुने यथार्थका प्रति र यस्तो विपर्यासका प्रति तिखो व्यङ्ग्य प्रहार गरिएको छ।'

समारोहकी अध्यक्ष नर्मदेश्वरी सत्यालले आजको यो विशेष गोष्ठीमा अत्यन्त सुन्दर सिर्जना श्रवण गर्ने अवसर मिलेको बताइन्। लेखन र व्यवहारको तालमेल हामी आफूलाई प्रगतिशील हौँ भन्ने स्रष्टाका लागि आवश्यक रहेको बताइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.