सरकार कुर्दै समाजवादी, समाजवादी कुर्दै राजपा

|

काठमाडौं : समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी, (राजपा) नेपालबीचको पार्टी एकता पछिल्लो समय अवरुद्ध भएको छ। तत्कालीन संघीय समाजवादी फोरम  नेपाल र राजपाबीच पार्टी एकताका लागि प्रक्रिया अघि बढिरहेकै बेला फोरम र तत्कालीन नयाँ शक्ति पार्टी नेपालबीच एकता भएपछि राजपासँगको एकता अवरुद्ध भएको हो।

वैशाख २३ मा समाजवादी पार्टी गठनपछि राजपासँगको एकता प्रक्रिया झन् अलमलमा परेको छ। राजपासँग एकता गर्ने तयारी गरिरहेकै बेला फोरमले नयाँ शक्तिसँग एकता गरेको थियो। त्यसपछि नवगठित समाजवादी र राजपा एकताका लागि कुनै संवाद र प्रक्रिया अघि बढेको छैन।

गत फागुन २२ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएको राजपाले तत्कालीन फोरमसँग सरकार छाडे मात्रै एकताको लागि वार्ता अघि बढ्नसक्ने अडान अहिले पनि यथावत नै छ। तर, अहिले सामाजवादी पार्टी र राजपाबीचको एकता सरकारसँगै संविधान संशोधनसँग पनि जोडिन पुगेको छ। पछिल्लो समय एकता संविधान संशोधनमा गएर अड्किएको छ।

सरकार कुर्दै समाजवादी, समाजवादी कुर्दै राजपा

संघीय समाजवादी फोरमले सरकारसँग संविधान संशोधनसहितका दुईबुँदे सहमति गरेर सरकारमा सहभागी भयो। तर, अहिलेसम्म त्यो कार्यान्वयन नभएको समाजवादी पार्टीका नेताहरूको भनाइ छ। समाजवादीले आफ्ना माग पूरा गराउन बजेट अधिवेशनको अन्त्यसम्म कुर्ने भएको छ। समाजवादी पार्टी नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले बजेट अधिवेशनको अन्त्यसम्म पनि संविधान संशोधनको काम अघि नबढे सरकारबाट बाहिरिने बताए।

पहिले प्रधानमन्त्री केपी शर्मा ओली आफ्ना मागहरूप्रति सकारात्मक रहे पनि पछि आफूहरू सरकारमा गएपछि उनको व्यवहारमा परिवर्तन आएको श्रष्ठको आरोप छ। सरकार सबैतिर एकलौटी ढंगले चलेको उनले बताए। सरकारले आफ्ना माग पूरा नगरेमा सरकार छाड्नेमा कुनै द्विदा नरहेको श्रेष्ठले स्पष्ट पारे।

सरकारमा रहेको फोरम र सरकारबाहिर रहेको नयाँ शक्तिको एकतापछि बनेको समाजवादी पार्टी सत्तापक्ष कि प्रतिपक्ष? भन्नेमै अस्पष्ट छ। उसले सरकारमा रहेर सरकारकै विरोध गरिरहेको छ। सत्तामोह र पार्टी एजेण्डाका कारण समाजवादी गठनसँगै एकमत हुन सकिरहेको छैन। यही अस्‍पष्टताले नै एकतालाई अघि बढाउन समस्या भएको राजपा नेताहरूको बुझाइ छ।

तर, राजपा महासचिव केशव झाका अनुसार एकताका लागि समाजवादी पार्टीको सरकारबाट बहिर्गमनको पर्खाइमा छ राजपा। बजेट अधिवेशनसम्म समाजवादीले सरकारको निर्णयको पर्खाइमा रहने भएपछि राजपा पनि त्यतिन्जेलसम्म प्रतीक्षामा बस्ने भएको छ।

समाजवादी बजेट अधिवेशनसम्म सरकारबाट नबाहिरिने तर संविधान संशोधनका लागि पहल र दबाब दिइरहने पक्षमा छ। समाजवादीको उक्त लाइनका विषयमा राजपा पनि आनौपचारिकरूपमा जानकार रहेको राजपाका नेताले बताए।

सामूहिक नेतृत्व नै समस्याको जड

नेपाली राजनीतिमा तेस्रो शक्ति बन्ने उद्देश्यले एकता प्रयास भए पनि यी दुवै पार्टीभित्रका नेता, तिनको प्रवृत्ति, कार्यशैली र सैद्धान्तिक पृष्ठभूमिले एकता अप्ठ्यारोमा परिरहेको छ। ६ वटा पार्टी मिलेर बनेको राजपामा ६ नेताले पालैपालो पार्टीको संयोजन गरिरहेका छन्। ६ जना मुख्य नेता भएकाले प्रत्येकका आ–आफ्नै समूह छन्। बेलाबेला राजपाभित्र कसलाई नेता मान्ने भन्ने किचलो पनि उठ्ने गरेको छ। जसले निर्णयसम्म पुग्न असहजता छ।

यसैगरी, समाजवादी पार्टी, नेपालमा पनि अहिले दुई अध्यक्ष छन्। समाजवादीमा टाउको जोडिएको अन्य शरीर भने जोडिन बाँकी नै रहेको टिप्पणी हुने गरेको छ। पार्टी एकता प्रक्रियामै नेताहरूले असहमति जनाइसकेका छन्। समावजादी पार्टीको आन्तरिक एकता नै टुंगिन बाँकी रहेका बेला राजपासँगको एकता प्रक्रिया अघि बढ्ने सम्भावना पनि न्यून छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.